मेलम्चीको ठेक्का तोड्ने तयारी
सारांश
- काठमाडौँ।
- मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ।
- कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
काठमाडौँ। मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ।
कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। ‘सोमवार ठेक्का रद्द गरिएको घोषणा गरिने छ,’उनले भने।
सीएमसी अन्तर्राष्ट्रिस्तरमै वित्तीय सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका प्रतिनिधि एक महिनाअघि काम छोडेर भागेका थिए तर प्रहरीले आठ जनालाई पक्राउ गरेपछि नयाँ वर्ष मनाएर फर्किने शर्तमा छाडिएको थियो। कम्पनी फर्किने सम्भावना नदेखिएपछि एकतर्फी रूपमा ठेक्का रद्द गरेर धरौटी जफत गर्न लागिएको हो।
पटक–पटक आग्रह गर्दा पनि सीएमसी काममा फर्कनुको साटो भुक्तानी गर्न बाँकी रकम र भेरिएसनवापत थप रकम दाबी गर्नुका साथै त्यस्तो रकम दिनुपर्ने लगायतका शर्त थपिरहेको थियो। निर्माण कम्पनीले शर्त थप्दै आयोजनामा नफर्किने सङ्केत यसअघि नै गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए।
समितिले निर्माण कम्पनीलाई अन्तिम मौकासहित निर्णायक वार्ताका लागि माघ ४ गते बोलाएको थियो। एउटा निष्कर्षमा पुग्ने गरी पत्रमार्फत वार्तामा बोलाइएको थियो तर कम्पनीले कुनै प्रतिक्रिया दिएन। त्यस अघि पुस २३ गते पनि वार्तामा बोलाइएको थियो । त्यतिबेला कम्पनीले नेपालका लागि इटालीका राजदूतसँग कुरा भइरहेको र राजदूतसहित पुस २५ गतेसम्म वार्तामा आउने जानकारी गराएको थियो तर आएन ।
‘‘लामो समयसम्म अन्योल राख्नु हँुदैन भनेर अन्तिम प्रयासका लागि पहल गरियो’’ निर्देशक कँडेलले थपे ‘‘काममा फर्किने मनसाय उसले देखाएको छैन, पटक–पटक वार्तामा बोलाउँदा पनि बहाना गरेको पाइयो, सरलीकरण गरेर अगाडि बढ्नुपर्छ भन्दा पनि आएन।’’
सरकारले धरौटी रकम रोक्का गरेपछि सीएमसी अदालत पुगे पनि अदालतले सरकारलाई धरौटी जफत गर्न बाटो खोलिदिएको छ। निर्माण कम्पनीलाई समितिले २० करोड रुपियाँ तत्काल दिनुपर्ने थियो । कम्पनी काममा फर्किए भुक्तानी दिनुपर्ने अवस्था थियो तर काममा फर्किएन । निर्माण सामग्रीहरु पनि मेलम्चीमै छन्। जसले गर्दा आफूहरूलाई नोक्सानी नहुने समितिको दाबी छ ।
मेलम्ची परियोजनाको काम अन्तिम चरणमा छ। सुरुङको प्लास्टर र ढलान (फिनिसिङ) को काम सकिन अब जम्मा २.५ कि.मी मात्र बाँकी छ। भेन्टिलेसन र अडिट टनेलहरूमा गेट लगाउने काम पनि सुरु भइसकेको थियो । मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ कि.मी दूरीको तीन स्थानमा भेन्टिलेसन राख्ने काम अन्तिम चरणमा छ ।
राजधानी काठमाडौँलाई पिउने पानी आपूर्ति गर्न झण्डै दुई दशकअगाडि बढेको मेलम्ची आयोजनाले पानी आपूर्ति गर्ने समय सीमा पटक पटक पर सार्दै आएको छ। गाेरखापत्र दैनिक
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया