मेसी बार्सिलोनामै रहने पक्का

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मेसी बार्सिलोनामै रहने पक्का

सारांश

  • बार्सिलोनाद्वारा लियोनल मेसीलाई प्रतिसाता पाँच लाख पाउन्ड दिँदै सन् २०२१ सम्म सम्झौता गर्ने तयारी अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र स्पेनिस महारथी बार्सिलोनाबीच नयाँ सम्झौता हुने भएको छ ।
  • बार्सिलोनाले मेसीसँग सन् २०२१ सम्मका लागि सम्झौता हुने बुधबार पुष्टि गरेको हो ।
  • मेसीको विवाहलगत्तै बार्सिलोनाले उनीसँग सम्झौता गरेको स्पेनिस मिडियाहरूले जनाएका छन् ।

बार्सिलोनाद्वारा लियोनल मेसीलाई प्रतिसाता पाँच लाख पाउन्ड दिँदै सन् २०२१ सम्म सम्झौता गर्ने तयारी

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र स्पेनिस महारथी बार्सिलोनाबीच नयाँ सम्झौता हुने भएको छ । बार्सिलोनाले मेसीसँग सन् २०२१ सम्मका लागि सम्झौता हुने बुधबार पुष्टि गरेको हो । मेसीको विवाहलगत्तै बार्सिलोनाले उनीसँग सम्झौता गरेको स्पेनिस मिडियाहरूले जनाएका छन् । १३ वर्षको उमेरदेखि मेसी र बार्सिलोनाबीच जुन २०१८ सम्म सम्झौता थियो ।

मेसीको मूल्य ३५ अर्ब
मेसीको तलब सिजनको २६.४ मिलियन पाउन्ड हुनेछ । यस्तै, मेसीले प्रतिसाता पाँच लाख पाउन्ड पारिश्रमिक पाउनेछन् । नयाँ सम्झौताअनुसार मेसीको बाई आउट कज (नयाँ खरिद मूल्य) ३५ अर्ब ३३ करोड (२ सय ६४ मिलियन पाउन्ड) तोकिएको छ । यसअघि मेसीलाई भिœयाउन इंग्लिस क्लबहरूले प्रयास गरे पनि बार्सिलोनाले मेसीसँग नयाँ सम्झौता गर्न सफल भएको हो । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेसीलाई इंग्ल्यान्ड लैजान छलफल अघि बढाएका थिए । बार्सिलोनाका पूर्वप्रशिक्षक पेप र मेसीको सम्बन्ध राम्रो भएका कारण पनि सिटीसँग सम्झौता हुने विश्वास गरिएको थियो । पछिल्लो समय कर प्रणालीको झमेलाका कारण स्वयं मेसी पनि स्पेन छाड्ने मनस्थितिमा थिए ।

हनिमुनपछि प्रशिक्षणमा
अहिले बिदा मनाइरहेका मेसीसँग आगामी साता नयाँ सम्झौता हुने बार्सिलोनाले सार्वजनिक गरेको छ । ‘बार्सिलोना र मेसीबीच ३० जुन २०२१ सम्मको नयाँ सम्झौता भएको छ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी हप्ता मेसी प्रशिक्षणमा लागि स्पेन फर्किएलगत्तै सम्झौतामा हस्ताक्षर हुनेछ ।’ मेसीसँग नयाँ सम्झौता हुन लागेकोमा बार्सिलोनाले खुुसी व्यक्त गरेको छ । ‘इतिहासकै उत्कृष्ट खेलाडीसँग नयाँ सम्झौता हुन लागेकोमा बार्सिलोना खुसी छ,’ बार्सिलोनाले भनेको छ, ‘नयाँ सम्झौतापछि मेसीको व्यावसायिक करिअरले थप उचाइ लिने विश्वास गरेका छौँ ।’

अर्जेन्टिनामा हनिमुन
अघिल्लो साता प्रेमसम्बन्ध सार्वजनिक भएको आठ वर्षपछि मेसीले आफ्नी प्रेमिका एन्टोनेला रोकुजोसँग गत साता विवाह गरेका थिए । दुई छोरा पाएपछि आफ्नो जन्मभूमि अर्जेन्टिनाको रोसारियो सहरमा विवाह गरेपछि हाल मेसी हनिमुन मनाइरहेका छन् । हनिमुनका लागि मेसी क्यारेबियन क्षत्रमा रहेको बताइएको छ । हनिमुनपछि मेसी स्पेन फर्किनेछन् ।

कीर्तिमानी मेसी
गत सिजनको अन्त्यतिर एल क्लासिको भिडन्तमा गोल गर्दै मेसीले बार्सिलोनाका लागि ५ सय गोल पूरा गरेका थिए । सन् २००४ मा बार्सिलोनामा डेब्यु गरेका मेसीले अहिलेसम्म ५ सय ८३ खेल खेल्दै ५ सय ७ गोल गरिसकेका छन् । मेसी ला लिगाका सर्वाधिक गोलकर्तासमेत हुन् । मेसीले ला लिगामा अहिलेसम्म ३ सय ४९ गोल गरिसकेका छन् । बार्सिलोनाका लागि मेसीले अहिलेसम्म चार ला लिगा उपाधि, चार युरोपियन च्याम्पियन्स लिग उपाधि र पाँचपटक कोपा डेल रेको उपाधि  जितिसकेका छन् ।

लियोलन मेसी
वार्षिक तलब
२६.४ मिलियन पाउन्ड
साताको पारिश्रमिक
५ लाख पाउन्ड
खरिद मूल्य
२ सय ६४ मिलियन पाउन्ड

कति उपाधि

स्पेनिस ला लिगा ८

कोपा डेल रे ५

च्याम्पियन्स लिग ४

स्पेनिस सुपर कप ६

युइएफए कप ३

क्लब विश्वकप ३

कुल खेल ५८३

कुल गोल ५०७

साभार : नयाँपत्रिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?