मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
सारांश
- संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरु डाको छोडेर रोएका छन् ।
- आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका थिए ।
- मोरङका पत्रकारहरु करिब ४५ मिनेट विरोधस्वरुप सांकेतिक रुपमा रोए ।
संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरु डाको छोडेर रोएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका थिए । मोरङका पत्रकारहरु करिब ४५ मिनेट विरोधस्वरुप सांकेतिक रुपमा रोए । समाचार लेखेको भरमा नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने अवधारणा अघि सारेसँगै पत्रकारहरु आन्दोलित हुदै आएका छन् । विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताए ।
त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वनमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने दावी गरे । उनले भने, ‘पत्रकारले समाचार लेख्न गोजीमा मोटो रकमको चेक लिएर हिँड्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे ।
कार्यक्रममा प्रेस युनियन प्रदेश एकका संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गरे । पत्रकारहरुले काम गर्दा समेत कतिपय संचार संस्था त्यसमा पनि खासगरी टेलिभिजनहरुमा नियमित तलब नपाइरहेको अवस्थामा यस विधेयकले पत्रकार माथि थप चुनौति थपेको उनले जिकिर गरे ।
प्रतिक्रिया