यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
सारांश
- जब ठन्डी बढ्छ तब कोठाभित्र ज्यान गुमाएका व्यक्तिको पोस्टमार्टम गर्नुपर्ने चिकित्सकीय जिम्मेवारी उत्तिकै बढ्छ।
- यस्तै बेहोर्दै आएको फरेन्सिक विभागमा मंगलबार एउटै कोठामा बितेका आठ जनाका शव एकैसाथ पुर्याइए।
- विभागका वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले आठ भारतीयको शव बाहिरबाट हेरे।
जब ठन्डी बढ्छ तब कोठाभित्र ज्यान गुमाएका व्यक्तिको पोस्टमार्टम गर्नुपर्ने चिकित्सकीय जिम्मेवारी उत्तिकै बढ्छ। यस्तै बेहोर्दै आएको फरेन्सिक विभागमा मंगलबार एउटै कोठामा बितेका आठ जनाका शव एकैसाथ पुर्याइए।
विभागका वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले आठ भारतीयको शव बाहिरबाट हेरे। पोस्टमार्टम गर्नुपर्ने जिम्मेवारी अर्को दिनलाई सारे। डा. वस्तीले सबै शव रेफ्रिजेरेटरमा राखे। त्यहाँबाट निस्किँदै गर्दा उनले भने, ‘शवको अवस्था, घटनाको यथार्थता, वातावरणीय पक्षलगायत विविध कोणबाट हेर्नुपर्ने हुन्छ। हरेक घटनाको अवस्था फरकरफरक हुन सक्छ।’ मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरूका शवमा चोटपटक देखिएको छैन। उनका अनुसार कमै हुने घटना हो यो।
गत मंसिर अन्तिम साता कीर्तिपुर–८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए। सुत्केरी पत्नी र दुईमहिने शिशुलाई तातो गराउन राति मकलमा कोइला बालेर सुतेका थिए। बिहान उठ्दा पत्नी र शिशुको ज्यान गइसकेको थियो। जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ। पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्– १. फुड प्वाइजनिङ हुनु २. निसास्सिनु।
‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन्। तातो वातावरणमा निदाउँछन्। सधैंका लागि निदाउन पुग्छन्’, उनले भने। उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ। ‘दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ’, उनले भने।
त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य विभागका डा. खेम कार्कीका अनुसार कोठाभित्र हिटर वा मकलमा दाउरा बालेर सुत्दा विषालु ग्यासले कोठा भरिन पुग्छ। ‘झ्याल, ढोका बन्द गरेको अवस्थामा कोठाभित्र आगो र हिटरका कारण विषाक्त ग्यास निस्किन्छ। त्यसले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ। हलचल गर्न नपाउँदै ज्यान जान सक्छ’, उनले भने, ‘सतर्कतासमेत अपनाउन पाउँदैन। सुतेको सुत्यै ज्यान जान सक्छ।’अन्नपूर्ण पोष्ट्बाट
प्रतिक्रिया