यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका
सारांश
- रमेश लम्साल तातोपानी (सिन्धुपाल्चोक)।
- ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ।
- भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ।
रमेश लम्साल
तातोपानी (सिन्धुपाल्चोक)। ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ। भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ। नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन्। गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ।
सम्भवतः यही जेठ १७ गते २०७२ साल वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ। विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ। भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ। भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन्।
होटल, गेस्टहाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । थप केही स्थानमा सडक पुनःनिर्माणको काम भइरहेको छ। नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् । उनीहरुको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ। वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएकाहरु फर्किएर आएका छन्।
नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो। नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन्। ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन्।
मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ। केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन्। सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ।
चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बस्नुभएका धेरैले साइँला भनेर चिन्ने तिलकबहादुर मगर अरुभन्दा बढी खुसी छन्। भन्छन्, “भूकम्पपछि तातोपानी बजार क्षेत्रमा कोही मान्छे नै देखिँदैन थिए। असाध्यै कष्ट थियो। मानिसहरु पीडामा थिए। विस्तारै चोट लागेको घाउमा मलमपट्टी भयो । यतिखेर पुनःनाका खुल्न लागेको छ।” कार्यालय सहयोगीका रूपमा रहनुभएका मगर पहिलेको जस्तै नाका व्यस्त होला र धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा छन्।
भोटेकोशी गाँउपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका बन्द हुँदा स्थानीयबासीले धेरै सास्ती भोग्नुपरेको स्मरण गर्छन्। “व्यस्त बजार एकाएक खण्डहर बन्दा कसको मन नपोल्ला र? हामीलाई त्यस्तै भयो। हजारौँको रोजगारी खोसियो, देशले ठूलो राजश्व गुमायो। व्यापार व्यवसाय चौपट भयो”, वडाध्यक्ष श्रेष्ठले भने, “तातोपानीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिको हैसियतले जे जे गर्नुपर्छ सबै गर्न म तयार छु।”
नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए। दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए। होटल व्यवसाय चौपट भयो। सीमा क्षेत्रमा नेपाल र चीन सम्बन्धमा आघात पर्ने कुनै पनि खालको गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्ने योजनामा लागेको छ भोटेकोशी गाउँपालिका। गाउँपालिका प्रमुख राजकुमार पौडेलले भने, “हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौँ। लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ। छिमेकी देशविरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा लागि मान्य छैन।”
गाँउपालिकाले नै सीमा क्षेत्रमा अरनिकोको मूर्तिसहितको आकर्षक गेट बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी थालेको छ। भुइँचालोपछि सुनसान जस्तै बनेको तातोपानी धारामा नुहाउन जानेको सङ्ख्यामा पनि बढोत्तरी भएको छ।
नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, “हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ।” भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा बढेको चहलपहलले शेर्पालाई खुसी तुल्याएको छ।
भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन्। अर्का स्थानीयवासी मिङ्मा शेर्पाले भनिन्, “नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो।”
नाका खुलाउन गरेको प्रयास स्मरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एव्म सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले भने, “लामो र अथक प्रयासले सार्थकता पाउँदैछ । गरे के हुँदो रहनेछ भन्ने पनि स्थापित भएको छ।”
‘भूकम्प गए लगत्तै बन्द भएको नाका खुलाउन चार वर्षको बीचमा दर्जनौ पटक तत्कालीनदेखिदेखि वर्तमानसम्मका प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, यहाँस्थित चिनियाँ दूतावास तथा कुटनीतिक रुपमा पनि ठूलो प्रयास गरेको उनले सुनाए।
स्थानीयवासीसमेत सिन्धुपाल्चोककै नेता भएका कारणले पनि नेता सापकोटाले सुरुदेखि नै नाका खुलाउन गरेको प्रयासको बारेमा जानकार छन्। ती मध्येका एक हुनुहुन्छ विष्णु श्रेष्ठ। श्रेष्ठले भने, “सरकार नै लागेर नाका खुलाएको हो। तर जिल्लावासी नेतासमेत भएकाले सापकोटाले गरेकाे प्रयास र मेहनत साँच्चै लोभलाग्दो छ।”
सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक हिरासिंह महरा शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताए। तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कृष्ण बस्नेत नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए। “केही प्राविधिक काम भइरहेको छ। कार्यालय तयारी हालतमा छ। कर्मचारीको व्यवस्थापन समेत भइसकेको छ।”
गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पनि अध्यागमन कार्यालय स्थापना गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, “लामो समयपछि खुल्न लागेको नाकालाई व्यवस्थित बनाउन त केही समय लाग्ला तर तत्कालका लागि हामीले आवश्यक व्यवस्थापन गरिसकेका छाैं।”
गृहमन्त्री रामबहादुर थापाका अनुसार नाकालाई व्यवस्थित गर्न मन्त्रालयमातहतका सबै निकायलाई व्यवस्थित, मर्यादित र भरपर्दो बनाएर सञ्चालन गर्ने गरी तयारी गरिएको छ। छिमेकको चासोलाई समेत सम्बोधन गर्ने गरी शान्ति सुरक्षाको सबै प्रबन्ध गरिएको र कुनै पनि कमजोरी हुन नदिनेमा गृह मन्त्रालय एकदमै सचेत रहेको उनको भनाइ छ।
प्रतिक्रिया