यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको

सारांश

  • काठमाडौं, २ फागुन -सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन्।
  • धनुषाको क्षिरेश्वर नगरपालिका-८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो लगाएको आरोप माइती पक्षको छ।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा यम विरहीले खबर लेखेका छन् ।

काठमाडौं, २ फागुन -सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन्। धनुषाको क्षिरेश्वर नगरपालिका-८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो लगाएको आरोप माइती पक्षको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यम विरहीले खबर लेखेका छन् ।

शरीर जलेकै अवस्थामा खातुनको उद्धार गरी सुरुमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं कीर्तिपुर अस्पतालमा भर्ना गरियो। तर, यहाँ पनि उनको जीवन रक्षा गर्न असम्भव भयो।

जलाइएको १० दिनपछि अन्ततः उनको प्राणपखेरु गयो। खातुनको टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो। मृत्युअघि हजराले आफूलाई पति रसिद, ससुरा अलिशेख कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको जानकारी प्रहरीलाई गराएकी थिइन्।

दोस्रो बिहे गरेका पतिबाट पेट्रोल खन्याएर जलाइएकी सिन्धुपाल्चोककी अञ्जली श्रेष्ठ यतिबेला अग्नि हिंसापीडित नेपाल (विभिएस) को संरक्षणमा छन्। ०७३ असोज ६ मा अञ्जलीमाथि आगो लगाएर जलाइएको थियो। आगोका कारण उनको घाँटी र छाती जलेको छ। ‘अग्नि हिंसा’ सम्बन्धी एक कार्यक्रममा आइतबार पीडा सुनाउने क्रममा पुरानो घाउ सम्झेर अञ्जलीका आँखा रसाए।

उनले भक्कानिँदै भनिन्, ‘मलाई श्रीमानबाटै आगो लगाइयो। अपराधीलाई कडा सजाय होस्।’ बोक्सी आरोपमा चितवन माडी, बगौढाकी ठेगनीदेवी महतोलाई भाला र लाठीले कुटपिट गर्दै आगो लगाएर क्रूर तवरले हत्या गरियो। कथित बोक्सी आरोपमा ०६८ साल फागुन ५ गते ठेगनी देवीमाथि पेट्रोल छर्केर परालले पोलिएको थियो। ४० वर्षीय ठेगनी देवीका नाबालक १२ वर्षीय छोरा र नौ वर्षकी छोरी थिए। उनका छिमेकी हत्यारालाई सर्वोच्च अदालतबाट गत वर्ष सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको छ।

दाइजो र कथित बोक्सी विवादका कारण महिलामाथि मट्टीतेल, पेट्रोल वा एसिड खन्याएर जलाउने क्रम बढ्दो छ। एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणले आठ वर्षको अवधिमा एक सय ७९ जना महिला र बालबालिकामाथि एसिड छ्यापेर र जलाएर हिंसा गरिएको छ।

यीमध्ये ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाएका छन्। पीडितको उद्धार, पुनःस्थापना र न्याय क्षेत्रमा क्रियाशील संस्था अग्नि हिंसापीडित नेपाल (विभिएस) ले २०१० जनवरीदेखि २०१८ जनवरीसम्म गरेको अध्ययन सर्वेक्षणले यस्तो भयावहको अवस्था देखाएको हो।

०१४ सालयता तीन वर्षको बीचमा मात्रै ४० महिला र बालबालिका जलाएर हिंसाको सिकार बनाइएको छ। तथाकथित आत्महत्याको नाममा दाइजो विवादका कारण मारिने क्रम बढ्दो छ। घाइते पीडितको अवस्था अत्यन्त दर्दनाक र पीडादायी छ।

यता, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ‘बर्न डिपार्ट’ को रेकर्डअनुसार एक वर्षको अवधिमा पुरुष र महिला गरी ७८ जना जलेका बिरामी भर्ना भएका थिए। तीमध्ये पुरुष ३२ र महिला संख्या ४६ (१४ बढी) थियो। बर्न विभाग प्रमुख प्राडा ईश्वर लोहनीका अनुसार सात जना जलेर घाइते भएका महिला घरेलु हिंसाका कारण भर्ना भएका थिए भने तीन जनालाई आत्महत्याको कारण भन्दै अस्पताल लगिएको थियो।

‘जलेर भर्ना हुन आएका महिला कसैले पनि इतिहास बताउन मान्दैनन्। स्टोप की ग्यास पड्केर भन्छन्’, डा.लोहनी भन्छन्, ‘त्यसैले केही हो कि भन्ने शंका छ। उनीहरूले केही नभनेका कारण कहिलेकाहीँ बचाउन पनि गाह्रो हुन्छ।’

जलेका कतिपय बिरामीलाई ‘साइकोथेरापी’ गर्ने गरिएको बताउँदै लोहनीले शंकास्पद घटनामा तत्काल प्रहरीलाई जानकारी पनि दिने गरिएको बताए।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले एसिड र जलाइएका घटनामा मृत्यु भइसकेको भएमा मुलुकी ऐन, ज्यानसम्बन्धी महल अनुरूप ‘कर्तव्य ज्यान’ मुद्दा र घाइते भएमा ऐन अनुरूप ज्यान मार्ने उद्योगअन्तर्गत दोषीउपर मुद्दा चलाइने गरिएको बताए।

‘जलाउने र एसिड आक्रमणका घटनामा अभियोग लगाउन भिन्नै कानुन छैन। अहिलेसम्म मुलुकी ऐनको व्यवस्थाअनुरूप नै सजाय माग गर्ने गरिएको छ’, सहन्यायाधिवक्ता दाहालले भने।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष उषा मल्ल पाठकले यस्ता प्रकृतिका घटनामा पारिवारिक असहयोगका कारण महिला कारबाहीको पहुँचमा पुग्न नसकेको बताइन्।

जति नै कडा कानुन बनाए पनि हिंसा नरोकिने बताउँदै पाठकले दाइजो र बोक्सीजस्ता सामाजिक कुसंस्कार हटाउन योजना नै बनाएर व्यापक जनचेतना फैलाउनुपर्ने भनाइ राखिन्।

‘मुलुकी ऐनको कुटपिट महलमा पनि सजाय बढाइएको अवस्था हो। अहिले नयाँ फौजदारी संहितामा पनि यस्ता घटनामा कडा कारबाहीको व्यवस्था राखिएको छ। तर, कार्यान्वयन फितलो छ। महिलाविरुद्ध हुने हिंसा रोक्न कानुन कार्यान्वयन पनि कडा ढंगले नै हुनुपर्‍यो’, वरिष्ठ अधिवक्ता पाठकले भनिन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Hatyaraa laayee kada sajaya hos.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?