यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित
सारांश
- काठमाडौं, १६ माघ ।
- नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशस्तरीय संसदीय दलको नेतामा सहमति जुट्न नसके निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ ।
- पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बसेको स्थायी समिति बैठकले सहमति जुट्न नसकेका स्थानमा निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशस्तरीय संसदीय दलको नेतामा सहमति जुट्न नसके निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बसेको स्थायी समिति बैठकले सहमति जुट्न नसकेका स्थानमा निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ
आज २०७४ माघ १६ गते नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौँमा सम्पन्न भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले निम्न निर्णयहरू गरेको छ ।
१. राष्ट्रियसभा निर्वाचनको तयारी सम्बन्धमा :
राष्ट्रियसभाको निर्वाचनमा मतदाता रहनुभएका निर्वाचक मण्डलका सदस्यहरु अर्थात् पार्टीको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजाने ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिन जरुरी छ । त्यसर्थ प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने । यही माघ २१ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने हुनाले सो अगावै प्रशिक्षणको व्यवस्था गर्ने ।
राष्ट्रियसभाका लागि तय भएका नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)का साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका कार्यहरू गर्ने ।२. प्रदेशसभा संसदीय दलको बैठक र दल नेताको निर्वाचन सम्बन्धमा :
सातै प्रदेशका प्रदेश प्रमुखहरूबाट सम्बन्धित प्रदेशसभाहरूको पहिलो बैठक आह्वान भइसकेको छ । त्यसर्थ प्रदेशसभाको प्रथम बैठक अगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने । प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने ।
दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने ।
प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भए लगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयन सम्बन्धी विधि र प्रक्रिया तय गर्ने । दल नेताको निर्वाचनका लागि दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने ।
प्रदेशसभा संसदीय दलको नेताका लागि एक भन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानद्वारा निर्णय गर्ने ।
दलको नेता वा सभामुखको निर्वाचन लगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्ने÷हुन नदिने ।
४. सरकारका गलत कार्यहरूका सम्बन्धमा :
शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान काम चालाउ सरकारका संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यहरूप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले) लगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै काम चलाउ देउवा सरकारले गरेका राष्ट्रिय ढुकुटीको नाङ्गो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी, अराजकतापूर्ण र जनहीत एवं राष्ट्रहीत विपरितका निर्णयहरूको बैठकले घोर निन्दा एवं भ्रत्सना गरेको छ ।
कृष्णगोपाल श्रेष्ठ
सचिव
प्रतिक्रिया