यातायातमा सिन्डिकेट तोडियो, भाडादर सस्तियो
सारांश
- बनेपा – धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो।
- यही मौका छोप्दै बस व्यवसायीले यात्रुपच्छिे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए।
- तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयूरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ।
बनेपा – धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो। यही मौका छोप्दै बस व्यवसायीले यात्रुपच्छिे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए।
तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयूरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ। ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं। तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ एक व्यवसायीले भने। आजको नागरिक दैनिकमा खबर छ ।
चैत १ गते बनेपा आउँदा मयूर यातायातले कोटेश्वर–काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो। तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासि भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्।
‘हिजो साझा बस पनि आयो । अरू बस पनि आए, त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा–काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन्’, एक यात्रुले भने। यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा–काठमाडौं ४० रुपैयाँ, बनेपा–कोटेश्वर ३५ र बनेपा–सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ। मयूरको सरह भाडा लिन थाले पनि काभ्रेका समितिका बसले महिला, जेष्ठ नागरिक, अपांगलाई अझै प्राथमिकता दिएका छैनन्।
बुधबार मयूरको रुट परमिट खारेजीका लागि दबाब भन्दै बनेपामा सेवा बन्द गरेका काभ्रे बस र काभ्रे मिनिबस समितिले बिहीबार भने बिहानैदेखि चुपचाप बस सञ्चालन गर्न थालेका थिए। बनेपासम्म सञ्चालन हुँदै आएको मयूरले बिहीबार धुलिखेलसम्म पनि सेवा दियो भने अपराह्न पनौतीमा जाने क्रममा बनेपाको रातो पुलमा काभ्रे मिनिबस समितिका ३ वटा मिनिबसले अवरोध गरेका थिए।
‘मयूरको बाटो छेकेको खबर आएलगत्तै टोली पठाएर बाटो क्लियर गरी पनौती पठाएका छौं। बाटो छेक्ने ३ वटै मिनिबस र चालकलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं,’ जिल्ला यातायात व्यवस्थापन समितिका सदस्य एवं काभ्रे प्रहरी प्रमुख सहकुल थापाले भने।
(Xanax)
प्रतिक्रिया