यी हुन् केन्द्रमा रहने १८ वटा मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यी हुन् केन्द्रमा रहने १८ वटा मन्त्रालय

सारांश

  • काठमाडौं, ९ फागुन – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ मन्त्रालय रहने भएका छन् ।
  • यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो ।
  • प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्दै छ ।

काठमाडौं, ९ फागुन – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ मन्त्रालय रहने भएका छन् । यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो । प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्दै छ । आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले खबर लेखेका छन् ।

आर्थिक वृद्धि तथा समृद्धि, मानव विकास, शासकीय क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्ध गरी चार आधारमा मन्त्रालयको नयाँ खाका तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको सचिवालयले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मन्त्रालयको संख्या १८ पु¥याएको जनाएको छ । यसअघि सामान्यले पनि यिनै चार आधारमा प्रशासनविद्हरूको सहयोगमा केन्द्रमा १५ मन्त्रालय उपयुक्त हुने प्रस्ताव गरेको थियो ।

मुख्यसचिवको सचिवालयका अनुसार यसअघि प्रस्ताव गरिएका १५ मन्त्रालयको आकार ठूलो भएकाले मन्त्रालयको संख्या बढाउनुपरेको हो । ‘पहिले प्रस्ताव भएका केही मन्त्रालय धान्नै नसक्ने खालका थिए,’ ती कर्मचारीले भने, ‘कतिपय मन्त्रालयको विषयसमेत नमिलेका कारण पनि विभाजन गर्नुपर्ने भएको हो ।’

मन्त्रालयको संख्या बढाउनुको कारण
यसअघि संसद्को राज्य–व्यवस्था समितिको निर्देशनअनुसार सामान्य प्रशासन मन्त्रालयले संघमा बढीमा १५ मन्त्रालय गठन गर्न सुझाब दिएको थियो । मन्त्रालयले पठाएको १५ मन्त्रालयको सूचीमा सूचना तथा सञ्चार र शिक्षा मन्त्रालय भनेर प्रस्ताव गरिएको थियो । प्रधानमन्त्री कार्यालयका एक सचिवले भने, ‘सूचना तथा सञ्चार र शिक्षा एकै मन्त्रालयमा राख्न मिल्ने विषय होइन । भौतिक पूर्वाधार, सहरी विकास, खानेपानी र यातायात अर्को मन्त्रालय बनाइयो । यस्ता अमिल्दा र साह्रै ठूला मन्त्रालय फुटाउनैपर्ने थियो ।’

प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयसँग खेलकुद र संस्कृतिलाई जोडेको छ । भौतिक पूर्वाधार, सहरी विकास, खानेपानी र यातायात मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कार्यालयले अहिले प्रस्ताव गरिएको उद्योग वाणिज्य, आपूर्ति तथा पर्यटन मन्त्रालय पनि ठूलो भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले थप अध्ययनपछि उक्त मन्त्रालय पनि फुटाउन सकिने जनाएको छ ।

हवाई सेवा अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा
प्रधानमन्त्री कार्यालयले तयार पारेको प्रस्तावअनुसार अहिलेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको हवाई क्षेत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने भएको छ । प्रधानमन्त्री कार्यालयले यातायातअन्तर्गत हवाई, स्थल र रेलसेवालाई एकै ठाउँमा राखेको हो ।

प्रस्तावित १८ मन्त्रालय
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. अर्थ तथा योजना

३. उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन

४. कृषि, सिँचाइ,  खाद्य सुरक्षा, सहकारी र भूमिसुधार

५. वन, वातावरण, जलवायु परिवर्तन

६. भौतिक पूर्वाधार, यातायात

७. ऊर्जा (जलविद्युत् तथा नवीकरणीय)

८. सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ

९. सूचना–सञ्चार तथा विज्ञान प्रविधि

१०. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण

११. युवा, श्रम तथा रोजगारी

१२. शिक्षा, खेलकुद तथा संस्कृति

१३. स्वास्थ्य तथा जनसंख्या

१४. संघीय मामिला तथा सामान्य प्रशासन

१५. गृह

१६. रक्षा

१७. कानुन, न्याय तथा संसदीय मामिला

१८. परराष्ट्र मामिला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?