ओली र प्रचण्डमध्ये कोसँग कति शक्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • शान्ति सम्झौता हुँदा गिरिजाप्रसाद कोइरालाले सरकारका तर्फबाट र पुष्पकमल दाहाल प्रचण्डले विद्रोही नेकपा माओवादीका तर्फबाट हस्ताक्षर गर्दा तत्कालिन नेकपा एमालेका नेता केपी शर्मा ओली पछिल्लो हारमा बस्ने साक्षीमात्र थिए ।
  • त्यतिबेला प्रचण्डको क्रेज र उनीप्रतिको आशा यस्तो थियो कि उनी धेरै नेपालीका लागि जे छोयो त्यही सुन हुने ‘मिडास राजा’ नै मानिन्थे ।
  • प्रचण्डले देशमा शासनसत्ता लिएमा कायापलट हुने ठान्थे ।

शान्ति सम्झौता हुँदा गिरिजाप्रसाद कोइरालाले सरकारका तर्फबाट र पुष्पकमल दाहाल प्रचण्डले विद्रोही नेकपा माओवादीका तर्फबाट हस्ताक्षर गर्दा तत्कालिन नेकपा एमालेका नेता केपी शर्मा ओली पछिल्लो हारमा बस्ने साक्षीमात्र थिए । त्यतिबेला प्रचण्डको क्रेज र उनीप्रतिको आशा यस्तो थियो कि उनी धेरै नेपालीका लागि जे छोयो त्यही सुन हुने ‘मिडास राजा’ नै मानिन्थे । प्रचण्डले देशमा शासनसत्ता लिएमा कायापलट हुने ठान्थे ।

प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पनि बने । तर, सेनापति प्रकरणले उनको बलियो सत्ता गल्र्याम्म ढल्यो । त्यसपछि उनलाई सत्तामा फेरि पुग्न निकै कसरत गर्नुपरेको थियो । प्रचण्ड दुईपटक देशको प्रधानमन्त्री भइसकेका छन् । उनी गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतामा देशलाई लाने प्रमुख राजनीतिक खेलाडी हुन् । यो राजनीतिक प्रणालीको जस आफूले पाउनुपर्ने र आफू रहुञ्जेल शक्तिमा रहनुपर्ने कार्यशैली देखाउँछन् ।

यसको ठिक विपरित केपी शर्मा ओली गणतन्त्रको नारा लाग्दा ‘वयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र यो आन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु एकै हो’ भन्थे । उनले संघीयताको नारा लाग्दा जातीयताका आधारमा देशमा विभाजन र झगडा गराउन खोजेको भन्दै प्रचण्डको कटु आलोचना गरेका थिए । ओली जहिले पनि प्रचण्डको आलोचक नै बने । सेनापति प्रकरणमा प्रचण्डले राजीनामा दिंदा ओलीले भनेका थिए, ‘प्रचण्डरुपी बेलुन कटवालरुपी छेस्कोले घोच्दा प्याट्ट फुट्यो ।’ ओलीले जति तत्कालिन नेकपा माओवादीको आलोचना गिरिजाप्रसाद कोइरालाले पनि गरेका थिएनन् ।

प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीलाई हिंसात्मक शक्ति भन्दै उनले सधै आलोचना गरिरहे । त्यसैले ओली बारम्बार तत्कालिन माओवादीको तारोमा परे । तर, तिनै ओलीले प्रचण्डलाई सहमतिमा ल्याएर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । यसले धेरैलाई आश्चर्यमा पारिदियो ।

आफ्नो कटु आलोचक ओलीसँग प्रचण्डले केही आशा र महत्वाकांक्षामा एकताको हात मिलाएका थिए । उनले राजनीतिक लेनदेन र आलोपालो प्रधानमन्त्रीको सहमति पनि गरेका थिए । तर, ओलीले प्रचण्डलाई सत्ताबाट टाढा बनाए । कुनैबेला आफू अगाडि बस्दा पछाडिको लहरमा बस्ने ओली एकाएक राजनीतिको अग्रपंक्तिमा पुगेर आफैलाई पछि पारेपछि प्रचण्डमा छटपटाहट देखियो । अहिले नेकपाभित्रको विवादको एउटा कारण त्यो पनि हो ।

विगतमा गणतन्त्र र संघीयताको नारा लाग्दा व्यङ्ग्य र उपहार गर्ने ओली यही शासन प्रणालीमा शक्तिशाली प्रधानमन्त्री बने । उनी नेपालको इतिहासमा दुई तिहाईको निर्वाचित प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति बने । पार्टी र सरकारमा एकछत्र प्रभाव बनाएर ओलीले आफूलाई शक्तिशाली बनाए । दुईपटक सत्ताबाट हटाउने प्रचण्डको प्रयासलाई विफल पारिदिए ।

अहिले ओलीसँग नेकपाभित्र आफूसहित चारजना सचिवालय सदस्य साथमा छन् । यो कुल ९ जना सचिवालयमध्ये अल्पमत भएपनि ४५ प्रतिशतको अवस्था हो । स्थायी कमिटीमा ओलीसँग ३३ प्रतिशत संख्या छ । केन्द्रीय कमिटीमा पनि ३० प्रतिशत संख्या छ । पार्टी कमिटीमा ओली अल्पमतमा छन् । उनले सबै कमिटीलाई अन्तरिम भन्दै सहमतिबाट चल्नुपर्ने तर्क गर्दै आएका छन् ।

संसदीय दलमा ओलीले बहुमत दाबी गर्दै आएका छन् । पूर्व एमालेका अधिकांश सांसद ओलीको साथमा छन् । केही पूर्व माओवादीलाई पनि ओलीले साथमा लिन सकेका छन् । ओली पक्षले संसदीय दलमा बहुमत दाबी गरेपनि त्यो अवस्था भने छैन ।

ओलीलाई कर्मचारीतन्त्रले साथ दिदै आएको देखिन्छ । उनले कर्मचारीलाई बढी अवसर दिएका छन् । गर्भनर रहिरहेका गैरराजनीतिक व्यक्ति डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए । राजदूतमा पनि पूर्व कर्मचारीलाई अवसर दिएका छन् । सुरक्षा निकाय पनि ओलीलाई साथ दिइरहेको छ । उनी प्रधानमन्त्री हुँदा कहिलेपनि कर्मचारी र सुरक्षा प्रमुख चिढिएका छैनन् । सेना र प्रहरीमा खेल्ने काम उनले गरेका छैनन् । त्यसैले तिनका प्रमुखहरु ओलीप्रति विश्वस्त देखिन्छन् ।

न्यायपालिकामा पनि ओली समन्वय गरेरै काम गरिरहेका छन् । बरु प्रचण्डले राजनीतिक प्रतिवेदनमा अदालतमाथि प्रश्न उठाएपछि ओलीले त्यसमाथि कडा प्रश्न उठाए । कतिपयले ओलीले १५ वर्षसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशहरु आफूले विश्वास गरेकाहरु नै रहने गरी मार्ग सुनिश्चित गरेको बताउँदै आएका छन् । राज्यको महत्वपूर्ण निकायमा ओलीले पकड बलियो बनाएका छन् । प्रधानमन्त्री कार्यालय मातहतमा राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय शतर्कता केन्द्र, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण जस्ता निकायलाई ल्याएर आली झन् शक्तिशाली बने ।

प्रचण्ड पनि दुईपटक प्रधानमन्त्री भइसकेका हुन् । दश वर्ष जनयुद्ध लडेर शक्तिमा आएका उनी हिम्मतिला नेता मानिन्छन् । राजनीतिमा स्टन्ट मार्न उनले जति कसैले सकेका छैनन् । नेपालको इतिहासको कोर्स नै बदल्ने श्रेय प्रचण्डलाई जान्छ । दुई सय ५० वर्ष लामो राजसंस्थाको अन्त गरी एकात्मक राज्य प्रणालीबाट संघीयता र हिन्दुराष्ट्र अन्त गरी धर्मनीरपेक्षसहितको राज्य प्रणाली स्थापित गर्न उनकै मुख्य भूमिका रहेको छ । प्रचण्ड त्यसैले पनि यो शासन प्रणलीको एकल जस लिदै शासनमा हावी भइरहन चाहन्छन् ।

प्रचण्डसँग अझै पनि लडाकु स्वभावका नेता कार्यकर्ता छन् । नेकपाभित्र सचिवालयमा उनीसहित दुईजना मात्र साथमा छन् । अर्को पक्षसँग मिलेर जाँदा मात्र उनी ओलीइतर समूहलाई अल्पमतमा पार्न सफल भएका हुन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या पूर्व माओवादीलाई थियो । तर, तीमध्ये कतिपयले गुट परिवर्तन गरिसकेका छन् । तथापि, प्रचण्डसँग स्थायी र केन्द्रीय कमिटीमा गरेर ३५ प्रतिशत शक्ति भने अझै छ । संसदीय दलमा भने प्रचण्डसँग अधिकतम ३० प्रतिशत मात्र रहेको बताइन्छ । त्यसमा पनि कतिपयले गुट परिवर्तन गरिसकेका छन् ।

प्रचण्डको कर्मचारीतन्त्रमा उनको पकड कमजोर छ । नेपालको राजनीतिमा भने उनी सबैभन्दा चर्चित नेता हुन् । राज्यको महत्वपूर्ण निकायमा प्रचण्डको पकड ओलीको तुलनामा कमजोर छ । तर, राजनीतिक कार्ड हानेर उनी बाजी मार्न खप्पिस छन् । नेकपा एमालेसँगको एकीकरणमा पनि उनले ठुलो अस्त्र फयाँकेका थिए । सुर्य चिन्ह र कम्युनिस्ट पार्टी कब्जा गर्ने रणनीति थियो । तर, ओलीको चलाख खेलले उनलाई अलमलाइरह्यो ।

ओली र प्रचण्डमा शक्तिका दृष्टिले अहिले ओली बलिया देखिन्छन् । तर, राजनीतिक अस्त्रले कुन बेला कस्लाई कुन किनारमा पुर्याउने हो ठेगान हुँदैन । ओली प्रचण्डले मुख्य भुमिका निभाएर आएको राजनीतिक प्रणालीमा शक्तिशाली बनेका छन् । प्रचण्ड भने यो प्रणालीको जस आफै लिएर शक्तिशाली भइरहन चाहन्छन् । यसकारण पनि दुईबीच टकराव बढ्दै गएको छ । दुईबीचको टकरावले अर्को कुनै पात्र शक्तिशाली बन्ने या यो प्रणाली नै धरापमा पर्न सक्ने देखिदैछ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
असार ७ गते शनिबार कुन राशीलाई कस्तो छ दिन ?
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

तपाईंले छुटाउनुभयो कि?