यी हुन् सलमानको नाममा ठगी गर्ने राजु थापा: परे प्रहरीको फन्दामा
सारांश
- काठमाडौं, ११ माघ ।
- बलिउड अभिनेता सलमान खानको नाममा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
- महानगरीय अपराध महाशाखाको टोलीले राजु थापालाई पक्राउ गरेको हो ।
काठमाडौं, ११ माघ । बलिउड अभिनेता सलमान खानको नाममा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले राजु थापालाई पक्राउ गरेको हो ।
थापाले खानले सञ्चालन गरेको ‘बिइङ ह्युमन’ नामक संस्थाको फ्रेन्चाइजी मिलाइदिने भन्दै एक व्यक्तिलाई १५ लाख रुपैयाँ ठगी गरेको भन्दै महाशाखामा जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार थापाले बिइङ ह्युमनको फ्रेन्चाइजी दिने नाममा एक व्यक्तिसँग १५ लाख रुपैयाँ लिएका थिए । पैसा लिएपछि लामो समयसम्म पनि फ्रेन्चाइजी दिन नसकेपछि पीडितलाई खातामा रकम नभएको १५ लाख रुपैयाँको चेक दिएका थिए ।
राजु थापाले विभिन्न राजनीतिक दलका नेता तथा प्रहरीका उच्च अधिकारीहरुसँग सम्बन्ध राखेर सोझासाझालाई ठग्दै आएका थिए । उनको फेसबुकवालमा पनि सलमान खानको फोटो राखिएको छ । प्रहरीका उच्च अधिकारीहरुसँग लिएको तस्वीर फेसबुकमा राख्ने उनीविरुद्ध पीडितहरु उजुरी गर्न डराउने गर्दथे ।
थापाले दिएको चेक पटकपटक बाउन्स भएपछि पीडितले पैसा फिर्ता माग्दा नेपाल प्रहरीका केही उच्च अधिकारीको नाम लिँदै धम्क्याउने गरेका थिए । जति अनुरोध गर्दा पनि थापाले पैसा दिने छाँटकाँट नदेखाएपछि पीडितले महाशाखामा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा महाशाखाले बुधबार उनलाई पक्राउ गरेको हो । थापालाई पक्राउ गरेको पुष्टि गर्दै महाशाखाका एसएसपी दिवेश लोहनीले उनीबारे थप अनुसन्धान भइरहेको बताए ।
‘अहिले १५ लाख रुपैयाँको चेक बाउन्स सम्बन्धमा जाहेरी आएको छ । उनीबाट ठगिएका केही व्यक्तिहरु पनि टेलिफोनमार्फत हाम्रो सम्पर्कमा आएका छन् । ठगिनेहरुको संख्या बढ्ने क्रममा छ,’ एसएसपी लोहनीले भने । एसएसपी लोहनीका अनुसार थापाविरुद्ध ठगी मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप्ने प्रहरीको तयारी छ ।
आफूलाई बलिउड अभिनेता खानको संस्था बिइङ ह्युमनको नेपालको अध्यक्ष दाबी गर्दै आएका थापाले थुप्रै व्यक्तिहरुलाई ठगेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी स्रोत बताउँछ ।
उनले विभिन्न राजनीतिक दलका नेता तथा प्रहरीका उच्च अधिकारीहरुसँग सम्बन्ध राखेर सोझासाझालाई ठग्दै आएका थिए । प्रहरीका उच्च अधिकारीहरुसँग लिएको तस्वीर फेसबुकमा राख्ने उनीविरुद्ध पीडितहरुले नै उजुरी गर्न डराउने गर्दथे ।
केही वर्षयता प्रहरीका उच्च अधिकारीसँगको सम्बन्धको फाइदा उठाउँदै प्रहरीमा विचाराधीन मुद्दा मिलाउने र सम्बन्धित व्यक्तिहरुसँग आर्थिक लाभ लिने गरेको सूचनासमेत आएको महाशाखाका एक अधिकृतले बताए । आफूलाइ पावरफुल मान्छेको रुपमा चिनाउन चाहने उनलाई प्रहरी वृत्तमा दलालको संज्ञा दिने गरिन्छ ।
थापाले हाल खानसँग खिचेको तस्वीरलाई आफ्नो फेसबुकको प्रोफाइल फोटो राख्दै आएका छन् । खान नेपालमा आउन लागेकाले पनि उनले फोटो राखेर आफ्नो निकटता देखाउन खोजेको बुझिन्छ । पछिल्लो समय खान नेपालमा आउँदा अन्य संस्थाले ल्याए पनि थापाले आफ्नो संस्थाले ल्याएको भ्रम फैलाउँदै आएका थिए ।
प्रतिक्रिया