यी हुन बाम गठबंधनको बर्चस्वका कारण -निर्मल भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
यी हुन बाम  गठबंधनको बर्चस्वका कारण -निर्मल भट्टराई

सारांश

  • नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन जनताको घरदैलोमा आईपुगेको छ ।
  • नेपाली कांग्रेस र बाम गठबन्धनविच कडा चुनावी टक्कर हुदैछ ।
  • चुनाबी प्रतिपर्धामा बाम गठबन्धन सबैतिर हावी हुने लगभग पक्का छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन जनताको घरदैलोमा आईपुगेको छ । नेपाली कांग्रेस र बाम गठबन्धनविच कडा चुनावी टक्कर हुदैछ । चुनाबी प्रतिपर्धामा बाम गठबन्धन सबैतिर हावी हुने लगभग पक्का छ ।
क) सन्तुलित र व्यवहारिक बाम दल
पार्टी उद्गम हुँदा नौलो जनवादी कार्यक्रम र लडाकु पार्टीको रुपमा भए पनि ०३७ सालदेखि जनपरिचालनको कार्यनीति लिएर तत्कालीन नेकपा(माले)ले आफूलाई व्यापक जनतामा आफूलाई स्थापित गर्यो । कठोर पञ्चायती दमन छलेर उसले आफ्नो राष्टव्यापी सञ्जालमात्र निर्माण गरेन, नेपाली कांग्रेससंग मिलेर पञ्चायती निरंकुशताको अन्त्य गर्न सफल भयो । ०४६ सालको परिवर्तनपछि भएको संसदीय निर्वाचनमा सशक्त प्रतिपक्षमा संसदमा उपस्थित भएपछि तत्कालीन महासचिव मदन भण्डारीले नब्बेको दशकमा विश्वमा आएको परिवर्तन र नेपाली जनताको बहुलवादी चरित्रसंग मेल खाने जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको सर्वस्वीकृत नीतिको रुपमा अगाडि बढाउन सफल हुनुभयो । वाम आन्दोलनका विभिन्न  विभिन्न भङ्गालाहरुलाई समेट्दै एमाले अगाडि बढ्यो । लोकतन्त्रका विश्वव्यापी मान्यतालाई एमालेले देशको समग्र परिवेशमा मात्र होईन,आफ्नो आन्तरिक पार्टी जीवनमा समेत पूर्णरुपेण आत्मसात गर्यो । परिणामस्वरुप एमालेले सो अघि नेपाली कांग्रसको प्रभावमा रहेको नेपालको राष्टिय पूँजीपति वर्ग र मध्यम वर्गमाथि आफ्नो प्रभाव विस्तार गर्न सफल  भयो । लोकतन्त्र,राष्टियता, जनजीविका, मानवअधिकार, विधिको शासनप्रतिको उसको प्रष्ट अडानका कारण सबै तहका जनतामा आफ्नो विश्वसनियता निरन्तर बढाउन एमाले सफल रह्यो ।
नेपालको अर्को प्रमुख बाम घटक नेकपा(माओवादी केन्द्र) ले सामन्ती राजतन्त्रको अन्त्यका लागि सशस्त्र विद्रोहको कार्यनीति लियो । यसको फलस्वरुप नेपाली राजतन्त्रको विदाई गर्ने १९ दिने जनक्रान्तिको आधार निर्माण गर्यो । लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि यो पार्टीले पनि  बलपूर्वक सत्ताकब्जा गर्ने नीति छोडेर एमालेको जस्तै जनताको मतद्वारा निर्वाचित भएर शासन गर्ने कार्यनीति अवलम्बन गर्यो । यही नै प्रमुख कारण हो —पार्टी एकतासम्म पुग्ने गरी बाम गठबन्धन संभव भएको हो । आफ्नो घोषणा पत्रमा बाम गठबन्धनले भनेको छ — कम्युनिष्टहरुको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि  शासन गर्न पल्केका पूँजीवादीहरुको आफ्नो ऐस र आरामको स्वर्ण युग समाप्त हुने भयले विक्षिप्त भएझैं कम्युनिष्ट अधिनायकवादको हौवा पिटाउन थालिएको छ थालेका छन् । पूँजीवादीहरुले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरूको हताश मनस्थितिको परिचायक हो भन्दा अरु केही होइन ।हाम्रा दुई कम्युनिष्ट पार्टीहरुको यो एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लेखित ‘समान राजनीतिक विचाराधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधान अनुरुप छ । यो एकताको पहल नेपालका आम श्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो घोषणाले उनीहरुको एकतासम्मको यात्रा कतिपयले आशंका गरेजस्तो असहज छैन भन्ने देखाउछ ।
ख) सवल नेतृत्व
नेकपा(एमाले)मा समकालीन नेपाली राजनीतिमा सबभन्दा शीर्ष नेतृत्व पुञ्ज छ । ०४६ सालको जनआन्दोलन र ०६२÷०६३ सालको जनव्रmान्तिको सफल नेतृत्व गरेका नेताहरु केवल नेकपा(एमाले)मा मात्र छन् । के पी ओली र माधव नेपालको राजनीतिक उचाई र सुझबुझ, झलनाथ खनालको वैचारिक सिद्धहस्तता, ईश्वर पोखरेलको कुशल सांगठानिक व्यवस्थापन र बामदेव गौतमको आक्रमक कार्यशैली वर्तमान नेपाली राजनीतिमा प्रतिस्पर्धारहित छन् । त्यस्तै आफ्नो जीवन हत्केलामा राखेर राष्टव्यापी सशस्त्र विद्रोह गरेर आएका प्रचण्ड, बादल प्रकाशलगायतका नेताहरुको जनतामा राम्रै प्रभाव राख्दछन् । नेपाली कांग्रेसको जस्तो नेतृत्वको स्खलन बाम गठबन्धनले भोग्नु परेकोे छैन ।
ग) शक्तिशाली सांगठानिक सञ्जाल
एमालेको संगठनलाई अरु पार्टीका शीर्ष नेताहरुले समेत प्रशंसा गर्ने गरेका छन् । पार्टी जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त अंगालेदेखि नै एमालेको आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतन्त्रको पूर्णरुपेण अंगिकार गर्दै आएको छ । एमालेको विधान  नेताको ईच्छामा बन्धक हुने “सो पिस” होईन । पार्टी नेअध्यक्षदेखि संगठित सदस्यसम्मले बराबरी सम्मान र परिपालना गर्ने गतिशील दस्तावेज हो । पार्टीभित्रका सबै गतिविधि एउटा निस्चित पद्धति र परम्पराअनुसार चल्ने हुँदा पार्टीभित्र कोही पनि स्पेस विहीन हुनु पर्दैन । यही कारण हो, आज समाजका हरेक क्षेत्रमा एमालेका शक्तिशाली ईकाई कार्यरत छन् । हाल बाम गठबन्धनमा सामेल माओवादी केन्द्रको विगतको सैनिक ढाँचाको सांगठानिक संरचना विस्तारै लोकतान्त्रिक संरचनामा परिवर्तन हुदैछ । पार्टी एकता पछि एमालेले अंगिकार गरेको सांगठानिक पद्धतिले सबैलाई सम्मानजनक समेट्ने नै छ ।
घ) संघीयताको व्यवस्थापन
स्थानीय तहको प्रथम र दोस्रो निर्वाचनले एमालेले भनेजस्तो जनता नेपालकै विशिष्टतामा आधारित संघीयताको पक्षमा छन् भन्ने प्रष्ट देखाएको छ । संघीयतालाई आधार बनाएर देशमा अशान्ति मच्चाउन प्रयत्न गर्ने दृश्य अदृश्य शक्तिलाई स्थानीय निर्वाचनले दह्रो झापड दिइसकेको छ । स्थानीय निर्वाचनमा जातीय पहिचानसहितको संघीयताका पक्षधर र मधेशवादी दललाई जनताले आफ्नो अपेक्षित अभिनत नदिनु र कोर मधेशमा समेत बाम बर्चश्व विस्तार हुनु यसको ज्वलन्त प्रमाण हो । संविधानसभाभित्रको लामो रस्साकस्सी,राष्टव्यापी छलफल, बहस र परामर्शपछि संविधानमा हाल व्यवस्था भएको संघीयताको मोडललाई स्थानीय तहको निर्वाचनमा जनताले अनुमोदन गरिदिएका छन् । प्रदेशसभाको निर्वाचनले संघीयताको प्राविधिक र प्रशासकीय व्यवस्थापन गर्नेछ । यसको पर्याप्त आधार तयार भएको छ । विगतमा संघीयतासम्बन्धी फरक धारणा राख्ने एमाले र माओवादी केन्द्र एकै ठाउँमा आउनुले संधीयताको आगामी व्यवस्थापन थप सहज हुनेछ ।
ङ)  ईमान्दार स्थानीय नेता कार्यकर्ता चुनाबी मैदानमा
तुलनात्मक हिसाबमा हेर्दा अधिकांश एमाले र माओवादी कार्यकर्ताहरु जनताको सेवामा अरु पार्टीभन्दा अब्बल छन् । उनीहरु सहकारी, बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, क्लव, विद्यालय व्यवस्थापन समिति, रेडक्रस, स्थानीय सामाजिक सङ्घ संस्थामा बाम कार्यकर्ताको बाहुल्यता रहदै आएको छ । त्यसबाट उनीहरुको सक्षमता अभिबृद्धि भएको मात्र नभई आर्थिक पारदर्शिता र ईमान्दारी समेत जनताले अनुभूत गर्ने अवसर प्राप्त भएको छ । अधिकांशले “जीवन संघर्ष हो, संघर्ष हो जीवन” भन्ने गीत गाउदै आफ्नो जीवनलाई समेत संघर्षमय बनाएका छन् । नेकाका नेता कार्यकर्तामा गान्धीवादी निष्ठा र सरलता हराउदै जानु, बाम गठबन्धनका का स्थानीय नेता कार्यकर्तालाई बढी फाइदा भएको छ । यो वा त्यो जिम्मेवारीमा रहेर काम गर्दा अधिकांश नेता कार्यकर्ता “गन्हाउन”बाट बचेका छन् ।
र, अन्त्यमा
बाम गठबन्धनको पक्षमा देखिएको जनउभारको उसले उच्च महत्व दिन सक्नुपर्छ । नत्र यो समर्थन क्षणभङ्गूर पनि हुन सक्दछ ।  चुनावमा राम्रो गर्ने पार्टीहरु लगत्तै कुनै न कुनै समस्यामा परेको हाम्रो देशको ईतिहास हो । ०१५ सालमा दुई तिहाई सीट जिते पनि डेढ बर्षभन्दा बढी आफ्नो सत्ता टिकाउन सकेन । ०४८ सालमा जनताले नेपाली कांग्रेसलाई पाँच बर्ष शासन गर्न बहुमत दिए पनि देशले मध्यावधि चुनाब ब्यहोर्नु पर्यो । ०५४ सालमा साठी प्रतिसतभन्दा बढी स्थानीय तहमा विजयी एमाले सोही साल विभाजन हुन पुग्यो । ०६४ सालमा २३९ सीट जितेको तत्कालीन एनेकपा(माओवादी) केही बर्ष नवित्तै विभाजनको सिकार हुनुपर्यो । ईतिहासबाट बाम गठबन्धनले शिक्षा लिएर आफूलाई झन जिम्मेवार र अझ व्यवस्थित बनाउन सक्नुपर्छ । त्यसो हुन सक्यो भने उसका लागि बहुमत सहितको प्रादेशिक सत्ता र केन्द्रीय सत्ता अब धेरै टाढा छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?