युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
सारांश
- काठमाडौँ, १६ साउन ।
- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपका केही देशले नेपालको ऊर्जा र पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
- युरोपेली मुलुकको साताव्यापी भ्रमण सकेर नेपाल फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो जानकारी दिएका हुन् ।
काठमाडौँ, १६ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपका केही देशले नेपालको ऊर्जा र पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । युरोपेली मुलुकको साताव्यापी भ्रमण सकेर नेपाल फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो जानकारी दिएका हुन् ।
युरोपेली मुलुक पोर्चुगल, लक्जेमबर्ग र बेल्जियमको साताव्यापी भ्रमण सकेर स्वदेश फर्किका परराष्ट्र मन्त्री ज्ञवालीले युरोपेली मुलुकले नेपालको ऊर्जा, पूर्वाधार र कृषि क्षेत्रमा लगानीका लागि बढी इच्छुक रहेको आफूले पाएको जानकारी दिए । आगामी दिनमा युरोपबाट प्रत्यक्ष लगानी बढी नै भित्राउन सकिने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको विकास र व्यापारमा युरोप महत्वपूर्ण साझेदार भएकाले नेपालका उत्पादनलाई युरोप प्रवेशमा छुट दिन आग्रह गरेको बताए ।
नयाँ सरकारको आर्थिक नीति, लगानी मैत्री वातावरण, आर्थिक नीति, समावेशी संविधानका बारेमा युरोपेली मुलुकले आफूसँग जिज्ञासा राखेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भने, “नेपाल भारत र चीनको अर्थतन्त्रबाट लाभान्वित हुन खोजी रहेको छ । त्यो आर्थिक साझेदारी र भूराजनीतिक सन्तुलनलाई साथसाथै लिएर नेपाल बढ्न खोजी रहेको विषयमा चासो रहेको मैले पाएँ ।”
नेपालका विमान कम्पनीले आफ्ना सेवा बोइङबाट एयरबसमा रुपान्तरण गरिसक्दा समेत युरोपमा उडान भर्न नपाएर परेको कठिनाइबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले तपाईंकै क्षेत्रमा उत्पादन भएको जहाजले यहीं उडान भर्न नपाउने यो त मिल्दो कुरा भएन । यसलाई छिटोभन्दा छिटो हटाइदिनुस् भनी आग्रह गरेको जानकारी दिए ।
पोर्चुगलका विदेशमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरको बैठकमा सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउने र सहयोगका क्षेत्र पहिल्याउन परामर्श संयन्त्र बनाउने विषयमा हस्ताक्षर भएको जानकारी पनि उनले दिए । छलफलमा मन्त्री ज्ञवालीले त्यहाँ ठूलो संख्यामा रहेका नेपालीको हितको निम्ति सहकार्यका साथ अघि बढ्ने बारेमा विचार विमर्श भएको थियो । बेल्जियम र लक्जेम्बर्गका आफ्ना समकक्षीसँगको वार्ता र छलफलमा लगानी अभिवृद्धि र व्यापार विस्तारका अतिरिक्त अन्तरर्राष्ट्रिय मञ्चमा विकासशील देशको पक्षमा शान्तिका लागि साझा सहकार्य गर्ने विषयमा पनि मन्त्री ज्ञवालीले गहन छलफल गरेको जानकारी दिए ।
विकासोन्मुख र भूपरिवेष्टित मुलुकको हितको पक्षमा विश्वसनीय साथीका रुपमा बहस पैरवी गर्ने मुलुकमा रुपमा बेल्जियम रहेको छ भने सानो भएर पनि प्रतिव्यक्ति धेरै आय हुने दोस्रो मुलुकको कोटीमा लक्जेम्बर्ग पर्दछ । युरोप भ्रमणका क्रममा मन्त्री ज्ञवालीले युरोपेली मुलुकमा रहेका राजदूतलाई परिवर्तित सन्दर्भमा नेपालले अहिले अबलम्बन गरेको आर्थिक विकास र समृद्धिको लक्ष्यलाई परिपूर्ति गर्न र त्यसलाई सफल तुल्याउन तथा नेपालको छविलाई माथि उकास्ने ढंगले काम गर्न निर्देशन दिएका थिए ।
युरोपियन इन्स्टिच्युट फर एशियन इस्टाटेडिजले आयोजना गरेको छलफलमा समेत भाग लिएका मन्त्री ज्ञवालीले त्यहाँ नेपालले प्राप्त राजनीतिक उपलब्धि र शान्ति कसरी दिगो बनाउने भन्नेबारे लिएको मार्गबारे जानकारी गराएका थिए । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघको युरोपस्तरीय क्षेत्रीय भेलाका सहभागीलाई संविधानले दिएको सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको पूर्णरुपमा उपयोग गर्दै अब सम्पूर्ण ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया