रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !

सारांश

  • काठमाडौं ।
  • नेपाली सेनाभित्र खरिदमा मनपरी सेटिङबाट करोडौंको भ्रष्टाचार हुने गरेको छ ।
  • नेपाली सेनाले सार्वजनिक खरिद गर्दा अनिवार्य लागू गरेको विद्युतीय खरिद निर्देशिका पालना नगरी बजारमा नजाने दैनिक पत्रिकामा टेण्डर सूचना निकाल्दैआएको छ ।

काठमाडौं । नेपाली सेनाभित्र खरिदमा मनपरी सेटिङबाट करोडौंको भ्रष्टाचार हुने गरेको छ । नेपाली सेनाले सार्वजनिक खरिद गर्दा अनिवार्य लागू गरेको विद्युतीय खरिद निर्देशिका पालना नगरी बजारमा नजाने दैनिक पत्रिकामा टेण्डर सूचना निकाल्दैआएको छ । विद्युतीय खरिद निर्देशिकाअनुसार ईबिडिङ गर्दा स्वच्छ प्रतिस्पर्धा हुने भएकाले सेनाले अहिलेसम्म पनि उक्त निर्देशिकाको पालना गरेको छैन । ‘प्रभाव’, ‘जनसवाल’ जस्ता दैनिक पत्रिकामा सुटुक्क विज्ञापन निकालेर अपारदर्शी रुपमा मिलेमतोमा ठेक्का दिने गरेको छ । ती दैनिक पत्रिकाको बजारमा जाने प्रतिहरुमा सेनाको विज्ञापन नराखी अर्को एक दुई कपी सुटुक्क छुट्टै छापिने सैनिक स्रोत बताउछ ।

 

ठेकेदार र सेनाको सम्बन्धित कार्यालयका लागि दुई तीन प्रति मात्र छापिन्छ । जुन सूचनाबारे सेनाका सम्भाररथी र  जंगी असबाब खान(भण्डार)का हाकिमसंग सेटिङ भएका ठेकेदारलाई मात्र थाहा हुने गर्दछ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा सेनाको खरिदमा भएका चरम अनियमितताका धेरै उजुरी पर्ने गरेका छन् । तर अनुगमन कार्यालयका कर्मचारीहरुलाई खरिदमा भएको अनियमितताबारे जानकारी लिन पठाउँदा प्रवेश गर्नसमेत नदिने गरेको समाचार छ ।

नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सबै निकायको खरिद प्रक्रियाका बारेमा अनुगमन र कारबाही गर्ने अधिकार छ । तर सेनाले अनुगमन कार्यालयका कर्मचारीलाई प्रवेशसम्म दिँदैन, बल्ल बल्ल भित्र प्रवेश गर्न दिए पनि खरिद सम्बन्धी कागजात हेर्न नदिने गरेको अनुगमन कार्यालयका कर्मचारीहरुकै गुनासो छ । सेनाको खरिदबारे सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी लिन खोज्दा सम्भाररथी विभागमा जान समेत नदिनुले नेपाली सेना जननिर्वाचित सरकार र संविधान अन्तर्गत संचालन छ कि अन्यत्रैबाट ? यो प्रश्न ज्वलन्तरुपमा उठेको छ, के नेपाली सेना संविधानभन्दा माथि छ ?

नेपाल सरकारको सार्वजनिक खरिद ऐन नियम सेनाले पालना नगरी १३ सय ५० रुपैयाँ  पर्ने ज्याकेट ४ हजार रुपैयाँमा खरिद गरेको छ । सेनाको सम्भाररथी विभागका प्रमुख उपरथी दीपक भारतीले टेण्डर बुझाउने अन्तिम मितिको ७ दिन अगाडि सेटिङ भएका ठेकेदारलाई ठेक्का दिनका लागि सुटुक्क स्पेसिफिकेसन परिवर्तन गरेको खुलासा भएको छ । स्रोतका अनुसार, जर्नेल भारतीले ठेकेदार रितेश अग्रवालको फर्मलाई मात्र मिल्नेगरी टेक्निकल स्पेसिफिकेसन बनाएर ज्याकेट खरिदको ठेक्का दिएको आरोप छ ।

नेपाली सेनाले २०७४ पुस १५ मा ५२ हजार ८ सय १० थान कार्यालय पोशाकको ज्याकेटको टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर २०७४ माघ १५ मा खोलिएको थियो । जुन पहिले गरेको सेटिङकै ठेकेदार रितेश अग्रवालले पाएका थिए । सेनाले खरिद गर्न लागेको ज्याकेटको बजारमा १३ सय ५० रुपैया“मा पाइन्छ । तर सेनाले प्रतिज्याकेट ४ हजार रुपैयाँमा खरिद गरेको छ । जुन तीन गुणा महंगो हो । अस्वभाविक लागत अनुमान राखेर सेनामा यसरी अनियमितता हु“दैआएको छ ।

टेण्डर डकुमेन्ट बुझाउने अन्तिम अवस्थामा ७ दिनअघि भारतबाट परीक्षण गरी टेष्ट रिपोर्ट ल्याउनुपर्ने गरी टेक्निकल स्पेसिफिकेसन फेरिएको थियो । रितेश अग्रवालले पहिले नै आफूले सप्लाई गर्ने ज्याकेटको रिपोर्ट भारतबाट ल्याइसकेका थिए । अरु ठेकेदारले भारतबाट चेक गरी रिपोर्ट ल्याउने समय नै नराखी स्पेसिफिकेसन परिवर्तन गरिएपछि अग्रवालले नै सेनाको ज्याकेटको ठेक्का पाएका छन् । सुरुमा टेण्डर डकुमेन्टको ३९ नम्बर पाना खाली राखिएको थियो । तर टेण्डर बुझाउने अन्तिम ७ दिन बा“की छ“दा ३९ नम्बर पानामा स्पेसिफिकेसन राखियो । जुन स्पेसिफिकेसन सम्भाररथी (स्वदेश) का हाकिम र सेटिङका ठेकेदार अग्रवाल बाहेक अरुले पेश गर्ने समय नै पाउन सकेनन् ।

यसरी ५ देखि ७ करोडमात्र पर्ने ज्याकेटलाई अस्वभाविक लागत अनुमान राखी सेनाले २२ करोड रुपैयाँमा खरिद गरेको छ । यसमा सेनाको संभाररथी विभागका प्रमुख दीपक भारतीदेखि प्रधानसेनापति राजेन्द्र क्षेत्रीसम्म भागबण्डा पुगेको स्रोतको दावी छ । १३ सय ५० मै गुणस्तरीय ज्याकेट दिन चाहने ठेकेदारहरु डरले गर्दा सेनाले तीन गुणा महंगोमा खरिद गर्दा पनि उजुरबाजुर गर्न सक्दैनन् । यसरी तीन गुणा महंगोमा सेनाले खरिद गर्ने तयारी गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय टेण्डर नै रद्द गर्ने तयारीमा रहेको स्रोतले बतायो । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नियम मुताविक नै ठेक्का प्रक्रिया सुरु गरी खरिदको ठेक्का दिइएको प्रतिक्रिया दिए । उनले भने–‘६ वटाले टेण्डर हालेकोमा ४ वटाको प्रक्रिया नपुगेको र २ वटामध्ये जुन कम दरमा उसैलाई दिइएको हो ।’ प्रवक्ता भण्डारीले कम दरको प्रस्ताव हाल्नेबाट खरिद गरेको दाबी गरे पनि ठेकेदार रितेश अग्रवालकै २ वटा कम्पनीको मापदण्ड पुगेको देखाएर एउटालाई ठेक्का दिइएको स्रोतको दाबी छ ।

ज्याकेट एक प्रतिनिधि उदाहरण हो, सेनाको हरेक खरिद र ठेक्कामा यसैगरी अर्बाैं रुपैयाँ  घोटाला हुँदैआएको छ । सेनापतिकै संरक्षणमा सेनाभित्र डरलाग्दो भ्रष्टाचार हुने गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न र मुद्दा दायर गर्नसक्छ । तर, सेनाको अनियमिततामा रक्षा  मन्त्रालय साक्षी बस्ने गरेको छ भने अख्तियारले हेर्न नपाउने भएकाले पनि ठूलो भ्रष्टाचार हुने गरेको छ । सेनाको भ्रष्टाचार पनि अख्तियारले हेर्ने कानूनी ब्यवस्था हुन सकेको खण्डमा धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुनसक्ने रक्षा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

सेनाले विद्युतीय खरिद निर्देशिका अनुसार टेण्डर नगरेका कारण टेण्डर फारम किन्न समेत ठेकेदारहरुले ठूलो सोर्स लगाउने अवस्था छ । सेनाका हाकिमहरुको इशारा पाएका ठेकेदारहरुले मात्र जंगी अड्डाभित्र टेण्डर फारम खरिद गर्न पाउँछन् । सबैले खरिद गरी स्वच्छ प्रतिस्पर्धा गर्ने अवस्था सेनामा गणतन्त्र आएको १० बर्षमा पनि आउन सकेकोे छैन । ईबिडिङ त सेनामा लागू हुनै सकेको छैन । र, भ्रष्टाचार गर्न सहज नहुने भएकाले सेनाले खरिद अनुगमन कार्यालयको ऐन नियम अनुसार विद्युतीय खरिद निर्देशिका अनुसार टेण्डर गर्न अटेर गर्दैआएको छ ।

यसैबीच, प्रधानसेनापति राजेन्द्र क्षेत्रीले फुल कर्णेल प्रमुख हुनुपर्र्ने जंगी  असबाब खानामा नाताले ज्वाई पर्ने लेफ्टिेनेन्ट कर्णेल निर्जल अधिकारीलाई राखेर १ बर्षको बीचमा २५ करोड रुपैयाँ  भन्दा बढीको सामान सप्लाई र भण्डारणको नक्कली विवरण  बनाएर घोटाला गर्ने मौका दिएर हालै सरुवा गरेको बताइन्छ ।

( ५ चैत २०७४ को साँघु साप्ताहिकबाट)

(Ambien)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Tej Gurung

    सेनामा चेक गर्न नपाउन किन कसको पैसा खान्छ सेनाले यही गरिब जनताको पसिना चुसेको होइन किन ऑडिट गर्न नपाउने यो कस्तो नियम हो जन जनको प्रश्न ??????

    Comment Author

    Sagar Babu Niroula

    Tanki minister le tanki bharxan ho…

    Comment Author

    Nand Gurung

    e di yo desma akhtiyar xa bhane xan bin hunu parxa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?