बालुवाटारमा मिसाइल खसे के हुन्छ?
सारांश
- काठमाडौ, २६ असोज ।
- गैरआवासीय नेपाली संघ (एनआरएनए)बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ।
- २४ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको बिहीबार राति एनआएनए नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
काठमाडौ, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ। २४ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको बिहीबार राति एनआएनए नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले युद्धको बेला केन्द्रमा प्रहार हुनसक्ने भन्दै बालुवाटार त्यस्तै एउटा केन्द्र रहेको उल्लेख गरे। ‘यहीँ सभामुख, यहीँ प्रधानमन्त्री निवास हुँदा यहाँ मिसाइल खस्यो भने सबैभन्दा पहिला खत्तम हुने त हामी हुन्छौं’, उनले ठट्यौली गर्दै भने, ‘बालुवाटारजस्तो अत्यन्त सुरक्षित र स्वच्छ ठाउँमा हामीले आफूलाई स्थापित गर्न पाएका छौं।’
प्रधानमन्त्री निवास नजिकै रहेकाले उहाँलाई धकेलेर पनि कार्यक्रम ल्याउन सकिने भट्टको भनाई थियो। ‘कार्यक्रम गर्दाखेरि प्रधानमन्त्रीज्यू जहिले पनि ढिला हुनुहुन्छ। खुरुरु।।। गएर उहाँलाई धकेलेर पनि ल्याउन सक्ने लोकेसन हामीले पाएका छौं।’कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष शेष घलेले नेपालमै बसोबास गर्नेदेखि लिएर विदेशमा रहेका नेपाली विद्यार्थीसम्मले भवन निर्माणमा सहयोग पुर्याएको स्मरण गरे। ‘एक जना महिला आफ्ना छोराछोरी भेट्न अष्ट्रेलिया आउनु भएको थियो।
उहाँ एनआरएन होइन तर उहाँले नेपाली रुपैयाँमा सहयोग गर्नुभयो’, घलेले रकम संकलनका दिन स्मरण गर्दै भने, ‘जापानमा हाम्रो क्षेत्रीय सम्मेलनमा फन्ड रेजिङ गर्दै जाँदा नेपालबाट जानुभएका पत्रकारहरुले गोजीबाट निकालेर नेपाली रुपैयाँ सहयोग गर्नुभयो। उहाँहरुको नाम मलाई थाहा छैन। आज म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु।’ भवन निर्माणमा सहयोग गर्ने सबैको रेकर्ड राख्नुपर्ने उनको भनाई थियो। एनआएनए उपाध्यक्ष कुमार पन्तले भवन निर्माणमा निवर्तमान अध्यक्ष शेष घलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। यसैगरी जमुना गुरुङले समेत भवन निर्माणमा उल्लेख्य योगदान पुर्याएको उनको भनाई थियो। एनआरएनए संरक्षक एवं पूर्व उपाध्यक्ष जीवा लामिछानेले १४ वर्षसम्म गैरआवासीय नेपाली संघलाई सचिवालय प्रदान गर्ने नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरे।
एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले भवन निर्माणमा विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीको योगदान रहेको उल्लेख गरे। ‘अब संस्था पनि दर्ता भयो, अभियान पनि ठूलो भयो, घर पनि भयो। अब जुन सपना बोकेका छौं त्यो पूरा गर्नुपर्ने स्थिति छ। त्यो भनेको समृद्धि हो’, महतोले भने।
प्रतिक्रिया