राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा हतियारको कुरा उछालिएको दावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा हतियारको कुरा उछालिएको दावी

सारांश

  • काठमाडौं, १५ असार ।
  • प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्नो सल्लाहकार रघुनाथ पुरीलाई फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा दुःख दिन खोजिएको भन्दै आपत्ति जनाएको छ ।
  • राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा व्यवसायी पुरीलाई बदनाम गर्न श्रृंखलाबद्ध र नियोजित प्रहार गरिएको मञ्चको दाबी छ ।

काठमाडौं, १५ असार । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्नो सल्लाहकार रघुनाथ पुरीलाई फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा दुःख दिन खोजिएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा व्यवसायी पुरीलाई बदनाम गर्न श्रृंखलाबद्ध र नियोजित प्रहार गरिएको मञ्चको दाबी छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्त साँवाले विज्ञप्ति जारी गरेर ‘द रिभर ओभरसिज’ का सञ्चालक समेत रहेको पुरीसँग भएको हतियारको बिषयलाई लिएर गलत सूचना प्रवाह गरिएको उल्लेख गरेका छन् । प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले पुरीले हतियारको दुरुपयोग गरेको समाचार आएपछि मञ्चले यसको खण्डन गरेको हो । साँवाले विज्ञप्तिमा भनेका छन्, “उहाँले जिल्ला प्रशासन कार्यालयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा घरमा राख्नुभएको एक थान राइफल केही दिनअघि प्रहरी महाशाखामै पुगेर बुझबुझारथ गर्नुभएको थियो । तर आफैंले गएर हतियार बुझाएको सन्दर्भलाई अन्य ढंगले समाचार प्रवाह गराउन खोजिनु खेदजनक विषय हो ।”

मञ्चले जिम्मेवार व्यवसायीलाई गुण्डागर्दी र अन्य गतिविधिमा संलग्न व्यक्तिहरुसँगै जोडेर प्रहरीले सही र गलत एकै ठाउँमा मिसाउन खोजेको भन्दै आपत्ति प्रकट गरेको छ । अध्यक्ष साँवाले विज्ञप्तिमा भनेका छन्, “प्रहरीले जिम्मेवार व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैंले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुःखद हो ।”

मञ्चले तथ्यपूर्ण अनुसन्धान गरी सञ्चारमाध्यमबाट सही सूचना प्रवाह गर्न प्रहरीलाई आग्रह समेत गरेको छ । “व्यवसायी कानूनको पालना गर्ने कुरामा सदैव सचेत छौं । र, गैरकानूनी ढंगले व्यवसायीलाई दुःख दिने व्यक्ति र समूहलाई कानुनको दायरामा प्रहरीले ल्याओस् भनिरहेका छौं । तर उल्टै कानुनको पालना गर्ने व्यवसायीलाई बदनाम गर्ने कार्य सही हुन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “यस मञ्चका सल्लाहकार रघु पुरीको व्यवसाय पारदर्शी छ । उहाँ बैदेशिक रोजगारी मात्र होइन, जलविद्युत र अन्य सेवामूलक व्यवसायमा पनि स्थापित हुनुहुन्छ । यसक्रममा उहाँको सामाजिक र राजनीतिक प्रतिष्ठाको डाहा गर्ने हामीभन्दा फरक विचारधाराका प्रतिष्पर्धी केही व्यक्तिको उक्साहटमा उहाँलाई दुःख दिन खोजिएको प्रष्ट छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?