राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?

सारांश

  • ‘प्रतिनिधिसभाका लागि ५३ र प्रदेशसभाका लागि ११७ सीट मागियो’ काठमाडौं– मधेस आन्दोलनपछि उत्तर र दक्षिण ध्रुवजस्तो देखिएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तालमेल भएको छ ।
  • दुई पार्टीबीचको तालमेललाई मधेशमा सकारात्मक रुपमा लिइएको छ ।
  • दुई नम्बर प्रदेशको निर्वाचनपछि फोरम अध्यक्ष यादवले राजपामाथि ब्यङग्य पनि गर्दै आएका थिए ।

‘प्रतिनिधिसभाका लागि ५३ र प्रदेशसभाका लागि ११७ सीट मागियो’

काठमाडौं– मधेस आन्दोलनपछि उत्तर र दक्षिण ध्रुवजस्तो देखिएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तालमेल भएको छ । दुई पार्टीबीचको तालमेललाई मधेशमा सकारात्मक रुपमा लिइएको छ ।

दुई नम्बर प्रदेशको निर्वाचनपछि फोरम अध्यक्ष यादवले राजपामाथि ब्यङग्य पनि गर्दै आएका थिए । तर एमाले, माओवादीसहितको बाम ध्रुवीकरणले मधेसका दुई शक्तिलाई एक ठाउँमा उभ्याएको छ । फोरम नेपालले वामगठबन्धनसँग तालमेल गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न चरणमा कुराकानी पनि गरिसकेका थिए ।

काँग्रेस नेतृत्वसँग लोकतान्त्रिक गठबन्धन बनाउने तयारी भइरहँदा उपेन्द्रको वार्ता वाम गठबन्धनसँग चलिरहेको थियो । माओवादी केन्द्र र एमालेले मधेशवादी दलको सविधान संशोधनको विषय पनि सम्झौतापत्रमा राख्ने तयार भइसकेका थिए । तर, यता मधेश तथा काँग्रेसबाट उपेन्द्र यादवमाथि चर्को दबाब आयो ।

भारतीय पक्षको पनि यादवलाई उत्तिकै दबाब आएको स्रोतको भनाई छ । उपेन्द्रलाई बाम गठबन्धनमा जानबाट रोक्न भारतीय पक्षको चर्कै दबाब पर्यो । असोज १८ गते लोकतान्त्रिक गठबन्धन बनाउने विषयमा बालुवाटारमा छलफल हुँदा त्यहाँ पनि उपेन्द्र यादव सकारात्मक थिएनन् ।

बालुवाटारको बैठक सकेर लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय बाहिर आउँदा पनि उपेन्द्रले गठबन्धन बनाउने कुनै सहमति नभएको प्रतिकृया दिए । फोरम बरिष्ठ नेता अशोक राईले पनि आफूहरुले कुनै दलसँग गठबन्धन बनाउने निर्णय नगरेको प्रतिक्रिया दिएका थिए ।

असोज १९ गते गठबन्धनको कार्यदलमा रामसहाय यादवको नाम पठाउँदा पनि यादव त्यति गम्भीर थिएनन् । काँग्रेसले नाम मागेको कारणले नाम पठाइदिएको तर कुनै गठबन्धन नबनेको भनी यदवले प्रतिक्रिया दिएका थिए ।

यता, राजपा नेपालका नेताहरु पनि फोरम नेपालका अध्यक्ष यादवसँग संवाद गरिरहेका थिए । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले उपेन्द्र यादवसँग पटक पटक कुरा गरे पनि उनले टार्दै आएका थिए ।

फोरम नेपालसँग तालमेलको विषयमा छलफल गर्ने जिम्मेवारी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई दिए पनि उनले भने त्यति चासो नलिएको आरोप पार्टीभित्र छ । पटक पटकको प्रयासले सफल नभएपछि राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव र शरतसिंह भण्डारी उपेन्द्रलाई मनाउन कस्सिए ।

राय र भण्डारीले विभिन्न ठाउँमा पटक पटक भेटेर यादवलाई मनाउने प्रयत्न गरे । ‘अहिलेको बेलामा तपाई पछाडी हट्नुभयो, मधेशका लागि ठूलो धोका हुनेछ, अहिले किक मार्ने बेला हो, मधेशीले आफ्नो शक्ति देखाउने बेला यही हो तपाई आउनुपर्छ मिलेर जाउँ’ भन्दै भण्डारीले यादवलाई सम्झाए । त्यसपछि मात्रै यादव राजपासँग तालमेल गर्न राजी भए ।

छलफलमा राजपा नेपालका अन्य नेता तथा पार्टीको कार्यशैलीकाबारेमा उपेन्द्र यादवले केही गुनासो गरेका थिए । विगतमा पार्टीका नेताहरुले गरेका व्यवहारहरुको बारेमा पनि उनले गुनासो गरे ।
महतोले खोलेको गजेन्द्रनारायण प्रतिष्ठानको अफिसमा राती अवेरसम्म यी दुई पक्षमा छलफल भएको थियो । एक रात र एक विहानको छलफलपछि मात्रै यादवल सहमत भएको एक नेताले बताए । त्यसपछि मात्रै महन्थ ठाकुरलाई बोलाएर हस्ताक्षर गर्न लगाइएको थियो ।

जित्नेलाई उम्मेदवारी

जुना दलका नेता जहाँबाट जित्छ, त्यसलाई त्यहाँबाट टिकट दिएर जिताउने प्रारम्भिक सहमति भएको छ । त्यसपछि प्रत्येक जिल्लाको रिपोर्ट र सम्भावित उम्मेदवारको बारेमा अध्ययन गरेपछि कसले कति सीट लिने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

यद्यपी स्थानीय तहमा उपेन्द्र यादवले बढी सीट लिएका कारणले उनले केन्द्र तथा प्रदेशको चुनावमा बढी सीट लिने दावी गरेको छ ।

तर, त्यसको विषयमा कुरा टुंगो लगाउन भने बाँकी छ । अहिलेसम्म कसले कति सिट लिने भन्ने टुंगो नलागेको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बतए । जो जहाँबाट जित्ने सम्भावना रहन्छ, त्यहीबाट उम्मेदवारी दिन लगाउने यादवले बताए ।

काँग्रेससँग माग

राजपा नेपाल र फोरम नेपालले काँग्रेससँग प्रतिनिधिसभाका लागि ५३ र प्रदेशसभाका लागि ११७ सीट माग दावी गरेको छ । सात सदस्यीय कार्यदलको बैठकमा यी दुई दलबाट गएका प्रतिनिधिले यी प्रस्ताव राखेको स्रोतले जनाएको छ । प्रतिनिधिसभाको जम्मा सीट १६५ र प्रदेशसभामा ३३० सीट रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?