रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
सारांश
- काठमाडाै, १३ वैशाख ।
- बैशाख शुक्ल प्रतिप्रदाका दिन ललितपुरको पुल्चोकवाट रथारोहण गरि शुरु गरिने रातो मछिन्द्रनाथको रथजात्रा जाउलाखेलमा पुगि विधिवत भोटो देखाई सकेपछि जात्रा सम्पन्न हुने छ ।
- काठमाण्डौ मात्र हैन सम्भवतः यो जात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा परिचित छ ।
काठमाडाै, १३ वैशाख । बैशाख शुक्ल प्रतिप्रदाका दिन ललितपुरको पुल्चोकवाट रथारोहण गरि शुरु गरिने रातो मछिन्द्रनाथको रथजात्रा जाउलाखेलमा पुगि विधिवत भोटो देखाई सकेपछि जात्रा सम्पन्न हुने छ ।
काठमाण्डौ मात्र हैन सम्भवतः यो जात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा परिचित छ । रातो मछिन्द्रनाथलाई पद्मपाणी, आर्यावलोकितेश्वर, करुणामय, बुङ्ग द्यो आदि नामवाट पनि पुकारिन्छ । साथै, रातो मछिन्द्रनाथलाई सहकालको देवताको रुपमा पुजिन्छ । सामान्यतया, रातो मछिन्द्रनाथ भन्नासाथ आम मानिस झट्ट भोटो जात्रालाईनै सम्झने गर्छन ।
यसो हुनु स्वाभाविक हो किनभने रातो मछिन्द्रनाथ को हुन, कहाँका हुन, कसरी नेपाल आए, ककस्ले ल्याए भन्ने वारे त्यति चर्चा गरेको पाइदैन । तसर्थ, मयार्दावलोकितेश्वर मणिमय वंशावलीको आधारमा पं. बै. श्री आशाकाजी बज्राचार्यद्वारा लिखित पुस्तकको आधारमा रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग प्रस्तुत गर्ने जमर्को गरेको छुं ।
को हुन रातो मछिन्द्रनाथ?
त्यसताका कामिनी क्षेत्र (कामारु कामाक्ष आसपास) का यक्ष (राक्षस) राजा शशी र उनकी रानी यक्षनी मायाका ५०० छोराहरु मध्ये ३२ लक्षणयुक्त कान्छो छोरा करुणामयनै रातो मछिन्द्रनाथ हुन ।
किन ल्याउनु प¥यो रातो मछिन्द्रनाथ नेपालमा?
त्यतिबेला नेपाल मण्डलमा १२ वर्षसम्म पानी (जलबृष्टि) नपरी हाहाकार भई अनिकाल परेको र जलबृष्टि गराउनको लागि रातो मछिन्द्रनाथको उपस्थिति विना सम्भवनै नभएकोले रातो मछिन्द्रनाथलाई नेपाल ल्याउनु परेको थियो ।
जलबृष्टि नभएका कारण
त्यतिबेला नेपाल मण्डलमा श्री करुणामयका शिष्य, नारायणको अंश गोबरवाट जन्मेका गोरखनाथको नामवाट प्रशिद्ध एकजना कानफत्ता योगि आई मृगस्थलीमा गई नव नागराजाहरुलाई आसन वनाई तपस्या गरिरहेकोले जलबृष्टि हुन नसकेको हो ।
ककस्ले ल्याए रातो मछिन्द्रनाथलाई नेपालमा?
भक्तपुरको राजा नरेन्द्र देव, मञ्जुश्रीका शिष्यद्वय गुणाकर बज्राचार्य र शान्तीकर बज्रचार्य मध्ये शान्तीकर बज्राचार्यको पनि शिष्य तान्त्रिकाचार्य बन्धुदत्त (काठमाण्डौं), ललितपुरका किसान रथचक्र लगायत वाटोमा भेट भएको कर्कोटक नागराजाले कामिनी क्षेत्रवाट श्री करुणामय (रातो मछिन्द्रनाथ) लाई नेपाल ल्याएका थिए ।
कसरी ल्याई पु¥याए मछिन्द्रनाथलाई नेपालमा ?
रातो मछिन्द्रनाथ नल्याईकन पानी नपर्ने भन्ने सुुनिश्चित भईसकेपछि राजा नरेन्द्र देव, बन्धुदत्त र रथचक्र तीनैजना शुभसाइत गरि लागे कामिनी क्षेत्र तर्फ । वहाँहरुले मनुश्यरुप लिई वाटो छेकी वसेका कर्कोटक नागराजालाई भेटे । केहि क्षण मनुश्यरुपी नागराजासंग भनाभन भएपछि दुबैतर्फकाले एक अर्काको शक्ति वुझि सकेपछि शुभकार्यमा कर्कोटक नागराजाले समेत साथ दिन राजी भई त्यहाँवाट अगाडि प्रस्थान गरे ।
हिंडदा हिंडदै अन्तमा वहाँहरु कामिनी क्षेत्रको नजिक कारुपी भन्ने पिठमा पुगे । त्यहाँवाट सिधै राक्षसको देश जानुपर्ने र जानलाई त्यति सजिलो नहुने भएकोले बन्धुदत्तले तान्त्रिक शक्तिले १ हजार भेडा, १ हजार बोका र १ हजार राँगो उत्पन्न गरे । साथै, कर्कोटक नागराजालाई यक्षराजा शशीको शरिरमा प्रवेश गरि शुल (अत्यन्त पेट दुखाःई) को व्यथा लगाईदिन अह्राए । उता यक्षराजा शशीलाई अत्यन्त पेट दुख्न थाले भने यता नरेन्द्र देव, बन्धुदत्त र रथचक्र भेष वदली यक्ष राज्य प्रवेश गरे । प्रवेशद्वारमा बसेका द्वारपालहरुले तिमिहरु को भनि सोद्धा आफुहरु बैद्य भएको वताए । यो खवर यक्षराजा शशी सम्म पुग्याे ।
आफ्नाे रोग निको पार्नको लागि ती छद्मभेषि बैद्यहरुलाई बोलाइयो । त्यहिबेला बन्धुदत्तले तान्त्रिक शक्तिवात उत्पन्न गराईएका ३ हजार पशुहरु पनि यक्षराजा शशीलाई भेट चढाए । बैद्यरुपी बन्धुदत्तले उपचार गरे जस्तो गरि कर्कोटक नागराजालाई राजाको शरिरवाट निकाली दिए र राजाको पेट दुखाई पनि निको भए ।
यक्षराजा खुसी भई के माग्छौ माग, मागेको दिन्छु भनि सत्य वाचा समेत गरे । त्यहि मौका छोपी वहाँहरुले राजाको कान्छा छोरो करुणामायलाई मागे । अब राजालाई प¥यो फसाद । दिेउ भने आफना प्यारो छोरा, नदिंउ भने वाचा जाने । तर, अन्तमा राजा नदिने पक्षमै रहे र उल्टो तर्साउन थाले । त्यसपछि वहाँहरु त्यहावाट भागी एकठांउमा गई अर्को उपाय सोच्न थाले । फेरी कर्कोटक नागराजालाई शुक्ष्म भेष धारण गरी करुणामयको शरिरमा प्रवेश गरि करुणामयलाई नेपाल जाउं जाउं लाग्ने पार्न पठाए । यता बन्धुदत्तले तान्त्रिक विधिवाट शुवर्ण कलश स्थापना गरि राजा नरेन्द्र देवलाई यो कलशमा जुनसुकै कीटपटंग पसेपनि त्यसलाई तुरुन्त किसली (माटोको पाला) ले छोपी दिनु भने ।
उता, करुणामयको शरिरमा कर्कोटक नागराजा प्रवेश भएपछि करुणामयले आमा वावुलाई एकपल्ट नेपाल जांउजाउं भनि पिरोल्न थाले । अब भएन भनि यक्षराजाले करुणामयलाई कडा सुरक्षामा राख्न थाले ।
तर, एक रात करुणामय भागेर जान खोज्दा ढोकैमा आफ्नाे आमा लम्पसार सुतीरहेको त्यो पनि नाघेर जानै नमिल्ने गरि आफ्नाे कपाल फिजाई सुतेकी । आमालाई नाघी गए पाप लाग्ने भएकोले करुणामयले भमराको रुप लिई सुवर्ण कलशमा प्रवेश गरे ।
तर त्यहिबेला राजा नरेन्द्र देव निन्द्रामा रहेकोले भमरा कलशवाट निस्के । दोश्रोपल्ट फेरी भमरा कलशमा प्रवेश गरे तर दोश्रो पटक पनि राजालाई निन्द्रामै रहेकोले फेरि पनि भमरा कलशवाट निस्के । तेश्रो पल्ट पनि भमरालाई छोप्न सकेन भने फेरि केहि गर्दानि भमरा नआउने भएकोले फेरि राजा निदाई राख्ने हो कि भन्ने चिन्ता भो बन्धुदत्तलाई ।
नभन्दै तेश्रोपल्ट भमरा पस्दानि राजा निदाइरहेको देखि बन्धुदत्तले आप्mनो कुइनोले राजालाई धक्का दिए । राजाको निन्द्रा खुले र हत्त न पत्त किसलीले कलश छोपी दिए । त्यसपछि हतरपतर वहाँहरु कलश वोकी नेपाल तर्फ दौडे ।
यक्षहरुले पनि करुणामयलाई फिर्ता लैजान पिछा गर्दै आए तर बन्धुदत्तले आफनो तान्त्रिक विधिले रोक्दै रोक्दै आए । करुणामयको आमा यक्षनीले त ललितपुरको इवला ख्यो सम्म आई एउटा रुखमा वसेका थिए । यो कुरा थाहा पाई त्यो स्थान नपुग्दै यक्षनीले थाहा नपावस भनि करुणामयलाई केहि हल्ला नगरी बाजा साजा पनि नबजाई शान्तिपूर्वक जावलाखेल पु¥याइयो । त्यो ठांउवाट करुणामय ल्याउदा यद्यपि बाजा नबजाउने चलन रहिआएको छ ।
यता तपस्यारत गोरखनाथ करुणामय नेपाल पुगेको थाहा पाई स्वागतार्थ आफनो आसनवाट उठ्दा आसनमूनि रहेका नव नागराजाहरु पनि स्वतन्त्र हुन गई त्यहाँवाट अन्यत्र लाग्दा आकाशवाट जलबृष्टि भई अनिकालको अन्त भयाे।
प्रतिक्रिया