राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
३० पटक हेरिएको
Shares
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य

सारांश

  • काठमाडौं, २१ पुस ।
  • संविधानविद् तथा राजनीतिक विश्लेषक निलाम्बर आचार्यले राप्तीको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्ने बताएका छन् ।
  • राप्ती समाज काठमाडौंले राजधानीमा आयोजना गरेको राप्तीबाट विजयी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्य र लिटिल मिस नेपाल २०१७ की विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै आचार्यले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

काठमाडौं, २१ पुस । संविधानविद् तथा राजनीतिक विश्लेषक निलाम्बर आचार्यले राप्तीको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्ने बताएका छन् । राप्ती समाज काठमाडौंले राजधानीमा आयोजना गरेको राप्तीबाट विजयी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्य र लिटिल मिस नेपाल २०१७ की विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै आचार्यले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

संविधानविद् आचार्यले राजनीति, पत्रकारिता, कला, साहित्य, संगीत, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत सबै क्षेत्रमा अगाडि बढेका प्रतिभाहरुले राप्तीको विकासका लागि योगदान दिनुपर्ने बताए । उनले भने, “आआफ्ना क्षेत्रमा माथिल्लो ओहदामा पुगेर राजधानी आए तापनि आफू जन्मेको माटोलाई भुल्नु हुँदैन । आफ्नो माटोको लागि पनि केही गर्नुपर्छ ।” उनले आफू पनि जीवनको उत्तराद्र्धमा सल्यानमै गएर बस्ने योजनामा रहेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित समेत भएका दाङ– २ बाट प्रतिनिधिसभामा निर्वाचित उपप्रधानमन्त्री कृष्णबहादुर महराले पछाडि पारिएको राप्तीलाई अब सबै क्षेत्रको एकतावद्ध प्रयासमा अगाडि ल्याउनुपर्ने धारणा राखे । राप्तीको विकासका लागि जनप्रतिनिधिको हैसियतले आफूले कुनै कसर बाँकी नराखेर प्रयास गर्ने र त्यसमा राप्तीवासी सबै पक्षले सघाउनुपर्ने, घच्घच्याउनुपर्ने र खबरदारी गर्नुपर्ने पनि उपप्रधानमन्त्री महराले बताए ।

पूर्वअर्थमन्त्री तथा रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित वर्षमान पुन “अनन्त”ले ब्युरोक्रेसी र समाजका सबै क्षेत्रमा राप्ती पश्चिम पछि परेको बताउँदै हरेक दृष्टिले राप्तीलाई अग्रपंक्तिमा लैजानुपर्ने आवश्यकता औंल्याए । उनले अब मुलुक समृद्धिको दिशामा अगाडि बढेको र रोजगारीको सिर्जना गरेर राप्तीलाई समुन्नत बनाउनुपर्नेमा जोड दिए ।

५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा वाम गठबन्धनका एक्ला दावेदार एमाले नेता शंकर पोख्रेलले जनताले चिने पनि राज्यले नचिन्दै राप्ती समाज काठमाडौंले चिनेकोमा प्रशन्नता व्यक्त गरे । उनले भने, “सरकारले संविधानको स्प्रिट होइन अक्षरमा खेलेर निहुँ खोज्दै जनमतको मानमर्दन गरिरहेको आरोप लगाए । उनले ५ नम्बर प्रदेशको तर्फबाट काठमाडौंमा “५ नम्बर प्रदेश हाउस” निर्माण गर्ने परिकल्पना रहेको बताउँदै थपे, “प्रदेशको नामकरण जे हुन्छ, त्यही नामबाट प्रदेश हाउस बनाउने मेरो परिकल्पना हो । त्यसपछि ५ नम्बर प्रदेशबाट राजधानीमा आएर बस्ने सबैले त्यसको उपयोग गर्नसक्ने छन् ।”

अर्का संविधानविद डा. भीमार्जुन आचार्यले राप्तीले यसपटक आशलाग्दो नेतृत्व र प्रतिनिधि पाएको बताउँदै उहाँहरुले चाहेमा राप्तीका लागि धेरै काम गर्नसक्ने बताए । त्यस अवसरमा रुकुम (पूर्व)बाट प्रतिनिधिसभामा विजयी कमला रोका, सल्यानबाट प्रदेशसभामा निर्वाचित एमाले नेता प्रकाश ज्वाला, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, लोकगायिका तथा एमाले नेतृ कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, भक्तपुर क्यान्सर अस्पतालका म्यानेजिङ डाइरेक्टर डा. प्रकाशराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । समाजका अध्यक्ष शशि शर्मा मजगैंयाको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत टीका भण्डारी र सञ्चालन प्रवीणकुमार रेग्मीले गरेका थिए ।

  1. त्यस अवसरमा सबै प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसद, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जीएम, सदस्य टेकराज शाही,  एनप्याब्सनका नवनिर्वाचित महासचिव सुवास न्यौपाने, लिटिल मिस नेपाल २०१७ की विजेता याङ्शु श्रेष्ठलगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?