राप्रपा (प्रजातान्त्रिक)मा संख्या नपुगेकै हो ? के भन्छन् नेताहरू ?
सारांश
- काठमाडौं ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले निर्वाचन आयोगले विधि र कानून शासनविरुद्ध गएर राप्रपा (प्रजातान्त्रिक)लाई मान्यता दिएको दावी गर्नुभएको छ ।
- दैनिक नेपाल डटकमसँग शुक्रबार बिहान कुरा गर्दै बर्तौलाले भन्नुभयो, ‘राप्रपा (प्रजातान्त्रिक)का अधिकांश केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर फर्जी छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले निर्वाचन आयोगले विधि र कानून शासनविरुद्ध गएर राप्रपा (प्रजातान्त्रिक)लाई मान्यता दिएको दावी गर्नुभएको छ ।
दैनिक नेपाल डटकमसँग शुक्रबार बिहान कुरा गर्दै बर्तौलाले भन्नुभयो, ‘राप्रपा (प्रजातान्त्रिक)का अधिकांश केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर फर्जी छ । यस्तो अवस्थामा पनि नयाँ दलको मान्यता दिइयो ।’ उहाँले यसका विषयमा कानूनी उपचार खोज्न बताउनुभयो ।
‘निर्वाचन आयोगमा पशुपति शम्शेर राणा समूहले बुझएको हस्ताक्षर धेरै नक्कली छ’, उहाँले दाबी गर्दै भन्नुभयो, ‘यसरी कानून र संविधानको विपरित जान मिल्छ ?’
उता, राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरीले आफूहरूले निर्वाचन आयोगमा बुझाएको सबै हस्ताक्षर निर्वाचन आयोगका कर्मचारी समक्ष पहिलो दिन नै प्रमाणित गरेको दाबी गर्नुभयो ।
‘हामीले पहिलो दिन नै केन्द्रीय सदस्यहरूको हस्ताक्षर र सनाखत निर्वाचन आयोगका कर्मचारीकै समक्ष गरेका हौँ’, प्रवक्ता गिरीले भन्नुभयो, ‘हामीलाई लगाइएका आरोप र आक्षेपहरूमा कुनै सत्यता छैन । सर्वोच्च अदालत र निर्वाचन आयोगले कानूनअनुसार फैसाल दिएका छन् ।’
प्रवक्ता गिरीले कमल थापा नेतृत्वको राप्रपाले धेरै चित्त दुखाउनु पर्ने कारण नरहेको बताउनुभयो । ‘राप्रपा (प्रजातान्त्रिक)ले मान्यता पाइसक्यो । अब उहाँहरूले आफ्नो संगठन गरेर बसे हुन्छ । हामी आफ्नो तरिकाले जान्छौँ ।’
पार्टी विभाजन भएपछि राप्रपाले संख्या नै नपुगेको राप्रपा (प्रजातान्त्रिक)लाई नयाँ दल गठनको स्वीकृति दिएको भनेर विरोध गर्दै आएको छ ।
प्रतिक्रिया