‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
  • तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन्।

उनले यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको बताए।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको जनाएका छन्।

विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभूषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उनको भनाइ छ।

मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ल्होसारले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन सम्पूर्ण नेपालीमा उत्प्रेरणा पैदा हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?