‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् ।
- ता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् ।
ता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन् । उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो ।
ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका नेता-कार्यकर्ता सहरमै केन्द्रित भएको, विवादास्पद मुद्दा-मामिलामा मात्र कार्यकर्ता सक्रिय भएको र पार्टीको माथिल्लो कमिटीको निर्देशन र अनुमतिविनै समात्ने, दुःख दिनेजस्ता काममा पार्टी प्रयोग भएको चन्दले खुलासा गरेका छन् ।
अन्नपूर्णलाई प्राप्त चन्दको उक्त गोप्य प्रतिवेदनमा नेता-कार्यकर्ताकै बीचमा रकम असुली गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने अस्वाभाविक प्रतिस्पर्धा चलेको उल्लेख छ ।
‘पार्टी पंक्ति बढी सहरकेन्द्रित हुनु, पार्टीमा पूर्णकालीन कार्यकर्ता र व्यवस्थापनको नीति स्पष्ट नहुनु, पार्टी कमिटी र जनवर्गीय संगठनको आर्थिक व्यवस्थापन चुस्त नहुँदा अर्थ संकलन गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने, पार्टीको अनुमतिबेगर नै मुद्दा हेर्ने, पार्टीको उपल्लो कमिटीको अनुमतिविना गिरफ्तार गर्नेजस्ता क्रियाकलाप पार्टीमा बढेको छ’, चन्दले स्विकारेका छन् ।
काठमाडौं, चितवनलगायत क्षेत्रमा खटिएका पार्टी तथा जनवर्गीय संगठनका नेता मुद्दा-मामिला खोजी गर्दै हिँड्ने र न्यायका नाममा असुली गर्न थालेपछि चन्दको पार्टी आलोचित बन्दै गएको छ ।
‘प्रचण्डसँग हुँदा कमाउन नपाएका वा यता आएर अरूसँग बार्गेनिङ गर्ने प्रवृत्ति पनि पार्टीमा देखिएको छ’, चन्दले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘कतै पार्टीमा आर्थिक फाइदाका लागि अस्वाभाविक सक्रिय हुने र क्रान्तिको चाप बढ्दा धोका दिने अवस्था त आउँदैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।’
खासगरी विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्को रुपमा देखा परेको नेताहरूको भनाइ छ । ती संगठनका केन्द्रीय जिम्मेवारीमै रहेका नेताहरूले ‘जनअदालत’ का नाममा मुद्दा मिलाइदिने बहानामा चर्को रकम असुली गर्दै आइरहेका छन् ।
तीन महिनाअगाडि मात्रै जडीबुटीमा त्यस्तै मुद्दा मिलाउने नाममा भएको अपहरणमा नेकपाका केन्द्रीय नेता सुदीप मल्ल जोडिएका थिए । उनलाई अहिले स्पष्टीकरणसमेत सोधिएको नेकपाका नेताहरूले बताएका छन् ।
उनले आफ्नो इच्छाअनुसार योजना बनाउने र घुमफिरमा रमाउने नेताहरूको प्रवृत्ति पार्टीमा आत्मघाती कदमका रूपमा देखापरेको पनि बताएका छन् । नेकपाले प्रवक्ता खडकबहादुर विश्वकर्माको नेतृत्वमा केन्द्रीय अर्थ विभाग बनाए पनि विभागभित्रै अराजकता देखिएको छ ।
प्रतिक्रिया