‘वरिष्ठ’हरू भौँतारिएपछि ‘बलिष्ट’को साथ देउवातिर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२९ पटक हेरिएको
Shares
‘वरिष्ठ’हरू भौँतारिएपछि ‘बलिष्ट’को साथ देउवातिर !

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेपाली कांग्रेका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई चुनौती दिने तत्परता लिएपछि देउवाले ‘चम्किएका’ केही युवा नेताहरूलाई काबुमा लिएर सिंहसँग भिड्ने तयारी गरेका छन् ।
  • प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी तेइस (२३) सांसदमध्ये प्रकाशमानले मात्र संसदीय दलको नेतामा चुनाव लड्ने सार्वजनिक घोषणा गरेका छन् ।

काठमाडौं, ११ माघ । नेपाली कांग्रेका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई चुनौती दिने तत्परता लिएपछि देउवाले ‘चम्किएका’ केही युवा नेताहरूलाई काबुमा लिएर सिंहसँग भिड्ने तयारी गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी तेइस (२३) सांसदमध्ये प्रकाशमानले मात्र संसदीय दलको नेतामा चुनाव लड्ने सार्वजनिक घोषणा गरेका छन् । यस्तैप्रकारको अठोट महामन्त्री शशाङ्क कोइरालाबाट जाहेर हुन सक्ने आशा आम कांग्रेस कार्यकर्ताले गरेका थिए ।

तर, कोइराला देउवालाई अप्ठ्यारो पर्ने कुनै कदम चाल्ने स्थितिमा नरहेको बुझिन्छ । संसदीय दलको नेता दाबी गर्न सक्ने हैसियतका अन्य नेताहरू रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला निर्वाचनमा पराजित भएका कारण संसदीय दलमा देउवालाई चुनौती दिन सक्ने नेताहरूको अभाव खट्किएको बेला प्रकाशमान सिंहले दलको नेतामा देउवासँग भिड्ने तत्परता लिएका हुन् ।

निर्वाचनमा महापराजयपछि चौतर्फी आलोचनाको केन्द्रबिन्दु बनेका शेरबहादुर देउवाले पार्टीको पराजयका निम्ति आफू मात्र नभई सबै नेता उत्तिकै जिम्मेवार रहेको बताउँदै आएका छन् । केही युवावयका नेताले देउवामाथि ‘नैतिकता’को दबाब दिन संगठित प्रयास गरेपछि देउवाले युवाहरूलाई काबुमा लिन गरेको प्रयासमा उनी धेरै हदसम्म सफल हुन पुगेका छन् । देउवालाई विस्थापित गरेपछि को नेता बन्ने भन्ने प्रश्नको जवाफ नभेटेर वरिष्ठ नेताहरू अलमलिएका बेला ‘बलिष्ट’ नेताहरूलाई समेत काबुमा राख्ने सफलता पाएपछि देउवा आगामी महाधिवेशनसम्म सभापति र संसदीय दलको नेतासमेत रहने सम्भावना बढेको छ ।

यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान प्रतिकूल गठन भएको संसदीय बोर्ड र कार्यसम्पादन समितिको विघटनलाई मुख्य मुद्दा बनाएर देउवालाई रक्षात्मक बनाउन गरेको प्रयास पनि निरर्थक हुने देखिएको छ । गत निर्वाचनमा कांग्रेस पराजित हुनुको कारण ‘विधान प्रतिकूल संसदीय बोर्ड र कार्य सम्पादन समिति गठन हुनुलाई’ मानिएको छैन । पौडेलको ‘मुद्दा’लाई मूल विषयबाट कार्यकर्ताको ध्यान हटाउन गरिएको प्रलापका रूपमा लिइएको छ ।

निर्वाचनलगत्तै आफूविरुद्धको गतिविधिमा ‘वरिष्ठ’भन्दा ‘बलिष्ट’ नेताहरू ज्यादा सक्रिय भएको पाएपछि देउवाले लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी सुम्पिएर जुर्मुराउँदै गरेको युवा पुस्तालाई ‘न्युट्रलाइज्ड’ गरेका छन् । अर्का लोकप्रिय युवा नेता बद्री पाण्डेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णयले पनि असन्तुष्ट युवाहरूलाई नै प्रभावित गरेको छ । अन्य युवा नेताहरूलाई पनि विभिन्न आश्वासन दिएर देउवाले मत्थर तुल्याएको बुझिन्छ ।

कोइरालाहरू देउवापछाडि पार्टीको नेतृत्व आफूमा आउनुपर्ने सोच राख्दछन् । त्यसैले रामचन्द्र पौडेल या प्रकाशमान सिंहहरूले लिने कुनै पनि प्रकारको तत्परतामा कोइरालाहरूको हार्दिक सहयोग हुने स्थिति छैन । अर्कोतिर देउवाले आफूपछिको नेता बनाइने आश्वासन डा. शशाङ्क कोइरालालाई दिएको बताइन्छ । केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गर्न सफल नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने स्पष्ट सङ्केत दिइसकेका छन् । त्यसैले पनि रामचन्द्र पौडेल र प्रकाशमान सिंहहरूद्वारा चालिने कमदप्रति कोइरालाहरूको साथ–सहयोग नरहने वा देखावटीका निम्ति मात्रै रहने देखिएको छ ।

देउवासँग असहमत नेताहरू ‘एक’ नभएकोले प्रकाशमान सिंहले देउवालाई दिने चुनौती सार्थक नहुने सम्भावना छ । प्रतिनिधिसभाका २३ सदस्यमध्ये बहुसंख्यक (कम्तीमा १४) सांसदको साथ प्रकाशमानलाई हुने स्थिति भए पनि समानुपातिकतर्फका सांसदको ठूलो संख्या देउवाकै पक्षमा जाने देखिन्छ । समानुपातिकतर्फ कम्तीमा २५ र प्रत्यक्षतर्फको कम्तीमा नौ गरी जम्मा ३४ भन्दा बढी मत लिएर संसदीय दलमा देउवा विजयी बन्न सक्ने अवस्था छ । दलको नेता बन्न कम्तीमा ३२ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

देउवालाई पराजित गर्न नसकिने देखिएमा कतिपय सांसदहरू देउवालाई साथ दिएर ‘क्रेडिट’ लिन अग्रसर हुने सम्भावनालाई समेत विचार गर्दा कम्तीमा अठ्तीस मत देउवालाई प्राप्त हुने अनुमान पनि गर्न सकिन्छ । जे होस्, देउवाले पार्टीभित्र आफूविरुद्धको आक्रोश मत्थर गर्ने सफलता प्राप्त गरेका छन् । यसनिम्ति देउवाको पाँच खम्बा मानिने पत्नी आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र विमलेन्द्र निधिको खास योगदान भएको बताउन थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?