पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
सारांश
- काठमाडौं, १९ फागुन – वीरगन्ज, प्रदेश २ मा दुई ठूला मधेसकेन्द्रित दल- संघीय फोरम र राजपाको गठबन्धन सरकार बनेको छ।
- मिलेरै चुनाव लडेका भए पनि यी दुई दलबीच आपसी अविश्वास र आशंका घट्न सकेको छैन।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, १९ फागुन – वीरगन्ज, प्रदेश २ मा दुई ठूला मधेसकेन्द्रित दल- संघीय फोरम र राजपाको गठबन्धन सरकार बनेको छ। मिलेरै चुनाव लडेका भए पनि यी दुई दलबीच आपसी अविश्वास र आशंका घट्न सकेको छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
संघीय संसद्मा फोरमभन्दा राजपाको एक सिट बढी छ तर प्रदेश २ को प्रदेशसभामा भने फोरमले राजपाभन्दा चार सिट बढी जितेको छ। मधेस आन्दोलन सँगै गरे, चुनाव मिलेर लडे। अहिले प्रदेशमा पनि गठबन्धन सरकार बनेको छ तैपनि यी दुई दलबीच वर्चस्वको लडाइँ जारी छ। वर्चस्वको लडाइँमा फसेकै कारण अझै प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन।
केपी ओली नेतृत्वको संघीय सरकारमा सहभागी हुने तयारीमा रहेको उपेन्द्र यादव नेतृत्वको फोरमका नेता लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बनेका छन्। राउतलाई एमाले र माओवादी केन्द्रको समेत समर्थन छ। दुई वामपन्थी दलको प्रदेशसभामा ३१ सिट छ जबकि राजपाको २५ सिट मात्रै छ। यसै त दुई वर्षसम्मका लागि अकन्टक मुख्यमन्त्री भइसकेका राउतलाई वाम गठबन्धनको समर्थनले झन् बलियो बनाइदिएको छ।
फोरमसँग आफू मात्र मिलेर प्रदेश २ को सत्तामा रजाइँ गर्ने दाउमा रहेको राजपा भने विस्तारै निरीह देखिएको छ। यसअघि फोरम एक्लै संघीय सरकारमा गए प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्तासम्म लिन सक्ने धम्की दिएको राजपा शिर झुकाएर होलीलगत्तै विस्तार हुने सरकारमा मन्त्री पठाउने बाध्यात्मक अवस्थामा पुगेको छ।
गठबन्धन र बिछोड राजनीतिक दलका लागि स्वाभाविक विषय हो तर पछिल्लो झन्डै एक वर्षदेखि गठबन्धन गरेर मधेसको राजनीतिमा सक्रिय रहेका राजपा-फोरमको सम्बन्ध जहिले पनि एकअर्काको प्रतिद्वन्द्वीका रूपमा रहेको घटनाक्रमले देखाउँछ। ‘यसअघि सरकारमा जाँदा दुवै पार्टी सामूहिक एजेन्डासहित एकअर्काललाई पूरक बनाएर अग्रसर भएनन्। विश्वासको वातावरण कतैबाट सिर्जना भएन’, तराई-मधेस राष्ट्रिय अभियानका संयोजक एवं पूर्वमन्त्री जयप्रकाश गुप्ता भन्छन्, ‘अहिले पनि त्यसैको पुनरावृत्ति भएको हो।’
प्रतिक्रिया