विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता
सारांश
- प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् ।
- शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) पनि सञ्चालनमा ल्याइएको छ ।
- मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीमै शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) पनि सञ्चालनमा ल्याइएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीमै शिलान्यास गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ओली–मोदी दुई चरणमा वार्ता
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदराबाद हाउसमा दुई चरणमा वार्ता भएको छ । रेस्टिक्टेड र औपचारिक वार्तामा आर्थिक विकासका मुद्दामा एक घन्टा खुला छलफल भयो ।
विभिन्न समयदेखि सम्झौता भएका, तर कार्यान्वयनमा नआएका पञ्चेश्वरदेखि नयाँ हवाई रुट, पूर्वाधार विकासका परियोजना समयबद्ध कार्यान्वयनमा भारतले सहमति जनाएको छ । वार्तामा मोदीले भने, ‘म नेपालको विकासमा गम्भीर छु, नेपालको विकासको विश्वसनीय साझेदार बन्न भारत चाहन्छ ।’
औपचारिक वार्ताको सुरुमा प्रधानमन्त्री ओलीले भने, ‘हामीले राजनीतिक रूपान्तरण सम्पन्न गरेका छौँ, अब आर्थिक विकासमा प्रवेश गरेका छौँ । आर्थिक विकास र समृद्धि चाहन्छौँ, यसका लागि हामी सहयोग चाहन्छौँ ।’
प्रधानमन्त्री ओलीले सहमति वा साझेदारीभन्दा विश्वास मजबुत पार्ने विषय महत्वपूर्ण भएको भन्दै त्यसका लागि आफू भारत आएको स्पष्ट पारे । ‘हामी तनावरहित मुडमा थियौँ, जे–जे गर्ने हो ठोस रूपमा गरौँ र समयबद्ध रूपमा गरौँ भन्ने कुरा राख्यौँ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार साँझ नयाँ पत्रिकासँग भने, ‘यसपटक उही कुरा नराखौँ भनेर संयुक्त वक्तव्य पनि छोटो बनायौँ ।’ भारतले रेस्पोन्सको तत्परता देखाएको ज्ञवालीको भनाइ थियो ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक परिस्थितिबारे धेरै चर्चा गरेनन् । तीनै तहको निर्वाचन सम्पन्न भएकोमा बधाई दिए र ओली नेतृत्वको सरकारसँग मिलेर काम गर्ने वचनबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले त्यसका लागि धन्यवाद दिए ।
प्रतिक्रिया