विप्लवको एउटा पत्र, जसले तोड्यो मसाल र नेकपाबीचको कार्यगत एकता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विप्लवको एउटा पत्र, जसले तोड्यो मसाल र नेकपाबीचको कार्यगत एकता

सारांश

  • काठमाडा, २१ जेठ ।
  • नेकपाले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीलाई अध्यक्ष पदबाट राजीनामा गर्न र नगरेमा जनकारवाही गर्ने चेतावनी दिएपछि मसाल र नेकपाबीचको कार्यगत एकता र भेटघाटको नीति नै टुंगिएको छ ।
  • महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी मसालनिकट राष्ट्रिय जनमोर्चाबाट विजयी अध्यक्ष जीसीमाथि कारवाहीको चेतावनी नै आएपछि उनीहरुसँगको भेटघाट र कार्यगत एकता नगर्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।

काठमाडा, २१ जेठ । नेकपाले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीलाई अध्यक्ष पदबाट राजीनामा गर्न र नगरेमा जनकारवाही गर्ने चेतावनी दिएपछि मसाल र नेकपाबीचको कार्यगत एकता र भेटघाटको नीति नै टुंगिएको छ । महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी मसालनिकट राष्ट्रिय जनमोर्चाबाट विजयी अध्यक्ष जीसीमाथि कारवाहीको चेतावनी नै आएपछि उनीहरुसँगको भेटघाट र कार्यगत एकता नगर्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।

महामन्त्री सिंहको विज्ञप्तिको पूर्णपाठ

“का. विप्लबको नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले यही २०७५ जेष्ठ ७ गते झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीलाई पठाएको पत्रप्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो पत्रमा झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन अल्टिमेटम दिँदै त्यसो नगरेमा जनकारवाही समेत गर्ने चेतावनी दिइएको छ ।

यहाँ हामीले यो स्पष्ट गर्न चाहन्छौं कि झिम्रुक गाउँपालिकाको चुनावमा तिलक जीसी ने.क.पा. (मसाल)को नजिकको राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो र विजयी बन्नु भएको थियो । अहिले नेकपाले तिलक जीसीलाई दिएको धम्की र चेतावनीलाई ने.क.पा. (मसाल)ले गम्भीर रुपमा लिन्छ र त्यसको कडा शब्दमा भ्रत्सना गर्दछ ।

नेकपा समेतसित हाम्रो पार्टीले पार्टी एकताका लागि छलफल चलाउने र तात्कालिक रुपमा सहमति भएका विषयहरुमा कार्यगत एकता समेत गर्ने निर्णय गरेको थियो । तर गत जेठ ४ गतेको एउटा संयुक्त कार्यक्रममा परस्परमा सहमति भएका विषयहरुमा मात्र आफ्ना विचारहरु लैजाने भन्ने सहमति भएकोमा उनीहरुले त्यो सहमति वा आचारसंहितालाई उल्लंघन गरेकोले हामीले उनीहरु समेतसित त्यस प्रकारको कार्यगत एकता वा औपचारिक भेटघाट समेतलाई स्थगित गरेका थियौं । तर गत जेठ १५ गते उनीहरु समेतसित बसेको अनौपचारिक बैठकमा हामीले ४ गते उनीहरुले आचारसंहिताको उल्लंघन गरेको विषयमा समेत पुनरावलोकन गरेका थियौं । त्यो बैठकमा का. विप्लवको नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरु सञ्चालन गरेको हुनाले र हाम्रो पक्षका कतिपय गाउँपालिकाहरुमा समेत कारवाही गर्ने धम्की दिने गरेकाले उनीहरुसित कार्यगत एकतामा समस्या पैदा भएको कुरा पनि बताएका थियौं । उनीहरुसित पुनः बैठक गरेर उक्त विषयहरुमा समझदारी बनाउने ठेगान भएको थियो । अहिले उनीहरुले झिम्रुक गाउँपालिकाका अध्यक्षलाई चेतावनी दिएर पठाएको पत्र नै प्राप्त भएको हुनाले हामीले नेकपासित कुनै भेटघाट नगर्ने र उनीहरुसित कुनै कार्यगत एकता पनि नगर्ने निर्णय गरेका छौं । तर अन्य पक्षहरु नेकपा (माओवादी क्रान्तिकारी) र का. ऋषि कट्टेलको नेतृत्वको नेकपासित भेटघाट वा कार्यगत एकता समेतबारे छलफलका लागि हाम्रो ढोका खुला रहने छ ।

माथि उल्लिखित झिम्रुक गाउँपालिकाका अध्यक्षलाई पठाएको पत्रमा लेखिएको छ “तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा तपाईको राजीनामा माग गर्दछौं । यद्यपि राजीनामा नदिएमा तपाईलाई जनकारवाही गर्ने चेतावनी दिन चाहन्छौं ।” प्रथमतः राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रतिनिधिलाई “तपाई पनि दलाल सत्ताको कथित प्रतिनिधि पठाइएको हुँदा” भन्ने भनाईलाई हामीले पूरै गलत मान्दछौं र तीब्र शब्दमा त्यसको विरोध गर्दछौं । त्यसका साथै हाम्रा कुनै प्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिनका लागि हामीले उनीहरुलाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने समेत चेतावनी दिन्छौं ।

नेकपाले स्थानीय तहका सन्दर्भमा जुन विचार अगाडि ल्याएको छ, त्यसको सन्दर्भमा हामीले यो स्पष्ट गर्न चाहन्छौं कि वर्तमान व्यवस्था अन्तर्गतको संघीय व्यवस्थालाई हामीले विरोध गर्दछौं । संघीय व्यवस्थाको प्रधान पक्ष संघीय संरचना हो । त्यसकारण त्यो खारेज हुनुपर्दछ भन्ने हाम्रो माग रहँदै आएको छ, तैपनि तात्कालिक रुपमा त्यसलाई उपयोग गर्ने पनि हाम्रो नीति रहेको छ । संघीयताका ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्दछ भन्ने हाम्रो माग रहँदै आएको छ । स्थानीय तह प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय तहका महत्वपूर्ण अंगहरु हुन् । त्यसकारण हामीले तिनीहरुलाई अरु अधिकारसम्पन्न र सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं । त्यसकारण नेकपाको स्थानीय तहका जनप्रतिनिधिहरुलाई खारेज गर्ने नीतिसित हाम्रो मौलिक विरोध रहेको कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । त्यसका साथै उनीहरुमाथि गरिने कुनै पनि प्रकारको जोरजर्वजस्ती वा बलप्रयोगको कारवाही हामीलाई सह्य हुने छैन । हाम्रो पार्टीको सबै प्रतिक्रियावादी र विभिन्न दक्षिणपन्थी वा उग्र“वामपन्थी”हरुका दमन, हत्या, गुण्डागर्दी, आतंक समेतका विरुद्ध सम्झौताहीन प्रकारले संघर्ष गर्दै आएको गौरवपूर्ण इतिहास छ । त्यस प्रकारको पृष्ठभूमिमा नेकपासित सम्बन्धित जनपरिषद्ले दिएको कुनै धम्कीका अगाडि हामीले कुनै आत्मसमर्पण नगर्ने र उनीहरुले त्यस प्रकारको कुनै कारवाही गर्ने प्रयत्न गरेमा त्यसको दृढतापूर्वक सामना गर्ने कुराको पनि हामीले घोषणा गर्न चाहन्छौं ।

नेकपाको जनपरिषद्ले झिम्रुक गाउँपालिकालाई पठाएको पत्रमा उनीहरुका नेता कार्यकर्तालाई गिरफ्तार, वारेन्ट जारी गर्दै राज्य आतंक फैलाएको कुराको उल्लेख गरिएको छ । त्यस सन्दर्भमा हामीले दुईवटा कुराहरु स्पष्ट गर्न चाहन्छौं । प्रथम, राज्यले कुनै पनि पार्टीका नेता वा कार्यकर्ताहरुलाई शान्तिपूर्ण कारवाहीका सिलसिलामा गिरफ्तार गर्ने वा वारेन्ट गरेमा हामीले त्यसको विरोध गर्दै आएका छौं र नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पनि शान्तिपूर्ण कार्यक्रमहरुका सिलसिलामा गिरफ्तार गर्ने वा वारेन्ट गर्ने काम गरिएमा त्यसको विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ । द्वितीय, राज्यले आतंक मच्चाएको नाममा उनीहरुले (नेकपाले) पुनः कुनै पनि प्रकारले आतंक मच्चाउने नीति अपनाएमा त्यसको पनि हामीले कडा शब्दमा विरोध वा भ्रत्सना गर्ने हाम्रो नीति हुनेछ र उनीहरुसित आफ्ना त्यस प्रकारका सबै गतिविधिहरुलाई बन्द गर्नका लागि मैत्रीपूर्ण अनुरोध गर्दछौं ।

………………..
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?