वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
सारांश
- प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ ।
- राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो ।
- तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो ।
तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सहमति जुट्न नसकेका विषयमा छलफल गर्न आज(मंगलबार) एकता संयोजन समितिको बैठक बस्दै छ । ‘बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरिसकेपछि आवश्यक विषयमा कार्यदल सदस्यसहितको उपस्थितिमा छलफल हुन्छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास गर्छौं, टुंगिएन भने छलफल हुँदै जान्छ ।’
एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ । ‘तीनवटै विषय धेरै महत्वपूर्ण छन्, आपसमा जेलिएका पनि छन्, त्यसैले पार्टी एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन बुझाइने निर्णय भएको छ,’ संगठन तथा विधानसम्बन्धी कार्यदलका सदस्य बेदुराम भुसालले भने । कार्यदलका संयोजक रामबहादुर थापाले कार्यदलबाट सम्भव नहुने भन्दै टुंगिन बाँकी तीनवटै विषय राखेर प्रतिवेदन बुझाउँदा उपयुक्त हुने प्रस्ताव गरेका थिए । थापाको प्रस्तावप्रति एमाले महासचिव ईश्वर पोखरेलले पनि सहमति जनाएका छन् ।
वैशाख ९ मा एकता घोषणासभा
एमाले उपाध्यक्ष वामदेव गौतमले ९ वैशाख ०७५ मा (२२ अप्रिल)मा दुई पार्टीबीच एकता घोषणासभा गर्ने तयारी भइरहेको बताए । ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास हुन्छ, टुंगिएन भने छलफल हुँदै जान्छ, तर ९ वैशाखमा दुवै पार्टी एक भएको घोषणा हुनेछ,’ गौतमले भने ।
प्रतिक्रिया