शिवराजको सडक विजयनगरले बनायो
सारांश
- माधव बेल्वासे कपिलवस्तु, २२ साउन ।
- कपिलवस्तुको शिवराज नगरपालिकामा अलपत्र परेको सडक छिमेकी स्थानीय तह विजयनगर गाउँपालिकाले मर्मत गरेको छ ।
- शिवराज नगरपालिका र विजयनगर गाउँपालिका जोड्ने हल्लानगरको बाटोमा महिनौ बित्दा समेत डाइभर्सन निर्माण हुन नसक्दा हजारौं सर्वसाधारण जनताले आवत जावतमा निकै समस्या बेहोदै आएका थिए ।
माधव बेल्वासे
कपिलवस्तु, २२ साउन । कपिलवस्तुको शिवराज नगरपालिकामा अलपत्र परेको सडक छिमेकी स्थानीय तह विजयनगर गाउँपालिकाले मर्मत गरेको छ । शिवराज नगरपालिका र विजयनगर गाउँपालिका जोड्ने हल्लानगरको बाटोमा महिनौ बित्दा समेत डाइभर्सन निर्माण हुन नसक्दा हजारौं सर्वसाधारण जनताले आवत जावतमा निकै समस्या बेहोदै आएका थिए ।
विजयनगर गाउँपालिकाको व्यापारिक केन्द्रको रुपमा रहेको शिवराज नगरपालिकाको चन्द्रौटा बजारसँग जोड्ने सडक समयमा नै निर्माण कार्य ठेकेदारले सम्पन्न गर्न नसक्दा स्थानीयहरुले समस्या झेल्नु परेको थियो । डाइभर्सन समयमा नै निर्माण नहुँदा स्थानीयलाई परेको समस्या कयौंपटक गुनासो गर्दा समेत नगरपालिकाले कुनै सुनुवाई नगरेको हल्लानगरका स्थानीय सन्तोष खड्काले बताए ।
नगरपालिकाले ठेकेदारलाई निर्माणको जिम्मा दिएको तर ठेकेदारको चरम लापरवाहीको कारणले आवतजावत गर्ने हजारौं यात्रुले दैनिक समस्या झेल्नु परेको खड्काले बताए । गाउँपालिकाले सो सडकमा माटो पटान गरिदिएपछि स्थानीय जनता खुसी भएका छन् । दैनिकरुपमा ज्याला गर्ने मजदुर, विद्यार्थीदेखि व्यापारीसम्मका लागि यो बाटो अत्यन्तै महत्वपूर्ण भए पनि निर्माण कार्य समयमा नै सकाउनेतर्फ सम्बन्धित निकाय अग्रसर नभएको स्थानीयको आरोप छ ।
बर्षा सुरु भएसँगै आवतजावतमा निकै कष्ट भएको हुदाँ आवत जावतमा समस्या झेल्नु परेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । स्थानीयहरुको गुनासोे मध्यनजर गरेर डाइभर्सन निर्माणमा पूरा नभएको माटो पटानको काम गरी आवतजावत सुचारु गराएको थापाले बताए । गाउँपालिकाका जनताले समस्या भोग्नु परेको गुनासो आएपछि विगत दुई दिनदेखि निर्माण कार्यमा खटेर बाटो सुचारु गराएको गाउँपालिकाबाट सो बाटो निर्माण कार्यको नेतृत्व गरिरहेका अर्जुन बेल्वासेले बताए ।
निर्माणाधीन पुल शिवराज नगरपालिकाभित्रै पर्ने भए पनि पुल निर्माण ठेकेदारको बेवास्ताका कारण आवतजावतमा समस्या भएको बताइएको छ । विजयनगर गाउँपालिकाबाट पूर्व पश्चिम राजमार्ग जोड्ने मुख्य सडक भएको हुँदा गाउँपालिकाका स्थानीयहरुलाई समस्या भएको थियो ।
प्रतिक्रिया