श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
सारांश
- अछाम।
- मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ।
- यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ।
अछाम। मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ। यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ।
कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे। त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उनको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ। आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन्।
होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गरेकी हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गरेका छैनन्, व्यवसायमार्फत जीवनलाई नै कायापलट गरेका छन्।
विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ। यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन्।
अभाव, दबाब र सामाजिक अपहेलना सँंगै २२ वर्ष अघिदेखि सामान्य रुपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमान्सँग लड्दाका कठिन क्षणहरु सम्झँदै हरिकलाले भनिन्– “पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन। श्रीमान्ले पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो। मैले ठूलो दुःख झेलेकी छु।”
मदिराको लतमा लागेर बिग्रिएका श्रीमान्लाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताइन्। अहिले श्रीमान्ले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ।
उनले भनिन्– “श्रीमान्ले रक्सि छाडेपछि धेरै रामो भयो। रक्सि छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको।” नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ।
श्रीमान्ले साथ नपाएकी र गाउँ समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भनिन्– “मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छु। आठ वर्षदेखि श्रीमान्ले पनि रक्सि छोडेर मलाई डटेर साथ दिनुभएपछि झनै हौसला बढेको छ।”
श्रीमान्ले रक्सि खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमान्को व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुपर्यो। हिजो खिसिटिउँरी गर्नेहरु भने आज उहाँका प्रशंसक भएका छन्।
उनले भनिन्– “मेरो सङ्घर्षको कथा म जस्तै पीडित हुनेहरुलाई पनि भनिरहेकी छुं, महिलाहरुले पनि समाजलाई राम्रो बनाउन सक्छन् भनेर। हिम्मत नहारी निरन्तर सङ्घर्ष गर्याैं भने अवश्य सफल भइन्छ।” अरु महिलालाई पनि सकारात्मक भएर अघि बढ्न र आफ्नो लक्ष्यबाट नडगमगाउन उनी सुझाव दिन्छिन्।
उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रुपमा दरो साथ दिइरहेका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सि शिशीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मान्दैनन्। आठ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद तीन वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बनेका छन्। उनी भन्छन् – “मैले मदिरा छोडेको आठ वर्ष भइसक्यो । अहिले पसलमा कुनै ग्राहकले रक्सिको बिर्को खोलिदिनुस् भन्दा पनि खोल्न सक्दिनँ भन्छु। नखाने मान्छेलाई बिर्को समेत खोल्न मन लाग्दो रहेनछ।”
अभाव र सङ्गतका कारण मान्छे कुलतमा फस्ने गरेको उनको भनाइ छ। आफ्नो नराम्रो बानीबारे उनले भने– “पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै। तर मदिरा छोडेर काम गर्दा अहिले जमीन आकाशको फरक पाएँ। मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ। समाजको पनि अगुवा जस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे।”
पहिले मदिराका पारखी गोरप्रसाद अहिले भने यसले कसैलाई पनि फाइदा नगर्ने बताइरहेका छन्। जाँड रक्सि खाने लत बसेकाहरुलाई पनि छाड्न सुझाव दिन्छन् र भन्छन्– “रक्सि छोड्नु भनेको त केही पनि रहेनछ। हजूरले आज खानुभएन, भोलि खानुभएन । हुँदाहुँदा एक महिना खानुभएन, वर्षदिनसम्म खानुभएन भने यो आफै छुट्दो रै’छ त।”
छोराछोरीको पढाइलेखाइ मात्रै नभई होटल र डेरीमा अन्य चार जनालाई भण्डारी दम्पतीले रोजगारी समेत दिएको छ। उनीहरुलाई १५ देखि १८ हजार रुपैयाँसम्म मासिक तलब दिइरहेको गोरप्रसादको भनाइ छ।
चार सन्तानमध्ये एक छोरी अनमी पढेर जागीर गर्छन् भने एक छोरी स्टाफ नर्स पढिरहेकी छन्। छोरा बिएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने कान्छी छोरी पनि काठमाडौँमा बोर्डिङ स्कूल पढिरहेकी छन्। छोराछोरीको पढाइ खर्च मासिक दुई लाख रुपैयाँसम्म आउने गरेको पनि उनले बताए।
मदिराले स्वास्थ्य बिगार्नाका साथै धन नाश गर्छ। त्यसमाथि सामाजिक रुपमा बहिष्कृत र लज्जित हुनुपर्ने त छँदै छ। महिला हिंसा र घरेलु हिंंसाको प्रमुख कारकका रुपमा रहेको मदिरालाई त्याग्दा नै जीवनमा सफलता र खुशी मिल्छ भन्ने शिक्षा हरिकलाको सङ्घर्षबाट सिक्न सकिन्छ। रासस
प्रतिक्रिया