संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
सारांश
- काठमाडौं, २१ साउन।
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ ।
- प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाए ।
काठमाडौं, २१ साउन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाए ।
कार्कीले भने, ‘दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उनको नाम सिफारिश गर्ने प्रधानमन्त्रीको हैसियत के हुने ? विनाप्रमाण आग्रह र पूर्वाग्रहका आधारमा गरिएको निर्णय गलत छ, यसलाई अवैध घोषणा गर्दछौँ, निर्णय मान्दैनौँ ।’ उनले समितिको पछिल्लो निर्णयले न्यायिक स्वतन्त्रता नमानेको देखाएको उल्लेख गर्दै यसबाट संविधान कार्यान्वयनमै चुनौती आउने धारणा राखेका थिए ।बैठकमा कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले ‘लोकतन्त्रको रक्षक न्यायपालिकामाथि हस्तक्षेप भएको’ विषय छलफलमा ल्याइँदा कसरी नियम पालनसम्बन्धी प्रश्न उठ्यो भनी प्रश्न गरेका थिए ।
उनले भने, ‘शक्तिपृथक्कीरणको सिद्धान्तको पालनाका आधारमा अघि बढ्नुपर्छ भन्दा आपत्ति गर्नुपर्ने कुरा कुन नियममा छ, प्रतिपक्षले जनताको कुरा किन सदनमा उठाउन नपाइने ? प्रतिपक्षले ससदीय सुनुवाइ समितिसम्बन्धमा उठाएको विषयलाई गम्भीरतापूर्वक लिनुस् ।’कांग्रेसका सांसदको उक्त भनाइको प्रतिवाद गर्दै सत्तापक्षका विरोध खतिवडाले प्रतिपक्षको भूमिका उच्छृङ्खलतातिर उन्मुख भएको बताए । ‘लोकतन्त्रमा दुई तिहाइलाई एक तिहाइले नियन्त्रण गर्न मिल्छ कि मिल्दैन, यदि नियन्त्रण गर्न खोज्ने हो भने हामी त्यसलाई प्रतिवाद गर्न तयार छौँ ।’
नेकपाकै हृदयेश त्रिपाठीले समितिको निर्णयलाई चुनौती दिने अधिकार र छुट कसैलाई पनि छैन भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘यदि सुनुवाइ समितिको विषयलाई सदनमा छलफल गर्न प्रतिपक्ष तयार छ भने हामी पनि प्रतिवाद गर्न तयार छाैँ । समितिको निर्णय संसद्मा छलफलमा ल्याउन मिल्दैन ।’
प्रतिक्रिया