सगरमाथा आरोहण अनुमति सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सगरमाथा आरोहण अनुमति सुरु

सारांश

  • काठमाडौँ ।
  • यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।
  • पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको हो ।

काठमाडौँ । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले वसन्तकालीन यामका लागि सगरमाथा आरोहण गर्न आज पहिलो आरोहण अनुमति जारी गरिएको बताए । उनका अनुसार आरोहण अनुमति लिनेमध्ये १० पुरुष र पाँच महिला छन् । उनीहरू अष्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, अमेरिकाका नागरिक हुन् ।

सगरमाथाको एकसहित आजसम्म अन्य विभिन्न हिमाल आरोहणका लागि १० आरोही समूहले अनुमति लिएको विभागका निर्देशक खतिवडाले जानकारी दिए । विभागका अनुसार वसन्तकालीन याममा विभिन्न हिमालका लागि धमाधम आरोहण अनुमति जारी भइरहेको छ । सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएका छन् ।

आरोहीहरूले सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३६ पुरुष र १७ महिला छन् । यो वर्षको वसन्तकालीन यामका लागि यही चैत ३ देखि आरोहण अनुमति दिन सुरु गरिएको थियो । वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण सुरु हुन्छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो सिजनमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अहिले आरोहण अनुमति लिएर आरोही गन्तव्यतिर निस्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?