सडकका खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका !
सारांश
- नेपालगञ्ज, १५ भदौ ।
- तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ ।
- सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो ।
नेपालगञ्ज, १५ भदौ । तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ । सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । “खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको काम शुरु गरेका हौँ”, कार्यवाहक नगर प्रमुख प्रमोद रिजालले बताए।
एशियाली विकास बैंकको ऋण सहयोगमा सडक डिभिजन कार्यालयमार्पmत चार लेनको सो सडक निर्माण गरिएको हो । पप्पु निर्माण कम्पनीले बनाएको यो सडक शुरुवाती चरणमै कमसल खालको बनाएको भन्दै स्थानीय राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका थिए । कुल ६ किलोमिटर लम्बाइको यो सडकको कैयौँ स्थानमा खाल्डाखुल्डी परेको छ । वर्षातमा परेको पानी सडकबाट नालामा झर्दैन । हस्तान्तरण नहुँदै अरू निकायले निर्माण गर्न नपाउने नियम छ ।
सडकको खाल्डाखुल्डी पुर्न पटकपटक निर्माण कम्पनीलाई भने पनि सुनुवाइ नभएपछि ठेकेदारबाट असुलउपर हुने गरी उपमहानगरपालिकाले मर्मतको काम शुरु गरेको कार्यवाहक नगर प्रमुख रिजालले बताए । निर्माण कम्पनीले समयावधि बितिसक्दा पनि सङ्घीय सरकारलाई सडक हस्तान्तरण नगर्दा स्थानीय सरकारले सडक मर्मत गर्नुपरेको छ । हस्तान्तरण नगर्दै सडक जीर्ण बन्दै गएका कारण नेपालगञ्ज उपमहानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने अभियान नै चलाएको हो । नगरपालिकाको अभियानमा नागरिकले पनि साथ दिएका छन् ।
प्रतिक्रिया