सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा, संसदमा मुडभेड हुने खतरा
सारांश
- काठमाडौं।
- राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रति देखिएको सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा तनाव हुनसक्ने देखिएको छ।
- सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटा र पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाका अभिव्यक्तिले उक्त द्वन्द्वमा घ्यू थप्ने काम गरेको छ।
काठमाडौं। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रति देखिएको सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा तनाव हुनसक्ने देखिएको छ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटा र पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाका अभिव्यक्तिले उक्त द्वन्द्वमा घ्यू थप्ने काम गरेको छ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूको जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारलाई अधिनायकवादी नै भनिए पनि उक्त विधेयक पारित गराएरै छाड्ने र सभामुख तटस्थ नबने काँग्रेसले शक्ति देखाउने भन्ने सांसद् थापाको ‘एन्टि करेन्ट’ अभिव्यक्तिले मुठभेड नै हुने आशङ्का बढाएको छ।
उक्त विधेयक आज (शुक्रबार) कै बैठक पेश गर्न शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले प्रस्तुत गर्ने गरी कार्यसूची बनाइएको छ ।
काँग्रेस संसद्का कारण केही दिनदेखि बैठक अवरुद्ध छ । कार्यसूचीमा रहेका धेरैवटा विधेयक प्रस्तुत गर्ने तालिका हटाएर मंगलबारको बैठक पनि यही विधेयकसम्बन्धी कार्यसूचीमात्र राखिएको थियो ।
सोमबार र मंगलबारको २ वटा बैठकमा विधेयक पेश गर्र्नै नसकेपछि सरकारले यसलाई आफ्नो इज्जत ठानेको छ भने प्रतिपक्षी काँग्रेसले सरकारलाई झुकाउने गतिलो अस्त्र यही मूद्दा देखेको छ ।
एक किसिमले भन्ने हो भने आफूलाई अब्बल लोकतान्त्रिक भन्ने नेकपा र काँग्रेसले आफैँ संसदीय अभ्यासको खिल्ली उडाउन थालेका छन् । संसद्को सामान्य नियमलाई पनि ध्यान दिएका छैनन्।
संसद् सचिवालयका कर्मचारीहरु विगतमा पनि मन्त्रीले बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेको बताउँछन् । तर प्रस्तुत विधेयकमाथि छलफल हुने भएकाले व्यवहारिक रुपमा जवाफ दिन मन्त्रीलाई गाह्रो पर्ने देखिन्छ ।
प्रतिनिधिसभा नियमावली, २०७५ मा मन्त्रीले विधेयक प्रस्तुत गर्ने भन्ने उल्लेख भए पनि कहाँबाट कसरी गर्ने भन्ने प्रष्ट लेखिएको छैन । कर्मचारीहरु सभामुख र सचिवालयलाई अप्ठेरो हुने वातावरण बन्ने गरी सल्लाह नदिने पक्षमा छन् ।
कांग्रेसले आफ्ना नेताहरु गिरीजाप्रसाद कोइरालाको नाममा तनहुँमा बन्दै गरेको श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाको नाममा बाँकेमा बन्दै गरेको क्यान्सर अस्पताल निर्माणको प्रक्रिया नरोक्न पनि संसदमा माग गर्दै आएको छ । यही विषयलाई पनि लिएर पटकपटक संसद् अवरोध भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया