सरकारद्वारा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा
सारांश
- काठमाडौं।
- सरकारले बेरोजगार युवालाई देश भित्रै रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेका हुन्।
काठमाडौं। सरकारले बेरोजगार युवालाई देश भित्रै रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेका हुन्। बेरोजगार युवालाई वर्षमा कम्तिमा पनि सय दिन रोजगारी दिने उद्देश्यका साथ घोषणा गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रोजगारसम्बन्धि अभियान संचालन गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको जनाए।
प्रधानमन्त्री ओलीले बेरोजगारीका कारण मुलुकमा अपराधका घटना समेत घटने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान संचालन गरिरहेको बताए। प्रधानमन्त्री ओलीले मुलुकबाट गरिवी हटाउन सरकारले विभिन्न अभियान संचालन गर्ने बताए।
प्रधानमन्त्री ओलीले मुलुकलाई शान्त, समृद्ध र सुसंस्कृत बनाउन सरकारले समाजको सबै क्षेत्रमा रोजगारको अवसर सृजना गर्ने योजना अघि सारेको दाबी गरे। जीवन विमालगायतका सामाजिक सुरक्षाको प्रबन्धबाट मुलुकमा गरिवी घटने र बेरोजगारी समस्या समाधान हुँदै जाने भएकाले सरकार यस दिशामा केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवाहरुलाई स्वदेशमै गरिखाने अवस्था सृजना गर्नका लागि सरकारले सो कार्यक्रम घोषणा गरेको बताए। उनले युवाहरुलाई काम दिएर मुलुक निर्माणको अभियानमा सरिक गराउन पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको पनि उल्लेख गरे।
‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने नारासहित सुरु गरिएको सो कार्यक्रम अन्तरगत सबैभन्दा पहिला सरकारले बेरोजगार युवाको तथ्यांक संकलन गर्नेछ। प्रत्येक तहमा नियुक्त हुने रोजगार संयोजकमार्फत् त्यसको काम अघि बढाउने सरकारको योजना छ।
सबै स्थानीय तहमा रोजगार स्थापना केन्द्र संचालन गरेपछि सो कार्यक्रमले औपचारिकता पाउने मन्त्री विष्टले बताए। मन्त्रालयका अनुसार कम्तिमा १८ वर्षदेखि ६० वर्ष नकटेका व्यक्तिलाई यो कार्यक्रममा सहभागी गराइनेछ। बेरोजगार नागरिकलाई ऊर्जा, पर्यटन, कृषि, वन तथा वातावरण र राष्ट्रिय गौरवका आयोजनाहरुमा रोजगारीको अवसर सृजना गरिनेछ।
सरकारले रोजगारी पाउन नसकेका युवाहरुलाई सय दिनको तलवको आधा अर्थात् २२ हजार ४ सय १६ रुपैयाँ उपलब्ध गराउनेछ। त्यसका लागि सरकारले एक दिनको तलव करिव ४ सय ४८ रुपैयाँ तोकेको छ। मन्त्री विष्टले सो कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले सबै स्थानीय तहमा आवश्यक संरचनाको समेत व्यवस्था गर्न लागेको जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया