सुन समातिन्छ, मालिक हराउँछन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१५१ पटक हेरिएको
Shares
सुन समातिन्छ, मालिक हराउँछन्

सारांश

  • विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ।
  • रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको बालाजु वृत्तले शनिबार बरामद गरेको हो।
  • पुस १३ गते पनि महानगरीय अपराध महाशाखाले रसुवाको केरुङ हुँदै काठमाडौं भित्र्याउन आँटेको ७ किलो सुन थानकोटबाट बरामद गरेको थियो।

विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ। रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको बालाजु वृत्तले शनिबार बरामद गरेको हो।

पुस १३ गते पनि महानगरीय अपराध महाशाखाले रसुवाको केरुङ हुँदै काठमाडौं भित्र्याउन आँटेको ७ किलो सुन थानकोटबाट बरामद गरेको थियो। सुन तस्करीका यी तीनै घटनामा एउटै समानता देखिन्छ। त्यो हो, भरिया पक्राउ पर्छन्, सुनका मालिक पत्ता लाग्दैनन्। विमानस्थल बाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड छ भने शनिबार बरामद सुनको करिब ७ करोड २ लाख र पुस १३ मा बरामद सुनको ३ करोड १७ लाख २६ हजार रुपैयाँ छ। रसुवा हुँदै काठमाडौं भित्रिएको अवैध सुन ओसारपसारमा समान प्रवृत्ति देखिन्छ। दुवैमा भाडाका गाडी प्रयोग गरिएका छन्। दुवैमा चालक मात्रै पक्राउ परेका छन् र दुवै चालकले अहिलेसम्म सुन कसका निम्ति लैजान लागिएको भन्ने बताएका छैनन्।

७ किलो सुन ओसार्न बा८च ७४२० नम्बरको हाइलक्स गाडी प्रयोग भएको थियो। जसका चालक थिए, सिन्धुपाल्चोकको लिस्तीका कुन्साल लामा। शनिबार बरामद १५ किलो सुन ओसार्न ना१ज ४९६४ नम्बरको टाटा सुमो गाडी प्रयोग भएको थियो। जसका चालक थिए, भक्तपुर सूर्यविनायकका रवीन्द्र भुजेल। विमानस्थलबाट सुन ओसार्न भने बाँकेका गोपालबहादुर शाही भरिया बनेका थिए। पुस १३ को सुन बरामद घटनालाई महाशाखाले थप अनुसन्धान निम्ति राजस्व अनुसन्धान विभागमा बुझाइसकेको छ। सुन ओसार्न प्रयोग भएको गाडी धनीका आधारमा सुन मालिक पक्रन विभागले प्रयास त थालेको छ, तर त्यसमा सफलता भने पाइसकेको छैन। राजस्व अनुसन्धान विभागले नै महाशाखालाई गाडी मालिकलाई उपस्थित गराउन भनेको थियो। तर सिन्धुपाल्चोक लिस्तीका गाडी धनी इन्द्र श्रेष्ठ अहिलेसम्म फरार छन्। महाशाखाले श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसँग पनि मद्दत मागेको छ। तर त्यसमा सफलता मिलिसकेको छैन। स्रोतका अनुसार बयानमा चालक कुन्साल लामाले आफूलाई चिनियाँ नागरिकले नै सुन दिएको दाबी गरेका थिए। महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल सुनको असली मालिक धेरै हुन सक्ने बताउँछन्। खनालले गाडी धनी श्रेष्ठको पनि सुनमा धेरथोर लगानी भएको सूचना मिलेको बताए। ‘अवैध गितिविधिमा कोही पनि उम्किन पाउँदैन। ढिलो(चाँडोको कुरा मात्रै हो,’ उनले भने।  शनिबारको घटनामा पनि सुन मालिक समात्ने प्रहरीको योजना फेल खायो। प्रहरीका अनुसार गाडी चालक रवीन्द्रसँगै केरुङबाट आएका अर्का एकलाई समात्न प्रहरीले शुक्रबार रातभर कोसिस गरेको थियो। तर प्रहरीले गाडी समात्नुअघि नै ती व्यक्ति फरार भए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्नकुमार कार्कीका अनुसार अन्य दुईबारे पनि सूचना मिलेको छ। उनले भने, ‘तिनीहरूलाई पनि समात्न प्रहरी सक्रिय छ।’ अवैध सुन बरामदका प्रत्येक घटनामा चालक मात्रै पक्राउ पर्ने र असली मालिकसम्म अनुसन्धान नै नपुग्ने भएकैले परिसरले यो घटनामा संगठित अपराध कसुर ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ। ‘अवैध सुन समात्ने, राजस्वमा बुझाउने तर मालिक पत्ता नलाग्ने समस्या नहोस् भनेर यसपालि फरक ढंगले अनुसन्धान थालिएको हो,’ कार्कीले भने। उनका अनुसार सुन तस्करीका अनेक तह हुन्छन्। एउटा तहबारे अर्को तहलाई थाहा हुँदैन। त्यस्ता सेटिङका अनेक ‘कोड’ भाषासमेत हुन्छन्। ‘यो गम्भीर संगठित अपराध हो,’ उनले भने।

सुन समात्न सक्रिय बालाजु वृत्तका डीएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको चालक बस्ने सिट पछाडि एउटा बक्स बनाएर त्यसभित्र अर्को फलामे बक्समा सुन राखिएको थियो। वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्र रहेको सुन पत्ता लगाउन पनि प्रहरीलाई घण्टौं लागेको थियो। पुस १३ मा पनि यस्तै भएको थियो। पठाउनेले सुन लगेर एकान्तकुना पुर्‍याउनु र गाडीको चाबी एक जना मान्छेलाई दिनु भनेर चालकलाई अह्राएको सूचना मात्रै प्रहरीले पाएको छ। डीएसपी तामाङले भने, ‘सुन लुकाएको बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यही गाडीले पहिले पनि यसैगरी कैयन् पटक सुन ओसारेको देखिन्छ। फलामे बक्सको वेल्डिङ निकै पुरानो छ।’ अवैध सुनका मालिक फेला नपर्ने घटना नयाँ भने होइन।

विमानस्थलको भन्सार हुँदै बाहिरिएको सुनको मालिक को हुन् भन्ने पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फरक ढंगले अनुसन्धान जारी राखेको छ। प्रहरीले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दीनबन्धु थापा र सन्तोष काफ्ले तथा काभ्रेको पनौतीबाट रामहरि कार्कीसहित अन्य एकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार रामहरि सुनका रिसिभर भए पनि मालिक होइनन्। उनीहरूको बयानका आधारमा विमानस्थलको भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थल भन्सार स्रोतका अनुसार आठ वर्षभन्दा लामो समयदेखि विमानस्थलमा कार्यरत यादव तथ्यांक अधिकृत हुन् भने प्राविधिक कर्मचारी ढकाल करारमा नियुक्त हुन्। सुन तस्करीको घटनाबारे बुझ्न पुस २७ मा बसेको संसदको अर्थ समितिले अधिकार सम्पन्न छानबिन समिति गठन गर्न आदेश दिइसकेको छ। त्यस्तै भन्सार विभागले पनि सुन पक्राउको भोलिपल्ट अर्थात् २२ गते विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
नेकपा एकता, सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी
नेकपा एकता, सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा
नेपालमा ठूला भारु नोट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु

तपाईंले छुटाउनुभयो कि?