सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
सारांश
- काठमाडौं, २६ फागुन ।
- बझाङ घर भई काठमाडौंमा रहेका रेडियो पत्रकार गोविन्द बोहराले सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
- अछामका पत्रकार खकेन्द्र नेपालीले सामाजिक सञ्जालमा सुसाइट नोट लेखी आत्महत्या गरेको हप्ता दिन नपुग्दै यस्तो घटना दोहोरिएको हो ।
काठमाडौं, २६ फागुन । बझाङ घर भई काठमाडौंमा रहेका रेडियो पत्रकार गोविन्द बोहराले सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । अछामका पत्रकार खकेन्द्र नेपालीले सामाजिक सञ्जालमा सुसाइट नोट लेखी आत्महत्या गरेको हप्ता दिन नपुग्दै यस्तो घटना दोहोरिएको हो ।
बझाङमा केही समय रेडियो सेतीमा कार्यक्रम सञ्चालक रहेका बोहरा नयाँ रेडियो स्थापना गर्ने भन्दै २ महिनाअघि काठमाडौं आएका थिए । उनी शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रसारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक बोहरा काठमाडौंबाट सञ्चालन हुने आहाखबर डटकममा पनि कार्यरत रहेको बताइएको छ । उनले शुक्रबार साँझ आफ्नो फेसबुकवालमा आमाबुवालाई सम्बोधन गर्दै “उहाँहरुको इच्छा पूरा गर्न नसकेकोमा माफी मागेर नयाँ यात्रा तय गरेको” लेखेका थिए ।
आफ्नै जिल्लाका प्रताप ओलीको डेरामा बस्दै आएका बोहरा केही दिनयता आर्थिक समस्याको कारणले तनावमा रहेको प्रतापले बताएका छन् । शुक्रबार दिउँसो १ बजेतिर कोठाबाट बेपत्ता भएका बोहराले साँझ ८ बजेतिर आफू आत्महत्या गर्न लागेको भनेर मोबाइल म्यासेज पठाएको ओलीले जानकारी दिए । बोहराका श्रीमती र २ वर्षका १ छोरा छन् ।
नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष जगदीश रोकायले मृतक बोहराले केही समय जिल्लामा रेडियोमा कार्यक्रम सञ्चालकको रुपमा काम गरेको र एफएम रेडियो सञ्चालनका लागि काठमाडौं आएको बताए । पत्रकार महासंघमा आवद्ध नभइसकेको भए तापनि उनी पछिल्लो चरणमा पत्रकारितामा ठूलो उत्साहका साथ लागिपरेको अध्यक्ष रोकायले बताए ।
प्रतिक्रिया