स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
३१ पटक हेरिएको
Shares
स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग

सारांश

  • रामपुर ।
  • पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८० / ८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
  • नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ ।

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८० / ८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ ।

आगामी आव २०८० / ८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ । उक्त कार्यक्रम पाल्पाकै नमूना भएको नगरपालिकाले जनाएको छ ।

पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आवदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए ।

“राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ”, उनले भने , “त्यस क्षेत्रमा क्रियाशील पत्रकारलाई दक्ष बनाउन स्नातकोत्तर तह पढ्नेलाई रामपुर नगरले विशेष सहयोग गर्नेछ ।”

पत्रकारिता विषय अध्ययनका लागि नगरभित्र रहेर सक्रियरूपमा पत्रकारिता गर्ने पत्रकारले विशेष सुविधा पाउनेछन् । यस कार्यक्रमले रामपुरमा क्रियाशील पत्रकारमा खुसीयाली छाएको छ । पत्रकारिता विषय लिएर अध्ययन गर्ने मन भए पनि अर्थाभावमा रहेका पत्रकारलाई यो कार्यक्रमले धेरै सुविधा पुग्नेछ ।

रामपुर नगरपालिकाभित्र हाल एफएम रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमलगायतका विभिन्न सञ्चारमाध्यममा गरी करिब ३० सञ्चारकर्मी क्रियाशिल छन् । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा पछिल्लो समय सञ्चारमाध्यमको विकास हुदै जाँदा पत्रकारितामा रुचि राख्ने सञ्चारकर्मी पनि बढ्दै गएका छन् ।

रामपुरमा बसेर राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गर्ने जनशक्ति उत्पादन भएको छ । पत्रकारिता विषय लिएर स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने पत्रकार भने अति न्यून छन् । समाजमा भएका यथार्थ घटना पत्रकारले देश तथा विदेशमा खबर पुर्याउने भएकाले राम्रो र सक्षम पत्रकार उत्पादन गर्न उनीहरूको शैक्षिक गुणस्तर विकासका लागि आगामी आवदेखि लागू हुने गरी नयाँ कार्यक्रम ल्याएको नगरका प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।

स्नातकोत्तर तहमा पत्रकारिता अध्ययन गर्नका लागि धेरै रकम लाग्ने, अर्कोतर्फ काठमाडौँमा नै गएर भर्ना भएर पढ्नुपर्दा आर्थिक भार हुने हुँदा पढ्ने रुचि भएर पनि धेरैले पढ्न नसकिरहेको अवस्था छ । नगर सरकारले विशेष सहयोग कार्यक्रम ल्याएपछि पत्रकारितामै भविष्य बोकेका पत्रकारलाई धेरै राहत मिल्ने नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका सदस्य दुर्गेश मल्लले बताए । पत्रकारिता क्षेत्रमा केही अध्ययन गरेर राम्रो गर्छु भनेर लागिरहेका छन् । कतिपय पत्रकारिता क्षेत्र नै राम्ररी नबुझीकन यो क्षेत्रमा लागेका छन् । रामपुर नगरले पत्रकारिता क्षेत्रलाई महत्व दिएर नीति तथा कार्यक्रममा समावेश गरेपछि पत्रकारिता गरिरहेका सञ्चारकर्मी उत्साहित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?