हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
सारांश
- काठमाडौं, ५ बैशाख ।
- नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिको नेतृत्वमा हिमालय टेलिभिजनमा पहिलो चरणको साङ्केतिक विरोध कार्यक्रम सुरु गरिएको छ ।
- श्रमजीवी पत्रकारको अधिकारका लागि थालिएको विरोध कार्यक्रममा आज महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले उक्त प्रतिष्ठानमा कालो ब्यानर टाँसेको छ ।
काठमाडौं, ५ बैशाख । नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिको नेतृत्वमा हिमालय टेलिभिजनमा पहिलो चरणको साङ्केतिक विरोध कार्यक्रम सुरु गरिएको छ । श्रमजीवी पत्रकारको अधिकारका लागि थालिएको विरोध कार्यक्रममा आज महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले उक्त प्रतिष्ठानमा कालो ब्यानर टाँसेको छ ।
कालो व्यानर टास्ने कार्यक्रमको नेतृत्व गर्दै महासंघका महासचिव रमेश विष्टले व्यवस्थापनले समयमै माग सुनुवाई नगरे महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने धारणा राखेका थिए ।
समितिका संयोजक रामप्रसाद दाहालले हिमालय टेलिभिजनको व्यवस्थापनले श्रमजीवी पत्रकारहरुको माग नसुनेको बताउँदै थपे, “अहिले कालो ब्यानर टाँसिएको छ । यसलाई संकेतको रुपमा व्यवस्थापन पक्षले बुझोस् । हेरौं, तालाबन्दीमै पुग्ने स्थिति आउँछ कि आउँदैन ?”
समितिका सहसंयोजक जन्मदेव जैसीको नेतृत्वमा कालो झण्डा टाँसिएको थियो । महासंघले यसअघि पटकपटक पत्राचार गर्दै श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गर्न, राजपत्रमा प्रकाशित भएअनुरुप पारिश्रमिक उपलब्ध गराउन, सबै कर्मचारी पत्रकारहरुलाई नियमअनुसार स्थायी÷अस्थायी नियुक्तिपत्र उपलब्ध गराउन र पत्रकार सन्ध्या केसीलाई ससम्मान काममा लगाउन दवाव दिँदै आएको थियो । हिमालय टेलिभिजनले त्यसलाई अटेर गरेपछि पहिलो चरणमा कालो ब्यानर टाँसिएको हो ।
सहसंयोजक जैसीका अनुसार ७ गते १ घण्टा धर्ना कार्यक्रम र ९ गते कोणसभा राखिएको छ । कोणसभापछि पहिलो चरणको कार्यक्रम सकिने र लगत्तै बैठक बसी सशक्त कार्यक्रमसहितको दोस्रो चरणको कार्यक्रम तय गरिनेछ ।
प्रतिक्रिया