१७ घण्टापछि मुग्लिङ्ग नारायणगढको सडक दुईतर्फी संचालनमा !
सारांश
- सुर्य प्रसाद अधिकारी ९ असार,चितवन ।
- चितवनको मुग्लिङ्ग नारायणगढ सडकखण्ड १७ घण्टापछि दुईतर्फी संचालनमा आएको छ।
- सो सडक खण्डको कालिखोला नजिकै गएराति खसेको पहिरो हटाएपछि आज साँझ साँढे ६ बजेबाट यातायात सञ्चालनमा आएको हो ।
सुर्य प्रसाद अधिकारी
९ असार,चितवन ।चितवनको मुग्लिङ्ग नारायणगढ सडकखण्ड १७ घण्टापछि दुईतर्फी संचालनमा आएको छ। सो सडक खण्डको कालिखोला नजिकै गएराति खसेको पहिरो हटाएपछि आज साँझ साँढे ६ बजेबाट यातायात सञ्चालनमा आएको हो । करिव १७ घण्टापछि यातायात सञ्चालनमा आएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।
राती १ बजेर ५ मिनेटको समयमा कालिखोलामा पहिरो खसेर सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । सोही पहिरोमा परेर प्रहरीको भ्यान र एउटा ट्रकलाई बगाएको थियो । ट्रक भिरमा अड्किएको भएपनि २ जना प्रहरी र भ्यान बेपत्ता छ । दुई प्रहरीको शव भने निकालिएको छ । मुग्लिनबाट करिव ३ किलोमिटर नारायणगढतर्फ कालिखोला नजिकै पहिरो खसेको थियो । त्यसअघि राती ९ बजेर ४० मिनेटको समयमा ४ किलो भन्ने स्थानमा पहिरो खसेर अबरुद्ध भएको सडक खुलाएर फर्कने क्रममा १ बजे पहिरोमा गाडी परेको थियो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिब खनालका अनुसार पहिरोले सडकको ४० मिटर क्षेत्र पुरेको थियो । एक्साभेटर, लोडर गरी ४ वटा मेसिन पहिरो पन्छाउन प्रयोग गरिएको थियो । विहानीपटक पटकपटक पहिरो खसेर उद्धार कार्यसँगै पहिरो हटाउने काम प्रभावित भएपनि दिउँसो सहज भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार सवारी जामका कारण नारायणगढतर्फ केन्द्रिय बस टर्मिनल र आँपटारी तथा मुग्लिनतर्फ कुलिनटारसम्म सवारी लाम लागेका छन् । थप हिलो नखसे सडक सहज हुन कम्तिमा ६ घण्टा लाग्ने ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त बताउनुभयो । भ्यान सहित २ प्रहरी अझै बेपत्ता राती १ बजेर ५ मिनेटको समयमा कालीखोला नजिकै माथिबाट एक्कासी पहिरो खसेर ईलाका प्रहरी कार्यालय मुग्लिङको ना.१ झ. १३९० नम्बरको भ्यान सहित दुई प्रहरीको अबस्था अझै पत्ता लागेको छैन ।
ना.५ ख. ७८२७ नम्बरको ट्रक भने भिरमा अड्किएको अबस्थामा भेटिएको छ । आज विहान धादिङ खनियाबास गाउपालिका ४ वस्ने २९ बर्षका प्रहरी सहायक निरिक्षक निश्चलकुमार तामाङ र बारा हरैया ६ वस्ने वर्ष ३० का प्रहरी जवान दिपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थाबाट निकालिएको थियो । गोर्खा मकैसिंह १ वस्ने वर्ष ३१ का प्रहरी जवान लिलबहादुर चेपाङ र तनहु रुपाकोट ३ बस्ने वर्ष २१ को प्रहरीजवान सन्दिप कार्की अझै बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। ना.५ख.७८२७ नं.को ट्रकका चालक रामकुमार लामा र सहचालक मकवानपुरका सानु ब्लोनलाई उपचारका लागि भरतपुर पठाइएको छ।
प्रतिक्रिया