जो विदेशी भूमिमा अस्ताए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • बागलुङ ।
  • भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक।
  • अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए।

बागलुङ । भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक। अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए। घर्ती जापानमा, विक कुवेतमा। विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो। एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो।

यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन्। घर्तीको घर रिघागाउँमा पर्छ भने विकको दुदिलाभाटी गौँदीमा। चालीस वर्षीय घर्ती भारतीय सेनाको जागिरबाट निवृत्त भएपछि तीन वर्षअघि जापान पुगेका थिए। शनिबार राति रेष्टुराँको कामबाट फर्कने क्रममा अचानक रेलभित्रै लडेका घर्तीको हृदयाघातका कारण निधन भएको जनाइएको छ।

साइतामा शहरको एक भारतीय रेष्टुराँमा कार्यरत घर्तीलाई अस्पताल पुर्याउँदा चिकित्सकले बाटैमा निधन भएको घोषणा गरेका थिए। “उहाँ कामबाट फर्कने क्रममा रेलमा उभिएरै यात्रा गरिरहनुभएको रहेछ”, गलकोट समाज जापानका संरक्षक सल्लाहकार बेलु थापाले टेलिफोनमा भने, “असजिलो भएपछि उहाँ एक्कासि लड्नुभएको भन्ने थाहा भयो।”

अचेत अवस्थामा रहनुभएका घर्तीलाई रेल कम्पनीकै मानिसले तुरुन्त अस्पताल पुर्याएका थिए। घर्तीको अन्तिम संस्कार यही जुलाई १२ तारिख जापानमै गरिने भएको छ। अन्तिम संस्कारका लागि आवश्यक प्रबन्ध र खर्चको जोहो गलकोट समाज जापानले गर्ने भएको छ। कानूनी प्रक्रिया पुर्याउँदा दाहसंस्कार ढिलो हुने भएको हो।

समाजले मृत्युको घटनामा परिवारको आर्थिक अवस्था हेरेर राहतसमेत उपलब्ध गराउने गरेको छ। मृतक घर्तीकी श्रीमती मनमाया जापानमै छन्। आफू गएको छ महीनापछि भविलालले श्रीमतीलाई जापान लगेका थिए। उनका १६ वर्षीय छोरा सविन र १४ वर्षीय सन्देश अहिले भैरहवामा बसेर पढ्छन्। घरमा आमा, भाइ र बहिनी बस्छन्।

“दाइ कहिल्यै बिरामी भएको थाहा थिएन, एक्कासि हृदयाघात भएर मृत्यु भएको खबर आयो”, बहिनी कुमारीले भनिन्। वडाध्यक्ष डम्मर श्रीषका अनुसार घर्ती परिवारको स्थायी बसोवास रिघा र अस्थायी बसोवास भैरहवामा छ।

यता, विकको निधनले दुदिलाभाटी गौँदीमा रहेका परिवार र आफन्तजनमा शोक छाएको छ। एघार वर्षअघि रोजगारीको सिलसिलामा कुवेत पुगेका विकको पनि हृदयाघातका कारण निधन भएको हो। विक उच्च रक्तचापका कारण एक महीनादेखि कुवेतको स्थानीय अस्पतालमा उपचाररत थिए। रक्तचापका कारण उनको टाउकोमा गम्भीर असर पुर्याएको चिकित्सकले बताएका थिए।

विक कुवेतको आम्घारास्थित ‘नुर ग्लास उद्योग’मा कार्यरत थिए। घटनाबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र शव नेपाल ल्याउने प्रक्रिया शुरु भएको जनाइएको छ। कुवेतमै रहेका गलकोट नगरपालिका–७ मल्मका दल थापाका अनुसार विकलाई कम्पनीबाट राहत दिलाउने प्रयास भइरहेको छ।

विकका नेपालमा वृद्ध बाबुआमा, श्रीमती र दुई जुम्ल्याहा छोरा छन्। कमाउन विदेश गएको छोराको उतै निधन भएपछि उमरेले ७० नाघेका बुबाआमा सहाराविहीन बनेका छन्। श्रीमती भुमा र दुई छोराको बिचल्ली भएको छ। विपन्नताका कारण विक परिवारलाई जीविका चलाउनै धौधौ छ।

“श्रीमती सामान्य खेतीकिसानी गर्नुहुन्छ, बुबाआमा वृद्ध भइसक्नुभएको छ”, गौँदीका स्थानीयवासी धना खत्रीले भनिन्, “कमाउने, घर धान्ने मान्छे नै गुमेपछि परिवारमा झन् ठूलो समस्या आइलाग्ने भयो।” विकका जुम्ल्याहा छोरा गाउँकै विद्यालयमा पढ्छन्।

पछिल्लो समय हृदयाघातका कारण अल्पायुमै निधन हुने क्रम बढ्दै गएको गलकोट समाज जापानका संस्थापकसमेत रहेका थापाको भनाइ छ। “आजभन्दा २०र२२ वर्षअघि जापानमा कामबाट फर्केपछि कोठामा आएर सुतेको मानिस भोलिपल्ट मृतावस्थामा भेटिने घटना बढी हुन्थे”, उनले भने, “तर, अहिले हृदयाघातका कारण अकस्मात हुने मृत्युका घटना बढी हुन थालेका छन्।”

उनका अनुसार पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या दर पनि बढ्दो छ। अस्वस्थकर खानपान, कामको चाप, आरामको कमी, तनाव आदि कारणले हृदयाघातलगायतका स्वास्थ्य समस्या निम्तिएको हुनसक्ने थापाको बुझाइ छ। जापानी कम्पनीमा छरछ महीनामा श्रमिकको स्वास्थ्य परीक्षण हुने गरे पनि होटल, रेष्टुराँ क्षेत्रमा त्यो सुविधा नभएको बताइन्छ।

आफूलाई के स्वास्थ्य समस्या छ भन्ने थाहै नपाई मानिस आकस्मिक मृत्युको शिकार बनिरहेको छ। विदेशमा कार्यरत नेपाली श्रमिकले नियमित स्वास्थ्य परीक्षणसँगै कामको प्रकृतिअनुसार आवश्यक सजगता अपनाउनुपर्ने देखिन्छ। जापानलगायतका देशमा रहेका नेपालीमा ऋणको बोझ र तनावले पनि स्वास्थ्यमा असर पु¥याइरहेको बताइन्छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आँकडाअनुसार आव २०६७र६८ देखि गत आवसम्ममा पाँच हजार ८३२ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो।

सन् २०१५ मा एक हजार नेपाली श्रमिकको विदेशमा मृत्यु भएकामा बागलुङका मात्र २२ युवा थिए। अधिकांश नेपालीको मृत्यु हृदयाघात र विभिन्न स्वास्थ्य समस्याका कारण हुने गरेको पाइएको छ। कार्यक्षेत्र र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या भने कम देखिन्छ।

सरकारी आँकडाअनुसार मलेशियामा सबैभन्दा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेको छ। पछिल्लो समय बोर्डले श्रम स्वीकृतिपूर्व दिइने तालीममा स्वास्थ्यसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न थालेको छ। विसं २०५० यता ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन्। रामबहादुर थापा/रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशिलकान्त चाैधरीका हत्यारा भन्छन् ‘तरकारि काट्ने चक्कुले छातिमा प्रहार गरे।’
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
मध्यरातमा नगर प्रमुखको घर परिसरमा बम विस्फोट
मध्यरातमा नगर प्रमुखको घर परिसरमा बम विस्फोट
परम्परामात्र बन्दै घुम्ती गोठ
परम्परामात्र बन्दै घुम्ती गोठ
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी