समयमै वर्षा हुँदा झापामा धान रोपाइँ तीव्र: साउनको मध्यमै ८८ प्रतिशत काम सम्पन्न

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण १२, २०८३
|
|
१४ पटक हेरिएको
Shares
समयमै वर्षा हुँदा झापामा धान रोपाइँ तीव्र: साउनको मध्यमै ८८ प्रतिशत काम सम्पन्न

सारांश

  • झापामा यस वर्ष समयमै मनसुन सक्रिय भएसँगै अन्न भण्डारका रूपमा चिनिने यस जिल्लाका किसानहरूमा उत्साह छाएको छ।
  • पर्याप्त र नियमित वर्षाका कारण सिँचाइको समस्या नभएपछि जिल्लाभरिको धान रोपाइँ अहिले अन्तिम चरणमा पुगेको हो।
  • कृषि ज्ञान केन्द्र झापाका अनुसार अनुकूल मौसमका कारण यस वर्ष रोपाइँले विगतभन्दा निकै तीव्र गति लिएको छ।

झापामा यस वर्ष समयमै मनसुन सक्रिय भएसँगै अन्न भण्डारका रूपमा चिनिने यस जिल्लाका किसानहरूमा उत्साह छाएको छ। पर्याप्त र नियमित वर्षाका कारण सिँचाइको समस्या नभएपछि जिल्लाभरिको धान रोपाइँ अहिले अन्तिम चरणमा पुगेको हो। कृषि ज्ञान केन्द्र झापाका अनुसार अनुकूल मौसमका कारण यस वर्ष रोपाइँले विगतभन्दा निकै तीव्र गति लिएको छ।

केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सोमबार सार्वजनिक गर्नुभएको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाको कुल धानखेती हुने क्षेत्रफलमध्ये करिब ८८ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको छ। यस वर्षको मनसुनले किसानलाई बेलैमा बीउ राख्न र खेत हिल्याउन ठूलो मद्दत पुर्याएकाले साउनको मध्यसम्ममा नै उल्लेख्य सफलता हासिल भएको हो।

जिल्लाका विभिन्न स्थानीय तहमध्ये दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी अर्थात् ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। अर्कातर्फ, प्राविधिक तथा भौगोलिक कारणले गौरीगञ्ज गाउँपालिकामा भने हालसम्म सबैभन्दा कम ७५ प्रतिशत मात्र रोपाइँ भएको केन्द्रको प्रतिवेदनले देखाउँछ।

सामान्यतया असारको पहिलो सातादेखि साउनको अन्तिमसम्म चल्ने रोपाइँको मुख्य समय (असार १५ देखि साउन १५) मा यसपालि प्रकृतिले साथ दिँदा कृषकहरू निकै लाभान्वित भएका छन्।

कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने झापामा बाँकी रहेका भूभागमा पनि साउनभित्रै रोपाइँ सकिने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?