३३ केजि सुन प्रकरण: गृहलाई अदालतको धक्का !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
३३ केजि सुन प्रकरण: गृहलाई अदालतको धक्का !

सारांश

  • काठमाडौ, २५ मंसिर।
  • सनम शाक्य र सुन तस्करी प्रकरणमा अनुसन्धानकर्तालाई नै आरोपी बनाइएपछि अनुसन्धान समिति विवादमा परेको थियो ।

काठमाडौ, २५ मंसिर। । सनम शाक्य र सुन तस्करी प्रकरणमा अनुसन्धानकर्तालाई नै आरोपी बनाइएपछि अनुसन्धान समिति विवादमा परेको थियो । अहिले अदालतले समेत सबैजसो प्रहरीलाई साधारण तारेखमा छाड्ने आदेश दिएपछि गृह झन् विवादमा परेको छ ।  पर्याप्त प्रमाण नभए पनि हचुवाको भरमा मुद्दा चलाइएको भनेर पूर्व उच्च प्रहरी अधिकारीहरुले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरे । शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेको आधारमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रतिवादी बनाइएको थियो ।

यस घटनामा विभागीय कारबाही गर्नुपर्ने प्रकृतिको गल्ती भए पनि प्रहरीलाई अभियुक्त नै बनाएपछि सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीको आलोचना भएको थियो । अहिले उच्च अदालतबाट ती प्रहरी अधिकारीहरु साधारण तारेखमा छुटेपछि अनुसन्धान टोलीको बदनियत रहेका आशंका झन् बलियो भएको छ ।   एसएसपी दिवश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल तीनै जना साधारण तारेखमा छुटेपछि जागिरमा जोडिएका छन् । सुन काण्डकै कारण गृहमन्त्री रामबहादुर थापाको चर्चा बढेको थियो । तर, अहिले आरोपीहरु धमाधम छुट्न थालेपछि हचुवाको भरमा अनुसन्धान गरेको आरोप पुष्टि हुँदै गएको छ ।
प्रहरी मात्र होइन जिल्ला अदालतबाट साधारण पुर्पक्षका लागि जेल चलान भएका अन्य आरोपीहरु समेत उच्च अदालतबाट धमाधम छुटिरहेका छन् ।

१२ जना इन्टरपोलको खोजीमा

विमानस्थलबाट ३८ सय केजी केजी सुन तस्करी गर्ने गिरोहका १२  जना अभियुक्तहरुको विश्वभरिको खोजीमा छन् । उनीहरुविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले पक्राउ नोटिस जारी गरेको छ । ११ जनाविरुद्ध ‘रेड नोटिस’ तथा २ जनाविरुद्ध  ‘डिफ्युजन नोटिस’ जारी भएको छ ।  झापाको गौरदह– १८ का भोजराज भण्डारी,सुनसरी धरान–३ स्थायी ठेगाना भएका मोहन कुमार अग्रवाल, काठमाडौं– ९का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई–१२ का रोहित आचार्य,सोलुखुम्बु दुधखण्ड– ८ का टुकबहादुर मगरविरुद्ध रेड नोटिस जारी भएको हो ।
त्यस्तै, सुनसरीको धरान– २ का कृष्ण बस्नेत, झापा शिव सतासी–६ घर भएका कृष्ण गोपाल अग्रवाल, काभ्रे–बेथानचोक –४ का हरिशरण खड्का र झापाको मेचीनगर–१३ का मोहम्मत उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । दृष्टी साप्ताहिकका अनुसार उनीहरुमध्ये मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र रमेश उप्रेतीविरुद्ध  दुई महिनाअघि नै रेड नोटिस जारी  भएको थियो । श्रेष्ठलाई दुबईबाट नेपाल ल्याइसकिएको छ । उप्रेतीलाई नेपाल ल्याउने पहल सफल हुन सकेको छैन । दुबईमा पक्राउ परेका उप्रेती मुख्य नाइकेमध्ये एक चुडामणि उप्रेती ‘गोरे’ का भाई हुन् ।

त्यस्तै प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । उनीहरुको हकमा अदालतले पक्राउ पूर्जी जारी नगरेकाले डिफ्युजन नोटिस जारी गरेको हो । फरार रहेकाहरु अदालतमा सेटिङ मिलाएर उपस्थित हुने खेलमा छन् ।  सुन तस्करी र त्यही विवादमा उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा अभियुक्तको संख्या ७७ पुगिसकेको छ । जसमध्ये ३५ जना पुर्पक्षका लागि जेलमा छन् भने ३३ जना फरार छन् । केही धरौटीमा छुटेका छन् ।

गत बैसाख २० गते जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरी ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धान गर्ने क्रममा थप १४ जनाको संलग्नता खुलेको हो । पछि प्रहरीले राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये आचार्य, अधिकार र श्रेष्ठ धरौटीमा छुटेका थिए । जसमा सन्दीप खड्का फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको थियो।
विमल पोद्दार, प्रभात अग्रवाल, राजुकुमार दारुका, शैयद अकबर शाह र इम्तियाज उद्दिनविरुद्ध दोस्रो पटक पूरक अभियोगका रुपमा मुद्दा दायर गरिएकोमा पाँचै जना जेल चलान भएका थिए । उनीहरु पनि उच्च अदालत गएका छन् ।

गत फागुन १८ गते तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो ।  हत्या गर्ने समूहबाटै सूचना पाएपछि अपराध महाशाखाको टोलीले गाडीमा शव बरामद गरेको थियो ।  अपराध महाशाखाका प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले तत्कालीन डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।  प्रारम्भिक अनुसन्धानमै सो सुन विमानस्थलबाट तस्करी भएकोमा र यसमा ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार सहसचिव ईश्वरराज पौडेलको नेतृत्व ‘बिशेष अनुसन्धान टोली’ गठन गरेको थियो । अनुसन्धानको क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा ५ वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको हो ।

दुई प्रहरी नै फरार सूचीमा

सो मुद्दामा २ प्रहरी नै फरार सूचीमा छन् । प्रहरी जवान  विष्णुबहादुर खड्का र हवल्दार अम्बरबहादुर थापालाई उच्च अदालत विराटनगरले पुर्पक्षमा राख्न आदेश दिएको छ । उनीहरु जिल्ला अदालतको आदेशमा छुटेका थिए ।  जवान खड्का १५ हजार रुपैयाँ धरौटी तथा हवल्दार थापा साधारण तारेखमा छुटेका थिए । तर, उच्च अदालतले उनीहरुलाई समेत पुर्पक्षमै राख्न आदेश दिएको छ। उनीहरु दुई सातासम्म पनि उपस्थित भएका छैनन् । उनीहरुको हकमा अदालतको आदेश कार्यान्वायनको प्रक्रिया अगाडि बढेको मोरङका एसपी मनोज कुमार केसीले बताए ।

प्रतिवेदन अलपत्र

३ सय भन्दा थप व्यक्तिहरुमाथि अनुसन्धान गर्नुपर्ने सुझावसहित पौडेल नेतृत्वको अनुसन्धान टोलीले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै रोकिएको छ । साउन १६ गते प्रतिवेदन बुझाइएको थियो ।  प्रहरीको कुनै निकायबाट सो प्रकरणमा थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो । स्रोतका अनुसार जसमा थप प्रहरी अधिकारी तथा व्यापारीसहित ३ सय व्यक्तिको नाम थियो । तस्करीमा संलग्न समूहसँग निकटता देखिएका ती व्यक्तिहरुमाथि थप अनुसन्धान हुनुपर्ने समितिको सिफारिस थियो ।
प्रधानमन्त्री कार्यालयले नै प्रतिवेदनका विषयमा कुनै निर्णय नगरेकाले आफुहरुले त्यसमा केही गर्न नसकेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

सोझा डिएसपी जेलमा 
सो प्रकरणमा पक्राउ परेकामध्ये सबैभन्दा सोझा प्रहरी जेलमा छन् भने अपराधीसँग नियमित सम्पर्कमा रहेकाहरु भने छुटिसकेका छन् । सुन तस्करीमा सहयोग गरेर पैसा लिने पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल छुटिसकेका छन् । तर, खनालको निर्देशनमा गोरेलाई विमानस्थलमा पास दिने सञ्जय राउत भने जेलमा छन् ।  राउत पनि जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत गएका थिए । तर, उनको हकमा भने अदालतले छोड्न मानेन । उनी चलखेल गर्न नसक्ने भएकाले छुट्न नसकेको आशंका गरिएको छ । उनी उच्च अदालतविरुद्ध सर्वाेच्च पुगेका छन् । सर्वाेच्चले उनको मिसिल मगाएको छ । सो प्रकरणमा अदालतमा आत्मसमर्पण गरेका पूर्व एसएसपी श्याम खत्री भने जेलमै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?