मापसेपछि अब लापसे परीक्षण गर्दै प्रहरी
सारांश
- गलकोट।
- मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ।
- मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो।
गलकोट। मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ। मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन (लापसे) गरेर सवारीसाधन
चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो। सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मादक पदार्थको ठाउँमा लागु पदार्थ सेवन गर्न थालेको जनगुनासो बढ्न थालपछि जिल्ला प्रहरी कार्यालय बागलुङले लापासे जाँच गर्ने किट भित्र्याएको छ। जिल्लामा लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन,
अभिभावकले आफ्ना छोराछोरीले लागुपदार्थ सेवन गरेरनगरेको घरमै जाँच्न सक्ने भएका छन्। लागु पदार्थ सेवन एक जटिल सामाजिक कुरीतिका रुपमा रहेको हुँदा यसलाई निर्मूल पार्नका लागि लापसे परीक्षण गर्ने किट भित्र्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।
“लागु पदार्थ सेवन गरेरनगरेको भनेर तत्काल प्रमाण जुटाउन नसक्दा प्रहरीलाई समस्या थियो”, भट्टले भने, “शङ्का लागेको व्यक्तिको किटको सहायताबाट दुई मिटेनमै नतिजा निकाल्न सकिन्छ।” लापसे जाँच गर्न शुरु गरेपछि सवारी दुर्घटनामा मात्र कमी नभई घरमा अभिभावकलाई ढाँटेर, छल गरेर दुव्र्यसनमा फस्नेहरुको सङ्ख्यामा पनि कमी आउने भट्टको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पहिलो चरणमा २० वटा किट ल्याएर लापसे परीक्षण गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बजेट अभावका कारण पर्याप्त रूपमा किट खरीद गर्न नसकिएको भन्दै प्रहरी प्रमुख भट्टले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए। “एउटा किटले लागुऔषधका छ वटा प्रकार
परीक्षण गर्न सकिन्छ”, उनले भने “‘लागु पदार्थ सेवनविरुद्ध बागलुङ प्रहरी एक्सनमा उत्रिन्छ।” लागु पदार्थ प्रयोगकर्ताले गाँजा, हिरोइन, इनजेक्सन, ट्याब्लेट जे प्रयोग गरेको भए पनि तत्कालै किटको सहायताबाट पत्ता लगाउन सकिने भएकाले समाज सुधारका लागि निकै ठूलो उपलब्धि हासिल गर्न सकिने भट्टको भनाइ छ।
बागलुङ जिल्लामा लागु पदार्थ नियन्त्रणको लागि प्रहरीले विभिन्न उपाय अपनाएको भए पनि लापसे किटबाट जाँच गरेर प्रयोगकर्ता छुट्याउने प्रविधिको भने पहिलोपटक प्रयोग गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। एउटा किटलाई करीब रु ४०० पर्ने भएकाले यो परीक्षण विधि निकै खर्चिलो भने छ । रासस
प्रतिक्रिया