कृष्णबहादुर आज पक्राउ पर्न सक्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कृष्णबहादुर आज पक्राउ पर्न सक्ने !

सारांश

  • बलात्कार आरोप लागेपछि पदबाट राजीनामा दिएका (निवर्तमान) सभामुख कृष्णबहादुर महराको राजनीतिक ’करिअर’ धरापमा छ ।
  • राजनीतिक व्यक्तित्व त गर्ल्यामगुर्लुम ढलेको छ नै उनको चरित्रमा पनि गम्भीर प्रश्न उठेको छ।
  • अब प्रहरीको हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक अरु विकल्प महरासँग छैन।

बलात्कार आरोप लागेपछि पदबाट राजीनामा दिएका (निवर्तमान) सभामुख कृष्णबहादुर महराको राजनीतिक ’करिअर’ धरापमा छ । राजनीतिक व्यक्तित्व त गर्ल्यामगुर्लुम ढलेको छ नै उनको चरित्रमा पनि गम्भीर प्रश्न उठेको छ। अब प्रहरीको हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक अरु विकल्प महरासँग छैन।

अर्थात्, आफूलाई लगाइएको बलात्कार प्रयास आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार उनीसँग सुरक्षित छ। सम्भवतः आज आइतबार अदालत खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ । किनभने अब महरालाई पक्राउ नगर्नुपर्ने कुनै कारण प्रहरीसँग छैन। यसअघि प्रहरीले ’किटानी जाहेरी नपरेकाले पक्राउ गर्न नसकेको’ जवाफ दिने गरेको थियो ।

कानुनअनुसार हेर्दा प्रहरीले पहिले अदालतबाट पक्राउ पूर्जी लिनेछ। र, महरालाई पक्राउ गर्नेछ । महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले महराविरुद्ध परेको उजुरीको “अनुसन्धानलाई तीव्र बनाएको“ बताएका छन्। प्रहरी सुरुदेखि नै यो घटनासँग जोडिएको छ। हाम्राकुराले गरेको भिडियो अन्तर्वार्तामा ती महिलाले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई १०० मा फोन गरी जानकारी गराएपछि

महरा आफ्नो कोठाबाट बाहिरिएको बताएकी छन्। ती महिलाले कोठा, फुटेको भनिएको चस्मा, मदिराको बोत्तल र ग्लास तथा जुत्ताको तलुवा लगायतका प्रमाण प्रहरीलाई देखाएको पहिलो भिडियोमा बताएकी थिइन्। अब प्रहरीसँग महरालाई पक्राउ गरी घटनाको अनुसन्धान गरी मुद्दा दायर गर्नेबाहेक अरु विकल्प छैन।

कानुनमा के छ ?
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा यस सम्बन्धी कानुनी व्यवस्था छ। पीडित भनिएकी महिलाले शनिबार कसूरको जाहेरी दरखास्त दिएकी छन्। प्रहरीले “कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भन्ने जानकारी वा सूचना वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएमा त्यस्तो कसूर गर्ने ब्यक्तिलाई तुरुन्त पक्राउ गर्नु पर्ने“ मुलुकी फौजदारी कार्य्विधि संहिता ऐन, २०७४ को व्यवस्था छ।

पक्राउ गर्नुपूर्व प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिनुपर्नेछ। ’जघन्य कसूर वा गम्भीर कसूर लागेका अभियुक्तलाई पक्राउ पूर्जी जारी गर्नुपर्ने व्यवस्था छ। अहिलेलाई महराले आफूलाई लगाइएको कसूर झेल्नेछन्। र, आफूलाई निर्दोष साबित गर्ने मौका पाउनेछन्। तर प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा उनले कैद सजायँ भोग्नुपर्नेछ।

जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। एउटा भिडियोमा महराले आफ्नो कोठामा आई बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने ’बलात्कार प्रयास गरेको’ भनेकी छन्।

अपारध शास्त्रमा यसलाई अपूर्ण अपराध भनिन्छ। यो भनेको ’अपराध पूरा नभएको तर प्रयास गरेको’ अवस्था हो। दफा ३४ मा यस्तो अवस्थामा आधा सजायँ हुने व्यवस्था छ।

बलात्कार कसूरमा ७ देखि १० वर्ष सजायँ भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजायँ हुन सक्छ।

र, गुमेको राजीनिक छवि
महरालाई सभामुख पद छोड्न मन भने थिएन। पहिलोपटक उनले दिएको राजीनामा पत्र र दोस्रोपटक सुटुक्क दिएको राजीनामा पत्र हेर्दा त्यो थाहा हुन्छ। पढ्नुस्स् राजीनामा पत्रमा महराले किन राखे शर्त ?

तर उनले राजीनामा नदिई सुखै पाएनन्। र, दोस्रोपटक उनले अघिल्लै दिनको मिति राखेर राजीनामा पत्र बुझाए। त्यसअघि सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमार्फत् गत मंगलबार नै राजीनामा दिन सुझाएका थिए।

पीडित भनिएकी महिलाको मिडियामार्फत फेरिएको बयान र प्रहरीको अलमलले महरालाई नै क्षति र्पुयायो। घटना सार्वजनिक भएपछि महराले मिडियाहरूमा बोलेका कुरा, उनको सचिवालयले निकालेको विज्ञप्तिमा पनि कुराहरू बाझिइरहे।

माओवादीको सशस्त्र युद्धअघि नै सांसद, युद्धकालमा नेतृत्वदायी भूमिका, शान्तिवार्ताको भूमिका, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख। भद्र र शालिन व्यक्तित्व। उनको छवि यतिबेला करिब ध्वस्त भएको छ।

आफूविरुद्ध लागेको आरोपको कानुनी उपचार खोज्नेबाहेक अरु विकल्प महराका लागि करिब अन्त्य भएको छ। र, महरालाई पक्राउ गर्नुबाहेक प्रहरीका लागि पनि अरु विकल्प सकिएको छ। सम्भवतः आजै प्रहरीले महरालाई पक्राउ गरेर अनुसन्धान सुरु गर्न सक्छ । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?