भ्रातृ संगठनको नेतृत्व विवादमा रुमल्लियो कांग्रेस
सारांश
- काठमाडौं।
- भ्रातृ संस्थाको नेतृत्वबारे सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुँदै आएको छ।
- नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।
काठमाडौं। भ्रातृ संस्थाको नेतृत्वबारे सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुँदै आएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दुई भ्रातृ संस्थामध्ये कुनै एकको नेतृत्व आफ्नो समूहले पाउनुपर्ने अडान राखिरहेको छ भने संस्थापन पक्षले तत्काल भ्रातृ संस्थाको मूलनेतृत्व इतर समूहलाई दिन सकिने अवस्था नरहेको बताउँदै आएको छ। कांग्रेसको नर्सरीका रूपमा लिइने नेविसंघ गत माघबाट नेतृत्वविहीन छ भने तरुण दलको समयावधि मंसिरबाट सकिएको छ। गत बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको तदर्थ समिति गठन र तरुण दलको ६ महिना समयावधि थपका लागि एजेण्डा पेस गरिसकेका छन्।
बुधबार तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलासहित बसेको पौडेल समूहको बैठकले दुई भ्रातृ संस्थामध्ये कुनै एकको नेतृत्व आप्mनो समूहले पाउनुपर्ने अडानबाट पछि नहट्ने निर्णय गरेको छ।
पौडेल समूह महासचिव शाहीमाथि गरिएको कारबाही फुकवा गरेर तरुण दलको म्याद थप गराउन कुनै एक संगठनको नेतृत्व दाबी गरिरहेको स्रोतको दाबी छ । ‘भ्रातृ संस्थामा मूलनेतृत्व दिने सम्भावना छैन । यो कुरा उहाँ (पौडेल समूह) हरूलाई पनि थाहा छ । शाहीमाथि गरिएको कारबाही फुकुवा गरेर तरुणको समिति विस्तार हुनुपर्ने मनशायले नेतृत्व दाबी गर्नुभएको हो,’ संस्थापन पक्षीय एक नेताले भने ।
पौडेल समूहले आगामी मंसिर महिनाभित्रै १४औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडान पनि यथावत राख्ने निर्णय गरेको छ । यद्यपि, नेताहरूले २र३ महिना तलमाथिले केही फरक भने नपर्ने संकेत गरेका छन् । संस्थापन पक्षले कार्यसमितिको थपिएको म्याद समाप्त हुनुअघि २०७७ को फागुन महिनामा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने गृहकार्य गरेको छ ।
प्रतिक्रिया