हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

सारांश

  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ ।
  • हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो ।
  • घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु¥याएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ ।

हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु¥याएको छ । घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खातमुनि लुकेर ज्यान जोगाएको बताउनुभयो ।

हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उहाँले बताउनुभयो । घर भत्काएर अन्न र लताकपडामा नोक्सानी गरेपछि दुवै परिवारको विजोग भएको छ । स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताउनुभयो ।

राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले राति ३ बजेपछि मात्रै धपाउन सकेका थिए । रातभर होहल्ला गर्दा, आगो बालेर तर्साउँदा र साइरन बजाउँदासमेत नभागेपछि तीन वटा हवाई फायर गरेपछि मात्र हात्तीको बथान पुनः निकुञ्जतर्फ लागेको छ टिकुराम डगौराले भन्नुभयो, “हात्तीकै कारण रातभर जाग्राम बस्नुपरेको छ ।”

उहाँका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो । यस अघि नगरपालिकाकै गर्जमुनीका स्थानीय बासिन्दाको घर हात्तीको बथानले भत्काएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?