यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
१६ पटक हेरिएको
Shares
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…

सारांश

  • चितवन, १७ माघ ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनमगरले यातायात व्यवसायीहरुकै माझमा यातायात क्षेत्रका गुनासोहरु आइरहेको बताएका छन् ।
  • “पछिल्लो समयमा भाडा महङ्गो भयो, सार्वजनिक यातायात यात्रुमैत्री छैनन् भन्ने जस्ता जनगुनासा आइरहेको बताउँदै उनले यस क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धाको असरका कारण यस्तो समस्या आएको बताए ।

चितवन, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनमगरले यातायात व्यवसायीहरुकै माझमा यातायात क्षेत्रका गुनासोहरु आइरहेको बताएका छन् । “पछिल्लो समयमा भाडा महङ्गो भयो, सार्वजनिक यातायात यात्रुमैत्री छैनन् भन्ने जस्ता जनगुनासा आइरहेको बताउँदै उनले यस क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धाको असरका कारण यस्तो समस्या आएको बताए । यसलाई निराकरण गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको आज रत्ननगर चितवनमा उदघाटन गर्दै उपराष्ट्रपति पुनमगरले त्यस्तो जनगुनासो सुनाएका हुन् । उपराष्ट्रपति पुनमगरले अबको यातायात क्षेत्र उच्च प्रविधिमैत्री, यात्रुमैत्री, गुणस्तरीय र आकर्षक हुनुपर्ने बताउँदै निजी सवारी छाडेर सबैले सार्वजनिक यातायात चढ्ने वातावरण सिर्जना गर्नुपर्नेमा विशेष जोड दिए ।
उपराष्ट्रपति पुनमगरले समृद्ध नेपाल निर्माण गर्न यातायात क्षेत्रको उल्लेख्य योगदान रहेको औंल्याए । सार्वजनिक यातायात क्षेत्रले राष्ट्रको कूल ग्राहस्थ्य उत्पादन (जिडिपि)मा १० प्रतिशतको योगदान दिइरहेको पनि बताए ।

मुलुक अहिले राजनीतिक स्थिरतातर्फ अग्रसर भइरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनमगरले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रदेशहरूमा सरकार निर्माणको तयारीमा रहेको स्मरण गराए । “केही दिनमा नै राष्ट्रियसभाको निर्वाचन हुँदैछ र निर्वाचनलगत्तै संघीय सरकार गठन हुन्छ”, उनले भने, “अब सबैको ध्यान देशको आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ ।”

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले यातायात व्यवसायका समस्यालाई मन्त्रालयले गम्भीररुपमा लिएको बताउँदै नीतिगत रुपमा गर्नुपर्ने सुधार गर्नका लागि सरकार तयार रहेको बताइन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले समयको परिवर्तनको प्रवाह बुझ्न नसके पूँजी कमाउन र राष्ट्रलाई धनी बनाउन नसकिने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले यातायात क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । उनले यातायात क्षेत्रमा समितिको विकल्प प्रालि हुन नसक्ने बताइन् ।

माओवादी केन्द्रका नेता लेखराज भट्टले यातायात क्षेत्रमा नीतिगत रुपमा आमूल परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङलगायतले यातायात र मजदुर क्षेत्रमा देखिएका समस्याका बारेमा बोलेका थिए । तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी २ हजार ३०० को सहभागिता रहेको छ । महाधिवेशनले ८३ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?