हवाई यात्रुको चाप बढ्याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हवाई यात्रुको चाप बढ्याे

सारांश

  • काठमाडौ, २५ माघ – नेपालगन्ज विमानस्थल प्रयोग गरी यात्रा गर्ने हवाई यात्रुको चाप पछिल्लो समयमा बढेको छ ।
  • सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगन्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको हो ।
  • पश्चिम क्षेत्रको सेन्टरमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगन्ज विमानस्थलमा यात्रुको चाप बढेको हो ।

काठमाडौ, २५ माघ – नेपालगन्ज विमानस्थल प्रयोग गरी यात्रा गर्ने हवाई यात्रुको चाप पछिल्लो समयमा बढेको छ । सडक यातायात भरपर्दो नभएको र अन्य ठाउँमा नियमित उडान नहुँदा नेपालगन्ज विमानस्थमा दुई वर्षयता हवाई यात्रुको चाप बढेको हो । पश्चिम क्षेत्रको सेन्टरमा सबैभन्दा ठूलो र सबैको पहुँचमा रहेका कारण पनि नेपालगन्ज विमानस्थलमा यात्रुको चाप बढेको हो ।

नेपाल नागरिक उड्ययन प्राविधिकरण नेपालगन्जका कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बर्सेर्नि यात्रुको चाप बढ्दै गएको तर उडानमा वृद्धि नहुँदा नागरिकको अपेक्षाअनुसार सेवा पाउन नसकेको बताए । ‘सडक मार्गभन्दा सहज र छिटो भएका कारण पनि हवाई यात्रा गर्नेको संख्या बढेको छ’, उनले भने, ‘तर जहाज संख्या थप्न सकिएको छैन, यसका कारण समस्या भइरहेको छ ।’ विमानस्थल कार्यालयका अनुसार सन् २०१६ को तुलनामा २०१७ मा जहाज चढ्नेको चाप ५७ प्रतिशतले बढेको छ । प्रमुख तिवारीका अनुसार सन् २०१७ मा नेपालगन्ज विमानस्थलमा तीन लाख ७० हजार यात्रुले आवागमन गरेका छन् ।

विमान चढ्ने यात्रुको चाप हेर्दा यस वर्ष गत वर्षभन्दा अझै बढ्ने सम्भावना देखिएको उनले बताए । सडक यात्रामा धेरै जाममा परिने र दुःख पाइने भएका कारण पनि विमानप्रति आकर्षण बढेको हो । अहिले अधिकांश कार्यालय प्रयोजनका लागि आवतजावत गर्ने यात्रुले हवाई मार्ग प्रयोग गर्न छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ हुने र काम बिग्रने भएका कारण पनि हवाई यात्रु बढेका हुन् । ‘सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्ने सोच हुन्छ, सडक यात्रामा भनेजस्तो नहुन पनि सक्छ’, तिवारीले थपे, ‘विमानको भाडा पहिलेको जस्तो महँगो पनि छैन, सहुलियत दरमा समयमै गन्तव्यमा पुग्ने भएकै कारण हवाई यात्रुको चाप बढेको हो ।’

नेपालगन्ज मध्य तथा सुदूरपश्चिमको केन्द्रमा रहेको विमानस्थल हो । अन्य ठाउँमा नियमित उडान हुन नसक्दा नेपालगन्ज विमानस्थल प्रयोग गर्ने यात्रुको चाप बढेको हो । सुदूरपश्चिममा रहेको धनगढी विमानस्थलमा दैनिक तीन वटा मात्रै उडान हुन्छ । यसले गर्दा सुदूरपश्चिमका अधिकांश यात्रुले पनि नेपालगन्जकै विमानस्थल प्रयोग गर्ने गरेका छन् । हालको प्रदेश नम्बर ५ को एकमात्र स्तरीय विमानस्थल सुर्खेत हो । तर, सुर्खेतबाट राजधानीको मात्रै होइन विगतदेखि कर्णाली क्षेत्रमा समेत हुँदै आएको उडान भरपर्दो छैन । यसले गर्दा सुर्खेतका यात्रु पनि राजधानी यात्रा गर्न नेपालगन्ज कै भर पर्दछन् । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?