यस्तो छ कांग्रेसभित्र देउवाको तयारी, पौडेल पक्ष असन्तुष्ट
सारांश
- कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् ।
- मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् ।
- पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् ।
पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो । निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएके केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए ।
‘जारी बैठकको अन्तिममा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारीमा सभापति हुनुहुन्छ,’ स्वकिय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि आवश्यक गृहकार्यमा उहाँ व्यस्त हुनुहुन्छ ।’ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि १६ चैतबाट स्थगित बैठक ७ वैशाखमा बोलाइएको छ ।
क–कसलाई रोजे देउवाले ?
सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ ।
विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । ‘सभापतिले टुंग्याएको नाममा उपसभापतिमा कसैको विमति छैन, महामन्त्री र सहमहामन्त्रीमा भने केही नेताले असन्तुष्टि जनाइरहनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘हाम्रा सभापतिको त निर्णय नगर्दासम्म भर हुँदैन, त्यसैले महामन्त्री र सहमहामन्त्री परिवर्तन हुन सक्ने सम्भावना छ । उपसभापति फिक्स्ड हो ।’
पौडेल पक्ष असन्तुष्ट
उपसभापति, महामन्त्री र सहमहामन्त्री आफ्नै गुटका नेता चयन गर्न खोजेपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । पौडेल पक्षले १२औँ महाधिवेशनपछि सुशील कोइरालाले आफ्नो पक्षमा बहुमत भए पनि देउवालाई सहमहामन्त्री दिएको नजिर पेस गर्दै एउटा पद दिन माग गरिरहेको छ । नेता पौडेलले देउवालाई भेटेर परम्परा नतोड्न आग्रह गरिसकेका छन् । देउवा पौडेललाई एउटा पदाधिकारी दिँदा पदाधिकारीमा आफ्नो बहुमत नपुग्ने हिसाबमा छन् । उनले पौडेललाई सहयोग गर्न आग्रह गरेका छन् । तर, पौडेल पक्षधर नेता प्रकाशमान सिंहले एकपक्षीय रुपमा सभापति अगाडि बढे केन्द्रीय समिति बैठकमा प्रतिरोध गर्ने बताए । ‘हाम्रो चाहना सभापति विधानअनुसार चल्नुहुन्छ भन्ने हो । तर, उहाँले एकलौटी गर्न खोजे हामी प्रतिरोध गर्न बाध्य हुनेछौं,’ सिंहले भने ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
(Ambien)
प्रतिक्रिया