अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
सारांश
- अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।
- ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उनले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गरे ।
- बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको बताउँदै मन्त्री शर्माले भने ‘सांस्कृतिक सहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवद्र्धन गर्ने योजना छ ।
अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उनले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गरे ।
बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको बताउँदै मन्त्री शर्माले भने ‘सांस्कृतिक सहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवद्र्धन गर्ने योजना छ ।’ उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागे । युक्रेन र रुसबीचको युद्धका कारण देशमा ठूलो असर परिरहेको पनि मन्त्री शर्माले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा अहिलेको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरे । गोल्छा भन्छन्, ‘अहिले देशमा तरलताको समस्या गम्भीररूपमा बढ्दै गइरहेको छ ।
समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ ।’ अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको टिप्पणी थियो ।
सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटनमा रहेको देव भीमसेन मन्दिर पुनर्निर्माणमा आफूहरूले सरकारसँग एक पैसा नलिइ सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्दै त्यो ठाउँमा रहेका विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवर्द्धनका लागि पर्यटकको बसाइँ लम्ब्याउन जरुरी भएको बताए ।
संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले हरेक वर्ष देशमा पाँच खर्ब रुपैयाँको अवैधानिकरूपमा कपडा व्यापार हुने गरेको उल्लेख गर्दै त्यो नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने औल्याए । संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले ललितपुरभित्र उत्पादन भएका र हुने गरेका थुप्रै वस्तु निर्यातमा सरकारले जोड दिएर देशकै सिङ्गो अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने भनाइ राखे ।
कार्यक्रममा २५ वर्ष निरन्तर संघको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया